PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

रुपन्देही २ मा एमाले उपाध्यक्ष पौडेललाई पुराना ‘चुनावी कमाण्डर’कै चुनौती



पहिलोपोस्ट

रुपन्देही २ मा एमाले उपाध्यक्ष पौडेललाई पुराना ‘चुनावी कमाण्डर’कै चुनौती

काठमाडौं : रुपन्देही क्षेत्र नम्बर २ मा संसदीय निर्वाचनमा ह्याट्रिक गरिसकेका नेता हुन् विष्णु पौडेल। नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका पौडेल यस क्षेत्रबाट पाँचौ पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। उनलाई यसपटक चुनौती थप्दै छन् उनकै पुराना चुनावी कमाण्डर राजु गुरुङ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा दुई-दुई पटक विघटन गर्दा त्यसको खरो विरोधमा उत्रिएका युवा नेता हुन् गुरुङ। तत्कालीन एमाले विभाजनका क्रममा माधव नेपाललाई साथ दिएका गुरुङले त्यतिबेलै घोषणा गरेका थिए आगामी चुनावमा विष्णु पौडेललाई पराजित गर्नेछु।

सोही अनुसार गठबन्धनबाट उम्मेदवार बनेका छन् गुरुङ। गठबन्धनबाट प्रतिनिधिसभामा एकीकृत समाजवादीले पाउँदा उनी उम्मेदवार भए। प्रदेशसभातर्फ (क)मा कांग्रेसका दीर्घबहादुर केसी र (ख)मा माओवादी केन्द्रका बामदेव क्षेत्री चुनावी प्रतिस्पर्धामा छन्। वामदेव प्रदेश योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका छन्। केसी एन्फाका केन्द्रीय उपाध्यक्ष पनि हुन्। एमालेबाट प्रदेश सभातर्फ रुपन्देही २ (क) लीला गिरि र २ (ख) मा भोजप्रसाद श्रेष्ठ दोहोरिएका छन्।

पौडेलको चुनावी यात्रामा गुरुङको चुनौती

२३ वर्षअगाडि स्याङ्जाबाट चुनावी प्रतिस्पर्धाका लागि बुटवल झरेका हुन् पौडेल। २०५६ सालको निर्वाचनमा पहिलो पटक कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका पौडेल २०६४ सालको संविधानसभामा 'कम ब्याक' गरे।

माओवादी केन्द्रका भक्ति पाण्डेलाई झिनो मतान्तरले पराजित गरेका थिए पौडेलले। दोस्रो पटक २०७० को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका डाक्टर बाबुराम भट्टराईको चुनौतीलाई पार गर्दै उनी पुन: निर्वाचित भए। २०७४ सालको निर्वाचनमा कांग्रेसका युवराज गिरीलाई २२ हजार बढी मतान्तरले माओवादी केन्द्रको साथ लिएर पराजित गरे।

तर, यसपटक अवस्था फेरिएको छ। २०७४ को चुनावमा साथ दिएको माओवादी केन्द्रको साथ उनीसँग छैन। त्यस्तै, आफ्नै पार्टी पनि विभाजन भएको छ। त्यतिबेलाका उनका चुनावी कमाण्डर रहेका गुरुङ नै उनको प्रतिस्पर्धीको रुपमा अगाडि आएका छन्। गुरुङलाई साथ माओवादी केन्द्र र कांग्रेसको पनि साथ छ।

अर्कोतर्फ पौडेलमाथि लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्दा मन्त्री पदसँग राजधानी साटेको आरोप लाग्दै आएको छ। यसकै झल्को मनोनयन दर्तापछि गुरुङले पौडेलमाथि अघोषित रुपमा प्रहार गरे।

'रुपन्देहीको माटोसँग आफूहरु उम्मेदवारको रुपमा नयाँ भए पनि अनन्तकालसँग बुटवलको माटोमा निरन्तर घुलमिल भएर बुटवलका लागि रगत पसिना बगाएका छौँ,' उनले भने, 'कोठा भाडामा लिएर चुनाव लड्न आउँदै छन् रे। प्रत्येक चुनावमा फ्याट भाडामा लिएर चुनाव लड्नेले बुटवलको हित कसरी सोच्न सक्छ?'

उनले त्यति मात्र होइन बुटवलबाट सारिएको राजधानी फिर्ता गर्ने उद्घोष पनि गरे।

'प्रदेशसभा लड्ने साथीहरु प्रदेशसभामा लड्नुहुनेछ। म प्रतिनिनिधिसभा गएर त्यहाँ लबिङ गर्नेछु। राजधानी फिर्ता ल्याउने छौँ,' उनले भने, 'सबै प्रदेशका अस्थायी राजधानी स्थायी भए। लुम्बिनीको मात्र सारियो।'

उनले मनोनयन दर्ता गरेपछि कार्यकर्ताको सम्बोधन गर्दै जय नेपालले सम्बोधन गर्दै कांग्रेसी कार्यकर्ताको मन जित्न खोजेका थिए। उनलाई थाहा छ कांग्रेसको साथबिना आफ्नै पुराना नेता पौडेललाई पराजित गर्न सक्ने छैनन्। गत स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीकी उपमेयर उम्मेदवार पराजित भएकी थिइन्। मेयरमा कांग्रेसले जितेको छ। उनले यसलाई राम्रोसँग बुझेका छन्। 

पौडेलमाथि यस चुनावमा अर्को चुनौतीको सामाना गर्नुपर्ने छ- ललिता निवासको जग्गा काण्ड। विपक्षी गठबन्धनले यसलाई चुनावी ऐजेन्डा पक्कै बनाउने छ। स्थानीय तहको निर्वाचनमा रुपन्देही-२ का वडाहरुमा एमाले कांग्रेस भन्दा पछि छ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले कुल ३४ हजार ९५९ मत पाउँदा एमालेका वडाध्यक्षका उम्मेदवारले ३३ हजार १८७ मत पाएका थिए।  माओवादी केन्द्रको ३ हजार १८८ र एकीकृत समाजवादीको १ हजार ३८२ मत छ। गठबन्धन दलले स्थानीय तहमा पाएको मत गुरुङलाई खस्दा पौडेलको जित कठिन छ।

यद्यपि, एमालेका नेताहरु भने पार्टीको संगठन र पौडेलको व्यक्तिगत प्रभावले गुरुङलाई सहजै पराजित गर्ने दाबी गरेका छन्। यद्यपि, युवासँगको नेतृत्वमा रहेर एमाले रुपन्देहीको संगठनसँग भिजेका गुरुङले पौडेललाई कडा टक्कर दिनेछन्।

एकीकृत समाजवादीबाट टिकट पाउने उनी 'लो प्रोफाइल' उम्मेदवार हुन्। यद्यपि पार्टी विभाजन हुँदा देखि नै पौडेलसँग प्रतिस्पर्धा गर्ने भन्दै गुरुङले चुनावी तयारी गरिरहेका थिए।

यसपटक रुपन्देही २ मा 'हाइ प्रोफाइल' विरुद्ध पुराना चुनावी सारथीको चुनौती कडा हुने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell