PahiloPost

May 15, 2024 | २ जेठ २०८१

मुगुमा पहिरोले पुरिएर ५ जनाको मृत्यु, कालिकोटमा पहिरो जाँदा १३ जना मलामी बेपत्ता



पहिलोपोस्ट

मुगुमा पहिरोले पुरिएर ५ जनाको मृत्यु, कालिकोटमा पहिरो जाँदा १३ जना मलामी बेपत्ता
फाइल फोटो।

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार निर्देशन दिएका छन्।

गृहमन्त्री बालकृष्ण खाणले तत्कालका लागि जिल्लामा रहेको स्रोत साधनको उपयोग गरेर घाइतेको उद्धार, उपचार र पुनःस्थापना गर्नु पर्ने भए पुनःस्थापना गर्न र थप स्रोत साधनको आवश्यकता पर्ने भए मन्त्रालयमा लेखी पठाउन निर्देशन दिएका हुन्।

गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, नेपाल प्रहरीका कर्णाली प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाणले निर्देशन दिएका हुन्।

मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ११ को सालिम भन्ने स्थानमा मानबहादुर कुमाईको घर पुरिँदा ५ जनाको शव प्राप्त भएको र ११ जना बेपत्ता भएको खबर आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। सुरक्षा टोली घटनास्थलमा पुग्न पनि ठाँउ-ठाँउमा पहिरो गरेकाले अप्ठ्यारो परिरहेको र केही बेरमा पुग्ने जनाकारी आफूले पाएको उनले बताए।

त्यस्तै, कालिकोटको तिलगुफा नगरपालिका वडा नम्बर ४ राचुली भन्ने स्थानमा मलामीहरूले शव जलाइरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुर्दा १३ जना बेपत्ता भएका छन्। सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख डीआइजी पोखरेलले जानकारी दिए। सुरक्षाकर्मीले बेपत्ताहरूको खोजीकार्य जारी राखेको, पहिरो तिला नदीसम्म पुगेको उनले बताए।

यता हुम्लाको चखेली गाउँपालिका वडा नम्बर ६ मेलथममा मानबिर बिकको घर पहिरोले बगाउँदा ९ जना पुरिएकामा ४ जनाको मृत्यु भएको र ५ जनाको जीवितै उद्धार गरिएको डीआइजी पोखरेलले बताए। घाइतेहरूलाई थप उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर घटनास्थलमा लैजाने तयारी भइरहेको डीआइजी पोखरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell