PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

फेन्सिङको पहिलो स्वर्ण जित्ने को हुन् शिक्षा नापित?



पहिलोपोस्ट

फेन्सिङको पहिलो स्वर्ण जित्ने को हुन् शिक्षा नापित?
तस्बीर : राखेप

काठमाडौं : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगतको फेन्सिङ प्रतियोगितामा वाग्मती प्रदेशले पहिलो स्वर्ण हात पारेको छ। वाग्मती टिमलाई महिला व्यक्तिगत सेवर बिधामा पहिलो स्वर्ण जिताउने खेलाडी हुन् शिक्षा नापित।

स्वर्ण जितेपछि नापित। फोटो : एनएसजेएफ गण्डकी


 

उनले वाग्मतीको लागि नवौंमा पहिलो स्वर्ण दिलाएकी हुन्। उनले एपिएफकी उर्मीला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। तेस्रो स्थानमा सेनाका रविना थापा र मनिषा श्रेष्ठ रहे।

को हुन् नापित?

काठमाडौंकी नापितले करियरको सुरुवात जिम्न्यास्टिकबाट गरेकी हुन्। जिम्नास्टिक टुर्नामेन्टमा सहभागी हुन उनी काजकास्थानसम्म पनि पुगेकी थिइन्, ११ वर्षको उमेरमै। देशभित्रकै प्रतियोगिताहरुमा पनि उनले विभिन्न पदक जितिसकेकी छिन्। ७ वर्षअघि। शिक्षाको जीवनमा अप्रत्यासित मोड आयो। सानैदेखि निकै लगाव रहेको जिम्नास्टिक उनले एकाएक त्याग्नुपर्‍यो। कारण बन्यो भूकम्प।

भूकम्पका कारण ट्रेनिङ गर्ने जिम्नास्टिक हल तथा दशरथ रंगशाला पनि क्षतिग्रस्त बनेपछि उनको जिम्नास्टिक यात्रामा ‘ब्रेक’ लाग्यो। त्यसअघि उनको जिम्नास्टिक करियरको रफ्तार बढ्दो क्रममा थियो।

 तर, ७/८ वर्षदेखिको मिहिनेत पानीमा बग्ने भएपछि भक्कानिइन् शिक्षा।

शिक्षालाई अर्को कुनै खेलमा अघि बढ्न उनका बुबाले सल्लाह दिए। खेल रोज्ने जिम्मा पनि उनैलाई दिए। टेबलटेनिस, ब्याडमिन्टन खेल्ने कि भनेर पनि सोचिन्। यसैबिच शिक्षाको नजर पर्‍यो फेन्सिङमा। त्यसबेला दरबारमार्गको शेर्पा मलमा यसको ‘डेमोन्स्ट्रेसन’ भइरहेको थियो।

नयाँ खेल, नयाँ अवसर। शिक्षाले फेन्सिङ नै रोजिन्। तर, यसको तालिम हलहरु थिएन। शिवपुरी स्कुलमा यसको तालिमका लागि स्थान बनाइएको थियो, अन्य खेलसँगै। सुरुको तीन वर्ष उनले त्यहीँ तालिम गरिन्।

करिब चार वर्षभन्दा बढी भयो शिक्षाले फेन्सिङ खेल्न थालेको। यस अन्तरालमा उनले ५/६ वटा प्रतियोगितामा भाग लिइसकेकी छिन्। २०७७ सालमा भएको राखेप च्याम्पियनसिपमा शिक्षाको टिमले रजत जितेको थियो। त्यसपछि नेपालगंजमा भएको अर्को प्रतियोगितमा व्यक्तिगत र टिमतर्फ दुवैमा कास्य जितिन्।

त्यसपछि १३ औँ साग भयो। त्यसमा उनले राजत हात पारिन्। र, केही समयअघि मात्रै भएको वीर गणेशमान फेन्सिङ च्याम्पियनसिपमा उनले व्यक्तिगततर्फ स्वर्ण जितिन् भने टिममा कास्य आयो।

शिक्षा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पोल्यान्ड पुगेकी थिइन्। १४ वर्षको उमेरमै पोल्याण्डको तोरुनमा भएको वर्ल्ड जुनियर च्याम्पियनसिपमा उनले सहभागी भएर अनुभव बटुल्ने मौका पाएकी थिइन्।

फेन्सिङ त शिक्षाको ‘प्यासन’ भइहाल्यो। तर, उनलाई विज्ञान विषय पढ्न पनि निकै मन थियो। बुबाले अरु विषय लिए खेलमा सजिलो हुन्छ भन्ने सल्लाह दिएका थिए। तर, अन्त्यमा उनले विज्ञान विषय नै लिइन्।

नयाँ बजारस्थित प्राइम ग्लोबल स्कुलमा कक्षा १२ मा पढ्छिन् उनी अहिले। जुन उनको घरबाट नजिकै छ। फेन्सिङको लागि नै सहज होस् भनेर उनले घरनजिकैको कलेज रोजेकी हुन्। पढाइ बिहान भएकाले उनको तालिम चाहीँ बेलुका। पहिले दिउँसोको पढाइ हुँदा तालिमको लागि उनलाई निकै धपेडी भएको थियो। त्यसपछि उनी बिहानको कक्षामा सरिन्। पढाइ र खेलको दबाबका बिच पनि उनले कक्षा ११ मा राम्रै गरिन्।

उनका बुवासँग शिक्षा नापित


उनको यो सफलताको पछाडि उनको बुवाको त्यतिकै साथ छ। धापासीस्थित एक सहकारी संस्थाको माथिल्लो तल्लामा एउटा हल छ। काठमाडौं फेन्सिङ एकेडेमीको उक्त हलमा शिक्षालगायत केही फेन्सरहरु एकछिनको वार्मअप पछि एकअर्का विरुद्ध तरबार लिएर उत्रिन्छन्।अधिकांश समय शिक्षालाई एकेडेमीसम्म पुर्‍याउन बुबा अनिल नापित नै पुग्छन्। अलिकति बुबा हुनुको जिम्मेवारी अनि धेरै माया र छोरीको हौसला बढाउनका लागि। कहिलेकाहीँ बिहान तालिम हुँदा शिक्षा आफैँ साइकल लिएर एकेडेमी पुग्छिन्, बिहानपख ट्राफिक अलि कम हुने भएकाले पनि। साँझ सवारी साधनको आवतजावन अलि बढी हुने गर्छ। त्यसैले धेरैजसो समय बुवाले नै पुर्‍याउने र ल्याउने गर्छन्।

शिक्षालाई खेलाडी नै बनाउने उनको योजना त थिएन तर छोरी स्वस्थ र बलियो होस् भन्ने हेतुले उनले जिम्नास्टिकमा लगाइदिएका थिए। जिम्नास्टिकमा उनको प्रदर्शन निकै राम्रो हुँदै गएको थियो। झापामा भएको मदन भण्डारी अन्तरस्कुल प्रतियोगितामा गोल्ड मेडल जितेपछि सबैले शिक्षाको तारिफ गर्न थाले।

‘उसले निकै इन्ट्रेस्ट दिएर राम्रो खेल्दै गएपछि एकजना गुरुले मलाई छोरी राम्रो खेल्छ जिम्नास्टिक, उसलाई म काजकास्तान लान्छु भन्नुभयो। सात कक्षामा हुँदा। मलाई पनि खुसी नै लाग्यो हुन्छ भनेँ,’ उनको मुहारमा खुसी देखियो।

छोरीको सफलतामा कत्ति पनि ‘क्रेडिट’ लिन चाहँदैनन् उनी। छोरी आफ्नै परिश्रमले सफल भएको उनी बताउँछन्। शिक्षा 'आर्ट' गर्न पनि माहिर छिन। घरका भित्ताहरु उनले कोरेका ड्रइङ/पेन्टिङले सजिएका छन्। ‘साइन्स पढेको भएर दुई वर्ष जति भयो केही गरेको छैन। नत्र राम्रो गर्छ,’ बुबाले छोरीको तारिफ गर्दै भने।

राष्ट्रिय खेलकुदअघि अभ्यासमा जुटेकी नापित


‘लक डाउनको बेला अलि गर्‍यो। एकेडेमीको हलमा पनि उनले बताएको आर्ट झुन्डिएको छ,’ छेउमै रहेकी शिक्षाकी आमा सिर्जना श्रेष्ठ नापितले थपिन्।

त्यतिमात्रै होइन शिक्षा संगीतमा रुचि राख्छिन्। उनी गिटार पनि राम्रो बजाउने बुबाले बताए।

राष्ट्रिय खेलकुदमा फेन्सिङमा अरु केके भयो?

पोखराको ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगितमा इपी महिला ब्यक्तिगत तर्फ सेनाले बर्चस्व बनायो। सेनाका ईन्दिरा पौडेलले स्वर्ण जित्दा सिता पाठक रजतमा खुम्चिईन। यस्तै सेनाकी पुजन कुमालले कास्य जित्दा अर्को कास्य एपिएफकी जानुका स्याङतानले जितिन्।

पुरुष तर्फ सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले आफ्नो प्रदेशका लागि स्वर्ण जिते। उनले वाग्मतीका संजीप लामालाई पराजित गर्दै स्वर्ण जितेका हुन्। सेनाका वीर सिंह शाही र एपिएफका शेरसिंह ऐरीले कास्य पदका चित्त बुझाए।

बिजयी खेलाडीहरुलाई वाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी, सुदूरपश्चिम प्रदेशका सदस्य सचिव दीपक सिंह र राष्ट्रिय खेलकुद परिषद्का प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतले पुरस्कृत गरेका थिए।

फेन्सिङको सोमवार तीन स्वर्णको छिनोफानो भएको थियो।

प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरेका थिए।  फेन्सिङमा विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, वाग्मती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले प्रतियोगितामा भाग लिएका छन्। प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागिता जनाएका छन्।

फेन्सिङ अन्तरगत ईपी, फोयल र सावर गरी तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिता राउण्ड रोविनको आधारमा हुने प्राविधिकले जनाएका छन्।

नवौं राष्ट्रिय प्रतियोगिताको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले जितेको थियो। पुलिसले पुरुष क्रिकेटमा पहिलो स्वर्ण जित्दै स्वर्ण तालिकामा पहिलो स्थान बनाउन सफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell