PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

युद्ध सुरु भएको २२९औँ दिनमा किभमा बर्सियो मिसाइल, के यो पुटिनको ‘रिभेन्ज’ हो?

युद्ध सुरु भएको २२९औँ दिनमा किभमा बर्सियो मिसाइल, के यो पुटिनको ‘रिभेन्ज’ हो?

पहिलोपोस्ट /पहिलोपोस्ट


रसिया र युक्रनेबिच युद्ध सुरु भएको आज २२९औँ दिन भएको छ। यसबिच रसियाले युक्रेनका चारवटा क्षेत्रलाई आफूमा गाभेको छ। जनमत संग्रहबाट गरिएको सो निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता भने दिएको छैन।

केहीदिन अघि रसिया र क्रिमिया जोड्ने पुल ध्वस्त हुने गरी आक्रमण गरिएपछि रसिया आक्रमक हुने अनुमान गरिएको थियो। सो आक्रमण युक्रेनले गरेको रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। युक्रेनले त्यस आक्रमणलाई ‘सिक बर्न’ भनेको थियो।

अनुमान गरिएझैँ आज बिहानैबाट युक्रेनको राजधानी किभमा आक्रमण सुरु भएको छ। यसलाई पश्चिमा मिडियाले पुटिनको ‘रिभेन्ज’को संज्ञा दिएका छन्। युद्ध सुरु हुँदा किभमा केही आक्रमण भए पनि पछि त्यहाँ आक्रमण भएको थिएन। तर, यसपटक मुख्य क्षेत्रलाई नै ‘टार्गेट’ बनाएर आक्रमण गरिएको छ।

बिहान दुई वटा मिसाइल लगातार प्रहार गरी सुरु भएको आक्रमण अहिले पनि जारी छ। हालसम्म ७५ वटाभन्दा बढी मिसाइल प्रहार भइसकेको छ।

मिसाइल आक्रमणका कारण सयौँ घर धवस्त भएका छन्। महत्वपूर्ण सरकारी र व्यापारिक भवनलाई मिसाइले निशाना बनाएको छ। युक्रेनले ७५ वटा मिसाइल मध्ये ४१ वटालाई निस्तेज पारेको दाबी गरेको छ। ‘एयर स्ट्राइक’ युक्रेनको अन्य शहरहरुमा पनि भइरहेको छ।

मिसाइल आक्रमण लगत्तै साइरन बजेपछि हजारौँ युक्रेनीहरु ‘अन्डरग्राउन्ड एरिया’मा बसिरहेका छन्। युक्रेनीहरुले गीत गाएर एकसाथ एकता प्रदर्शन गरिरहेको किभ इन्डिपेन्डेन्टले जनाएको छ। युक्रेनको ‘रेड साइरन’हरु अझै संचालनमा रहेको बताइएको छ।

किभमा आक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ। अझै मृतकको संख्या थप हुन सक्ने जनाइएको छ। सडकमा कार र घरहरु धवस्त भएको र आगलागी भएको तस्विरहरु सार्वजनिक भएका छन्।

युद्धका कारण हालसम्म १ करोड ३७ लाख भन्दा बढी मानिस युक्रेनबाट पलायन भइसकेका छन्। रसियाबाट पनि युवाहरुलाई सेनामा भर्ती हुन आह्वान गरिएपछि हजारौँ मानिस बाहिरिएका छन्।

रसिया-युक्रेन युद्धका कारण विश्व नै त्रसित बनिरहँदा किभमा भएको आक्रमणका कारण विश्वमा थप आर्थिक संकट बढ्न सक्ने अनुमान गरिएको छ।

यसैबिच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले युक्रेनलाई विश्वकै नक्साबाट हटाउन खोजेको आरोप लगाएका छन्। उनले सहयोगको लागि विश्व समुदायसँग आह्वान पनि गरेका छन्। रसियाले किभमा आक्रमण गरेको मिसाइल इरानी भएको उनको दाबी छ।

Photos : Reuters/AP



ट्रेन्डिङ पोस्ट

Ncell