PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कांग्रेसमा प्रधानमन्त्री आकांक्षीको लर्को, कसको तागत कति?



नेत्र तामाङ

कांग्रेसमा प्रधानमन्त्री आकांक्षीको लर्को, कसको तागत कति?

काठमाडौं: देश निर्वाचनमा होमिएसँगै आगामी सरकारको बागडोर कसले सम्हाल्छ? चासो यसतर्फ पनि बढ्दो छ। स्थानीय निर्वाचनपछि प्रमुख दलको हैसियतमा फर्केको सत्तारुढ दल नेपाली कांग्रेसका आधा दर्जन नेताहरुले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरिसकेका छन्।

सत्ताको बागडोर सम्हाल्ने दाउमा कांग्रेसका सभापति एवं सत्तासीन प्रधानमन्त्री शेरबहादुर देउवादेखि कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालासम्म छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पटकपटक प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरिरहने नेतामा पर्छन्। प्रकाशमान सिंह पनि प्रधानमन्त्रीका आकांक्षी हुन्। संस्थापनइतरको नेतृत्व गरिरहेका डा शेखर कोइरालाले पनि प्रधानमन्त्री बन्ने आकांक्षा राखेका छन्। संस्थापनइतरकै नेता महामन्त्री गगन थापाले उम्मेदवारी दर्तापछि आइतबार आफू ड्राइभिङ सिटमै बस्ने गरी अघि बढेको बताए। पूर्वमहामन्त्री डा शशांक कोइरालाले उम्मेदवारी दर्तापछि आफू प्रधानमन्त्रीको क्यान्डिडेट भएको बताए। 

छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा देउवा

कांग्रेस सभापति देउवा चुनावी कमान्ड सम्हालेर आफ्नै नेतृत्वमा फेरि सरकार बनाउने दाउमा छन्। २०७४ मा आफ्नै कमान्डमा निर्चाचन गर्दा पनि कांग्रेस नराम्ररी पराजित बन्यो। १६५ प्रत्यक्ष सिटमा २३ सिटमात्र जितेपछि प्रतिपक्षमा थन्किएका देउवा कम्युनिस्टको कचिङ्गलपछि सर्वोच्चको परमादेशबाट सत्ताको बागडोर सम्हाल्न पुगे।

२०७४ को निर्वाचनअघि वाम गठबन्धनको मोर्चा सम्हालिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री हुने ठोकुवा गरेका थिए। धनगढीमा उक्त प्रश्नको सामना गर्दै देउवाले त्यतिखेर जवाफ फर्काएका थिए, ‘ज्योतिषीले मलाई सात पटक प्रधानमन्त्री हुन्छस् भनेका छन, म फेरि तीन पटक प्रधानमन्त्री हुन बाँकी छ, कम्युनिस्टहरुले भनेर हुन्छ?'

उनले भनेको तीनमध्ये एक पटक प्रधानमन्त्री बनिसकेका छन्। ज्योतिषीको भनाईलाई आधार मान्ने हो भने अझै दुईपटक देउवा प्रधानमन्त्री हुन बाँकी छन्। यो निर्वाचनपछि उनी प्रधानमन्त्री भएमा छैटौं पटक पनि पुग्ने छ।

२०७८ असार २९ गते पाँचौं पटक प्रधानमन्त्री भएका उनी यसअघि २१ जेठदेखि १९ माघ २०६१ सम्म, ११ साउन २०५८ देखि १८ असोज २०५९ सम्म, २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म र २४ जेठदेखि ३ फागुन २०७४ सम्म प्रधानमन्त्री भएका थिए।

सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्न लागेका देउवा २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यसयता सबै आमनिर्वाचनहरुमा निर्वाचित हुँदै आएका छन् उनी। देउवा २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली ६ बाट पनि निर्वाचित भएका थिए।

उनी २०४८ मा सांसद बनेपछि गृहमन्त्री बने। २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो।

देउवाको निगाह पर्खँदै रामचन्द्र

कांग्रेसमा प्रधानमन्त्रीका अर्का आकंक्षी हुन् वरिष्ठ नेता रामचन्द्र पौडेल। प्रधानमन्त्री बन्न १७ पटक निर्वाचन लडेको ट्याग लागेका पौडेल यसपटक कांग्रेसको नेतृत्वमा सरकार बने प्रधानमन्त्री बन्ने दाउमा छन्।

दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६औँ वार्षिकोत्सवमा पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको बताएका थिए।

‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ। त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ,’ उनले भनेका थिए, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौँ भन्ने दूरदृष्टि पनि मसँग छ। कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ।’

१३औं महाधिवेशनमा देउवासँग सभापति भिडेका पौडेलले कांग्रेसमा 'पौडेल समूह'को नेतृत्व गरेका थिए। १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर पार्टीको कमान्ड सम्हाल्ने कतिपयको अनुमान विपरीत पौडेलले 'वाकओभर' दिए। संस्थापनइतरमा उनलाई अरुले पत्याएनन् र संस्थापनइतर तितरबितर भयो। त्यसपछि महाधिवेशनमा मत हाल्नसमेत गएनन्। पछिल्लोपटक पौडेल देउवाले आफूलाई प्रधानमन्त्रीको अफर गरेको बताउँदै आएका छन्। गत निर्वाचनमा बागी गोविन्दराज जोशीका कारण उनी पराजित भएका थिए। यसपटक पनि जोशीले यहाँ उम्मेदवारी दिएका छन् तनहुँ - १ मा। यद्यपि १४औं महाधिवेशनअघि नै पौडेलको जोडबलमा जोशीलाई कांग्रेसले कारबाहीको लाठी बर्षाएको छ। देउवाका कट्टर विरोधी पौडेल पछिल्लो समय नरम बनेका छन्। प्रधानमन्त्रीमा आफूलाई देउवाले पालो दिनुपर्ने उनको जोड भने कायमै छ।

शेखरको पनि प्रधानमन्त्रीमा दाबी

नेपाली कांग्रेसमा संस्थापनइतरको नेतृत्व गर्दै आएका डा शेखर कोइराला पनि प्रधानमन्त्रीका दाबेदार हुन्। केही समयअघि योहो टेलिभिजनसँगको संवादमा शेखरले चुनावपछि प्रधानमन्त्रीमा आफ्नो दाबी रहने बताएका थिए।

संस्थापनइतरमा नेतृत्व गरिरहेको शेखरले आफ्नो दाबीलाई थप बलियो बनाउन समानुपातिक सांसदमा आफ्नो पक्षको सहभागितालाई जोड गरे। यद्यपि प्रत्यक्ष निर्वाचित हुने उम्मेदवारको संख्यामा भने शेखर पक्षले जोड गरेको देखिँदैन। अन्तिम समयमा टिकटको टुंगो लागेकोले प्रत्यक्षमा शेखर समूहले नेताहरुको संख्या बढाउन नसकेको देखिन्छ। डा मिनेन्द्र रिजाल, डा स्वर्णिम वाग्ले, डा गोविन्दराज पोखरेलजस्ता प्रभावशाली नेताहरुलाई शेखर समूहले टिकट दिलाउन सकेन। जसका कारण संसदीय दलको नेतामा भिड्नका लागि शेखरको मत कम हुन सक्छ। यद्यपि देउवा समूहमा पनि असन्तुष्ट समूह रहेकोले ती समूहलाई सम्बोधन गर्न सकेमा सरकारको नेतृत्वमा शेखर पुग्न सक्ने कांग्रेसका नेताहरु बताउँछन्। देउवा समूहमा पछिल्लोपटक गृहमन्त्री रहेका बालकृष्ण खाणदेखि सुदूरपश्चिमका प्रभावशाली नेताहरुको टसल रहेको बताइन्छ। यद्यपि यसका लागि मोरङ ६ बाट निर्वाचित भएर आउनुपर्ने छ। अघिल्लोपटक लालबाबु पण्डितसँग पराजित नेता शेखरको यसपटक आफ्नो क्षेत्रमा पकड राम्रो रहेको बताइन्छ। अझ गठबन्धन हुँदा शेखरको जित सुनिश्चित हुने उनी निकट नेताहरु बताउँछन्।

फस्टम्यान बन्ने दाउमा प्रकाशमान

कांग्रेसमा प्रधानमन्त्रीका अर्का आकांक्षी हुन् प्रकाशमान सिंह। कांग्रेस उपसभापति भइसकेका र उपप्रधानमन्त्रीसम्म भइसकेका सिंहले राजधानीबाट देशलाई हाँक्ने मान्छे नपाएकोले देश पछि परेको बताउँदै आएका छन्। आफ्ना पिता गणेशमान सिंहले प्रधानमन्त्री पदको त्याग गरेको विषयलाई कोट्याउँदै प्रकाशमान बुबाले त्यागेको सपना पुरा गर्ने दाउमा छन्।

यो सपना पुरा गर्न प्रकाशमानले अघिल्लोपटक निर्वाचित भएकै बेला प्रयास गरेका थिए। दलको नेता बन्न प्रकाशमानले २०७४ मा देउवासँग भिडेका थिए। ६३ मत रहेको कांग्रेसको संसदीय दलमा देउवाले ४४ मत प्राप्त गर्दा प्रकाशमानले १९ मतमात्र पाए।

१४औं महाधिवेशनमा सभापतिमा भिडेका प्रकाशमानले दोस्रो राउन्डमा देउवालाई सघाएका थिए। प्रकाशमानको घरमै पुगेर देउवाले के सम्झौता गरेका थिए? त्यसबारे त केही खुलेको छैन। यद्यपि देउवाको तीव्र विरोधमा उत्रने प्रकाशमानको बोली फेरिएको छ। उनी अचेल देउवाको बचाउ गर्छन्। उम्मेदवारको मनोनयनका क्रममा देउवाले आफ्नो आकांक्षा खुलाएका छैनन्। यसपटक काठमाडौं क्षेत्र नम्बर १ मा स्वतन्त्रको लहर रहेकोले चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा प्रकाशमान ढुक्क देखिन्छन्।   

युवाको साथ पाउँदा गगनको गर्जन

कांग्रेसमा महामन्त्री गगन थापा प्रधानमन्त्री दाबी गर्ने युवा नेता हुन्। स्वास्थ्य मन्त्रालय हाँकिसकेका गगनलाई युवा वर्गले रुचाएका पनि छन्। उनी प्रधानमन्त्रीको उम्मेदवार बने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सघाउने देखिन्छ। महामन्त्री शर्माले सार्वजनिक वक्तव्यमार्फत नै आफूले सघाउने बताइसकेका छन्।

उम्मेदवारी दर्तापछि गगनले पार्टीको मुल जिम्मेवारीमा बसेर देशको नेतृत्व गर्ने आशयको भनाई राखे। 'पार्टीको पनि मूल जिम्मेवारी लिनुपर्छ। र, मेरो प्रयत्न त अब यहाँसम्म नेपालका राजनीतिक दलहरुले ल्याउनु भएकोमा उहाँहरुलाई धन्यवाद दिँदै, उहाँहरुलाई आभार प्रकट गर्दै अब ड्राईभिङ सिटमा आफैं बसेर अब यो भन्दा अगाडिको पाँच वर्षको निम्ति आफैँ मुल ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो,' उम्मेदवारी मनोनयनपछि थापाले भने।

शेखर समूहबाट महामन्त्रीमा निर्वाचित गगन पछिल्लोपटक देउवाको निकटपात्र बनेका छन्। गत स्थानीय निर्वाचनमा घोषणापत्र बनाउने जिम्मा गगनलाई दिएको थियो। पछिल्लो निर्णयहरुमा देउवाले गगनलाई गहन जिम्मेवारी दिँदै आएका छन्। संस्थापनइतरमा डा शेखरपछि गगनलाई प्रधानमन्त्रीका प्रबल दाबेदारको रुपमा हेरिँदै आएको छ।

शशांकको पनि रहर

कांग्रेस महामन्त्री बनिसकेका डा शशांक कोइराला प्रधानमन्त्रीका अर्का दाबेदार हुन्। अहिलेसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी सम्हालेका छैनन् उनले। यद्यपि आफ्नो समूहका नेतालाई भने मन्त्रिपरिषदमा पठाउन सफल नेताका रुपमा उनलाई लिइन्छ। रामचन्द्र पौडेललाई सभापतिमा सघाउने तयारीमा रहेका शशांकले १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा चित्त बुझाए। यद्यपि बीपीपुत्र भएकाले धेरैको सद्भाव शशांकमाथि रहेको छ। उनले पनि कांग्रेसमा आफ्नो गुट विस्तार गरिरहेका छन्।

त्यसैले पनि होला उनले निर्वाचनपछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने उद्घोष गरिसकेका छन्। नवलपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएपछि कोइरालाले भने, 'यो चुनावपछि अर्को एउटा सपना छ। यो अहिले भन्न त उपयुक्त हुन्न। तर प्रधानमन्त्रीको पोस्टको लागि पनि मैले सोचेको छु।'

उनको भनाई आउनसाथ सञ्चारकर्मीले क्रस क्वेसन गरे - तपाईं प्रधानमन्त्री पदको उम्मेदवार हो?

तुरुन्तै उनले जवाफ फर्काए : एक किसिमले हो। तर अहिले भन्न त उपयुक्त हुन्न। पहिले त जित्नुपर्छ। अनि पार्टीमा छलफल हुनुपर्छ।

शशांक कोइराला प्रधानमन्त्रीको लाइनमा हुनुहुन्छ भनेर प्रेसले बुझ्नुपर्‍यो हैन? अर्को प्रश्नको सामना गरे उनले।

जवाफमा शशांकले प्रतिप्रश्न गरे, 'लाइनमा त छु नि म। तीन तीन चोटि जितिसके। महामन्त्री भइसकें। अब जाने ठाउँ कहाँ?'

कतिपयले देउवाले अबको नेतृत्व शशांकलाई छाड्ने चर्चा पनि गर्छन्। तर निर्वाचनपछिको नतिजाले नै यो तय हुनेछ।

आरजु राणा र प्रकाशशरण महतको पनि चर्चा

कांग्रेस सभापति देउवा शक्तिमा रहेकाले अबको नेतृत्वमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजु राणा देउवा प्रधानमन्त्रीको उम्मेदवार हुन्छन् कि भन्ने चर्चा पनि चल्न थालेको छ। त्यसैले पनि आरजुलाई यसपटक समानुपातिकको सूचीमा राखिएको बताइन्छ। प्रत्यक्षमा पराजित हुने डरले संसदमा सुनिश्चित गराउन उनको नाम समानुपातिकमा पहिलो नम्बरमा राखेपछि चर्को विरोध भयो। त्यसपछि उनलाई तेस्रो नम्बरमा राखिएको छ। तेस्रोमा पनि उनी निर्वाचित हुने सुनिश्चित छँदै छ।

आरजुको नाम विवादमा आएमा कांग्रेस प्रवक्तासमेत रहेका डा प्रकाशशरण महतलाई प्रधानमन्त्रीमा अघि सार्ने तयारीसमेत रहेको बताइएको छ। त्यसैले महतलाई यसपटक समानुपातिकको पहिलो नम्बरमा राखिएको कांग्रेसका नेताहरु बताउँछन्। देउवाका विश्वासपात्र महत १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित बनेका नेता हुन्। उनको हार देउवा समूहकै नेताहरुको कारण भएको बताइन्छ। बेलाबेला देउवाले आफ्ना समूहका नेताहरुलाई महतलाई हराउनको कारण सोधेर हैरान बनाउने चर्चा कांग्रेस वृत्तमा चल्छ।

किङमेकर को बन्ला?

कांग्रेसमा प्रधानमन्त्रीको आकांक्षी 'सिन' मा नै आधा दर्जन छन्। जसमध्ये कांग्रेसकै प्रधानमन्त्री हुन सबैभन्दा पहिले त पहिलो दल बन्नुपर्ने देखिन्छ। त्यसपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको निर्वाचन परिणामले थप अनुमान लगाउन सकिन्छ। दुबै दलले आशातीत सफलता प्राप्त गरेको खण्डमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको साथ जसलाई रहन्छ त्यही व्यक्ति भावी प्रधानमन्त्री बन्ने देखिन्छ।

पछिल्लोपटक प्रचण्ड र माधवको बुढानिलकण्ठदेखि सानेपा धाउने प्रवृत्ति हेर्दा शक्तिशाली पात्र देउवा नै बन्ने देखिन्छ। १४ औं महाधिवेशनमा उनले पाएको मत र प्रतिनिधि सभामा दिएको उम्मेदवारी हेर्दा देउवा बलियो देखिन्छन्।

इतिहास हेर्दा पनि देउवा गठबन्धनको नेतृत्व गर्दै आएका नेता हुन्। हरेक पटक गठबन्धनको नेतृत्व गरेका उनी सायद गठबन्धनमा खप्पिस भइसकेका छन्। अबको निर्वाचपछि पनि पनि गठबन्धनबिना सरकार बन्ने देखिन्न। जसले गर्दा कांग्रेसमा देउवाले छाडेमात्र दोस्रो व्यक्ति प्रधानमन्त्री हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell