पोखरा : कोरोना भाइरस महामारीको समयमा नेपालमा आत्महत्याको दर ३० प्रतिशतले बढेको थियो। नेपाल प्रहरीको तथ्यांक अनुसार पनि आर्थिक वर्ष २०७७/७८ मा नेपालमा आत्महत्या गर्नेको सख्ंया बढेर ७ हजार ११७ पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ मा भने सो संख्या घटेर ६ हजार ७९२ पुग्यो। आत्महत्या गरेका ८० प्रतिशत कुनै न कुनै मानसिक रोगको समस्यासँग जुधिरहेका तथ्यांकले देखाउँछ। जसमध्ये ‘डिप्रेसन’ आत्महत्याको प्रमुख कारणमध्ये एक भएको देखिएको छ। कोरोना भाइरस महामारीपछि अधिकांशमा मानसिक रोगको समस्या देखिएको विभिन्न अध्ययन र तथ्यांकले पनि देखाउँछ। यहीँ विषयमा मनोरोग विशेषज्ञ डा लिपा वैद्यसँगको कुराकानी :
बिरामीहरु कस्तो मानसिक समस्या लिएर आउनुहुन्छ?
धेरै जसो ‘एन्जाइटी’का बिरामीहरु आउनुहुन्छ। अनि पुरुषभन्दा बढी महिला हुनुहुन्छ। त्यसपछि डिप्रेसनको बिरामी हुनुहुन्छ। साइकोटिक लक्षण भएको अलि कडा खालका मानसिक रोग हुनेहरु पनि आउनुहुन्छ। तर, कम हुनुहुन्छ। अनि रक्सीको समस्या भएको पनि बढी आउनुहुन्छ। बच्चाहरु भने अलि थोरै हुनुहुन्छ। धेरै जसो वयस्क हुनुहुन्छ।
पहिलेको तुलनामा अहिले बिरामीको चाप कस्तो छ?
म शुरुमा आउँदा पनि धेरै जसो एन्जाइटी कै बिरामी हुनहुन्थ्यो। अहिले धेरै नै बढी पेसन्टको फ्लो छ, पहिलेको भन्दा। त्यो सचेतना बढी भएको कारणले गर्दा पनि हुनसक्छ। अर्को, अहिले ‘स्ट्रेस’ पनि अलि बढी छ।
पहिला पहिला यो के समस्या हो भन्ने हुन्थेन। केही बिरामीमा शारीरिक लक्षण हुन्छ मनोवैज्ञानिक भन्दा। त्यसैले अरु डाक्टरहरुकोमा लाने गरिन्थ्यो। अहिले चाहिँ कतिले आफैँले यस्तो–यस्तो त एन्जाइटीमा हुने रहेछ भनेर थाहा पाएर आउनुहुन्छ। पहिले आउनै नखोज्नेहरुमा पनि आजभोलि चाहिँ थोरै भएपनि सचेतना छ, उपचार गर्दा सञ्चो हुने रहेछ भन्ने।
‘एन्जाइटी’ र ‘डिप्रेसन’को लक्षण के–के हुन्छ?
एन्जाइटीको मुख्य लक्षण भनेको चाहिँ आफू बिनाकारण आत्तिने हो। मन आत्तिराख्ने, के गरौँ, कसो गरौँ भइराख्ने, त्योसँगै मुटुको धड्कन बढ्ने छटपटि हुने, पसिना आउने, हातखुट्टाहरु लल्याङलुलुङ हुने, कमजोरी जस्तो हुने, हात काम्ने हुन्छ। योसँगै कसैकसैलाई लामो समयदेखि टाउको दुख्ने, हातखुट्टा झमझमाउने पोल्ने हुन्छ। साथै, शरीर दुख्ने जस्ता अन्य शारीरिक लक्षणहरु हुन्छ।
त्यस्तै, डिप्रेसनमा पनि शारीरिक लक्षणहरु हुन्छ तर यसमा मुख्य भनेको मन उदास हुने केही कुरामा खुशी नहुने हुन्छ। जस्तै, पहिले जुन कुराले रमाइलो हुन्थ्यो त्यो कुरामा आफूले इन्जोय गर्न नसक्ने अनि त्यसपछि ध्यान दिन नसक्ने, बिर्सेको जस्तो हुने, आत्मबल घट्दै जाने, रुन मन लाग्ने हुन्छ। त्यसपछि यसरी बस्नु भन्दा मर्न पायो हुन्थ्यो भन्ने सोचहरु आउने हुन्छ। तर, आत्महत्याको सोच आउँदैमा गर्छ नै भन्ने छैन। प्रयास गर्नुभन्दा अगाडि कति कुराहरुले उनीहरुलाई रोकिराखेको हुन्छ। असह्य भयो भने त्यस्तो प्रयासहरु पनि हुन्छ।
यसको मुख्य कारण चाहिँ के हो?
यो न्यूरो-बायो-केमिकलमा असन्तुलनको कारणले गर्दा हुने हो। अब, त्यो चाहिँ किन हुन्छ, कसमा हुन्छ भनेर अहिलेसम्म ‘हाइपोथेसिस’ मात्रै छ। मुख्य कुरा चाहिँ न्यूरो-केमिकल इम्ब्यालेन्सले यस्तो हुन्छ। अनि, योसँगै कोही पहिल्यैदेखि आत्तिने खाल्को छ भने एन्जाइटी हुनसक्छ।
‘इन्ट्रोभर्ट’ (अन्तर्मुखी) खालको व्यक्ति छ भने डिप्रेसन हुनसक्छ। एक्लै बस्ने, अरुसँग नबोल्नेहरुमा साइकोटिक सिम्टम आउन सक्छ। बढी-बढी बोल्ने पहिलेदेखि इन्जोय गर्ने बढी खुशीहरु हुनेमा ‘मेनिया’ पनि देखिन सक्छ। आफ्नो वातावरण कस्तो छ, जीवनयापन कस्तो छ, कार्यस्थल कस्तो छ सबै कारण मिसिएर समस्या आउँछ। एउटा मात्र कारण हुँदैन।
उपचार कति बेलादेखि आवश्यक पर्छ?
एन्जाइटीको कुरा गर्ने हो भने चाहिँ सामान्य पनि हुन्छ, डिसअर्डर पनि हुन्छ। सामान्य एन्जाइटी सबैले अनुभव गर्ने कुरा हो। जस्तै, परीक्षाको समयमा अलिअलि एन्जाइटी हुने स्वभाविक नै हो। त्यसले तपाईंको प्रदर्शनलाई पनि राम्रो बनाइदिन्छ। मिहिनेत गर्छु भन्नु राम्रो गर्नको लागि त्यो नर्मल र राम्रो एन्जाइटी भयो।
तर, एन्जाइटीले तपाईको परफर्मेन्समा असर गर्यो, काम गर्न सकेन, परीक्षा दिँदा हात काम्ने भयो, सास फेर्न गाहृो भयो भने त्यो समस्या भयो। अवधि पनि लामो हुनपर्यो। एकदुई दिनको एन्जाइटीलाई हामीले उपचार गर्दैनौँ।
यो बाहेक अन्य समस्या जस्तै साइकोटिक सिम्टम्सको एउटा संकेत देखिने बित्तिकै पनि उपचारको लागि ल्याइहाल्नुपर्छ। त्यो जोखिमपूर्ण हुन्छ।
मानसिक रोगका बिरामी सामान्य जीवनमा फर्किन सक्छन्?
मैले देखे अनुसार चाहिँ एन्जाइटी दोहोरिन सक्छ। उपचार गरे ठिक हुन्छ। तर, हाम्रो जीवनमा तनावहरु त आइराखेको हुन्छ। औषधि लिइराखेको बेला सानोतिनो तनाव पनि खासै वास्ता हुँदैन। तर, औषधि सेवन बन्द गरेपछि कहिलेकाहीँ कुनै तनाव आयो भने त्यसपछि फेरि शुरु हुन सक्छ।
डिप्रेसनमा बरु 'रिकल' हुन पनि सक्छ नहुन पनि सक्छ। एपिसोड हुन पनि सक्छ। कसैलाई एकै एपिसोड मात्र हुन पनि सक्छ। साइकोटिक लक्षण पनि जीवनभरमा कसै–कसैलाई एकचोटि मात्र भएको पनि हुनसक्छ।
यो बाहेक अन्य कुरामा पनि ध्यान दिनुपर्छ। औषधि खायो भन्दैमा पागल भएको होइन। अवसर दियो भने उसले पनि केही गर्न सक्छ। उसले आफ्नो क्षमता गुमाएको हुँदैन। अलिकति त्यसले गर्दा असर त गरेको हुन्छ तर औषधिले गर्दा ठीक हुन्छ। राम्रो प्रदर्शन गर्न सक्छ।
महिलाहरुमा बढी मानसिक समस्या किन हुन्छ?
महिलामा जिम्मेवारी पनि धेरै हुन्छ। काम गर्ने पुरुष छ भने उसले कामको मात्र जिम्मेवारी लिन्छ घरको धेरै जिम्मेवारी लिँदैन। काम गर्ने महिलामा बाहिर भित्र समाल्नुपर्ने हुन्छ। त्यसलाई मिलाउन नसक्दा पनि यस्तो हुन्छ।
अर्को, घरपरिवारको सम्बन्ध पनि कारण हुन्छ। जस्तै, बिहे गरेर गइसकेपछि श्रीमानको परिवारसँगको समस्या। घरमा आमाबुबाले गाली गर्दा त्यति तनाव हुँदैन जति सासुससुराले गर्दा हुन्छ। नयाँ जिम्मेवारी र सम्बन्ध भइसकेपछि समस्या भएर आएको पनि हुनुहुन्छ।
मानसिक रोगसँग सम्बन्धित समाजमा कस्ता खाल्को मिथ्या छन्?
मानसिक समस्या हुनको लागि मान्छेको जीवनमा तनाव हुनैपर्छ भन्ने एउटा हो। यसको लागि सधैँ केही तनाव हुनुपर्छ भन्ने छैन। विनाकारण यो डिप्रेसन र एन्जाइटीको लक्षण देखिनसक्छ।
अर्को चाहिँ फुकेर सञ्चो हुन्छ भन्छ, त्यो फुकेर सञ्चो हुँदैन। त्यस्तोमा मनोवैज्ञानिक रुपमा केही हदसम्म आराम भएको लाग्नसक्छ। तर, यसको लागि उपचार नै चाहिन्छ।
एन्जाइटी डिप्रेसन थोरै–थोरै हुँदा हाम्रोमा आएको नै हुँदैन। यहाँ आउँदा चाहिँ उपचार चाहिने अवस्था हुन्छ। हल्का छ भने केही दिन कुर्न सकिन्छ। सबैलाई उपचार शुरु गर्नुपर्छ भन्ने छैन।
मानसिक रोगका बिरामीले के कुरामा ध्यान दिनुपर्छ?
मुख्य कुरा मनोरोग विशेषज्ञ बाहेक अरुसँग परामर्श लिँदा उचित सुझाव नआउन सक्छ। यसको लागि विशेषज्ञसँग परामर्श लिँदा राम्रो हुन्छ। किनभने औषधि कतिसम्म खाने, कुन औषधि उचित हुन्छ भन्ने सम्बन्धित रोगको डाक्टरलाई मात्रै थाहा हुन्छ।
अनि धेरै गुगल सर्च चाहिँ नगर्ने भन्छु म बिरामीलाई। मलाई यो पनि भएछ, त्यो पनि भएछ भन्ने लाग्न सक्छ। अनि औषधि दियो भने यसको साइडइफेक्ट यो पनि हुन्छ, त्यो पनि हुन्छ भन्ने हुन्छ। औषधि खान नखोज्ने हुन्छ। औषधिको साइडइफेक्ट सबैलाई देखिन्छ नै भन्ने हुन्न। साइडइफेक्ट भयो कि भएन सम्बन्धित डाक्टरले नै हेर्नुहुन्छ।
डिप्रेसन भएको बेलामा नेगेटिभ सोच आए त्यो कन्ट्रोल गर्छु भनेर हुँदैन। त्यसको लागि चाहिँ आफूले यो मेरो रोगले आएको सोच हो एकछिन आउँछ फेरि जान्छ भनेर एउटा सोच राख्ने गर्नुपर्छ। आफूलाई व्यस्त राख्यो भने अनावश्यक सोचहरु कम आउँछ।
मानसिक समस्या भन्ने बित्तिकै सबै पागल हुँदैन। त्यो भन्दा बढी एन्जाइटी र डिप्रेसन हुन्छ। त्यो बुझन पर्छ।
मानसिक स्वास्थ्यलाई कसरी ध्यान दिन सकिन्छ?
हाम्रो दैनिकी नै परिवर्तन गर्नुपर्छ। जस्तो कि अहिले हाम्रो पैसा कमाउने उमेर हो भन्ने सोच्छौँ। यो उमेरमा जति काम गर्यो त्यति कमाउने हो। भविष्यको लागि भनेर आम्दानी तिर मात्र ध्यान दिन्छौँ नि त्यो मात्र नगरिकन हामीले आफ्नो लागि ‘मी टाइम’ पनि राख्नुपर्छ। सेल्फ केयर, पिस अफ माइन्ड राख्नुपर्यो। एकदम तनाव लिएर काम गर्नुहुँदैन।
परिवारसँग समय बिताउनुपर्छ। त्यसले पनि कतिलाई राम्रो गर्छ। मेरो अनुभवमा त आरामदायी नै लाग्छ त्यो। दिनभरको थकान मेट्ने हुन्छ। खानेकुरा पनि स्वस्थकर खानुपर्यो। शारीरिक रुपमा स्वास्थ्य भए मानसिक रुपमा पनि स्वास्थ्य भइन्छ।