PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मकवानपुर - १ मा चुनाव नफाप्नेहरुबीच टक्कर : हारको कीर्तिमान राखेकामध्ये कसले तोड्ला रेकर्ड?



निशा गुरुङ

मकवानपुर - १ मा चुनाव नफाप्नेहरुबीच टक्कर : हारको कीर्तिमान राखेकामध्ये कसले तोड्ला रेकर्ड?

हेटौंडा : प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर - १ मा अघिल्ला निर्वाचनहरु नफापेका उम्मेदवारहरु नै प्रतिस्पर्धामा उत्रिएका छन्। मकवानपुर - १ मा यसअघिको निर्वाचनमा पटकपटक हार व्यहोरेकाहरुबीच नै प्रतिस्पर्धा हुन लागेको हो।

मकवानपुर क्षेत्र नम्बर १ मा प्रमुख दलबाट प्रतिनिधिसभा सदस्यका लागि कमल थापा, दीपक सिंह र महालक्ष्मी उपाध्याय डिनाले उम्मेदवारी दर्ता गरेका छन्। अघिल्ला निर्वाचणको परिणाम हेर्ने हो भने तीनै जनाले पटकपटक पराजित व्यक्ति हुन्। तर यसपटक यिनै नेताहरुबीच हुने प्रतिस्पर्धाले यो क्षेत्रमा रोचकता थपेको छ।

राप्रपा नेपालका अध्यक्ष थापा एमालेको सूर्य चिन्ह लिएका छन् भने कांग्रेस सहमहामन्त्री डिनालाई सत्ता गठबन्धनको साथ छ। सिंहलाई भने राप्रपाकोमात्र साथ छ।

कसको कतिपटक हार, यसपटक कतिको सम्भावना?

कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डिनालाई यो पटक जित्नैपर्ने दबाव छ। तीन पटकसम्म मकवानपुरको २ नम्बरबाट चुनाव प्रतिस्पर्धामा उत्रेकी उनी यसपटक क्षेत्र १ मा आइपुगेकी हुने। सत्ता गठबन्धनतर्फबाट नेकपा एकिकृत समाजवादीका नेता विरोध खतिवडाले क्षेत्र नं २ मा पाएपछि उनी क्षेत्र १ मा सरुवा भएकी हुन्।

स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्व सभापति भइसकेकी महालक्ष्मी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर जिम्मेवारी वहन गरिसकेकिछिन। २०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी उनी हाल तत्कालीन समयमा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भइन्। यो निर्वाचनमा खतिवडाले १६ हजार ८६९ मत ल्याएर डिनालाई पराजित गरेका थिए। त्यतिबेला डिनाले ११ हजार ५७६ मत पाएकी थिइन्। २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन्। उक्त निर्वाचनमा खतिवडा १६ हजार १४४ मत पाएर निर्वाचित भएका थिए भने डिनाले ३ हजार ७९२ मत पाएर तेस्रो भइन्। त्यतिबेला राप्रपा अध्यक्ष थापा ११ हजार ८७८ मत ल्याएर दोस्रो भएका थिए। २०५६ मा भएको आमनिर्वाचनमा उनी उम्मेदवार बनिनन्। त्यतिबेला क्षेत्र नं.२ बाट कांग्रेसका रामचन्द्र अर्याल ‘माइकल’ उम्मेदवार बनेका थिए। तर, उनी पनि खतिवडासँगै पराजित भए।

२०७४ सालमा भएको निर्वाचनमा पनि डिना पुनः एकपटक खतिवडासँगै पराजित हुन पुगिन्। हालसम्मको राजनीतिक जीवनमा कांग्रेस पार्टीभित्र राम्रो स्थान बनाए पनि उनले जनताबाट प्रत्यक्ष अनुमोदित हुने अवसर भने पाएकी छैनन्। २०७४ को निर्वाचनमा उनले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन् भने खतिवडा ४६ हजार ४८१ मतका साथ निर्वाचित भएका थिए। डीना यो पटक विगतको तितो इतिहास नदोहोर्‍याउने पक्षमा छिन्।

उपाध्यायका बलिया मानिएका प्रतिस्पर्धी हुन् हारको रेकर्ड बनाएका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा। मकवानपुर स्थायी घर भएका थापा पटक–पटक सिंहदरबारको वरिपरि घुमिरहे तर, आफ्नो क्षेत्रमा सधैको पराजय। राजा हुन् या राजनीतिक दलको सरकार, उनले दुवै कालमा सत्ताको स्वाद चाखेका छन्। उनी २०३७ सालमै पञ्चायती संविधानको संशोधनका लागि गठन भएको मस्यौदा समितिको सदस्यसमेत बने। पछि २०४६ मा सञ्चार राज्यमन्त्री बनेका उनले पञ्चायतविरुद्धको आन्दोलन दबाउन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, गृह राज्यमन्त्री निरञ्जन थापासँग मिलेर आन्दोलनविरुद्ध चार खम्बा बनेर उभिएका थिए। प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४८ मा पराजित भएका थापाले २०५१ को मध्यावधि चुनावमा भने जित हात पारे।

२०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा समेत गरी थापा २०५१ यता ९ पटक मन्त्री बनिसकेका छन्। २०४८ को आम निर्वाचनमा मकवानपुर–१ मा थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए। ०५१ को मध्यावधि चुनावमा थापाले त्यसको बदला लिए। तर, मकवानपुर २ बाट पनि उठेका उनलाई तत्कालीन एमालेका विरोध खतिवडाले पराजित गरे। २०५६ मा थापा मकवानपुर–१ मा दाहालसँग पराजित भए। त्यसबेला दाहालले २० हजार ४४२ मत पाउँदा थापाले १५ हजार ९८५ मत प्राप्त गरेका थिए। मकवानपुर–३ बाट पनि उम्मेदवारी दिएका उनी त्यहाँ पनि एमालेका वीरबहादुर लामासँग दुई हजार मतान्तरले पराजित भए। त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर ३ (पछि क्षेत्र २ मा गाभिएको) बाट उम्मेदवार बनेका थापा तेस्रो भए। २०७० को संविधानसभा निर्वाचनमा भने थापा प्रतिस्पर्धामा उत्रिएनन्। श्रीमती प्रमिला थापालाई मकवानपुर–१ बाट उम्मेदवार बनाएर आफू समानुपातिकमा बसे। समानुपातिकबाट सांसद भएर मन्त्री बनेका उनी ओली, दाहाल र देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने। त्यसपछि २०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर १ मै उम्मेदवारी दिए। थापाका प्रतिस्पर्धी थिए, उनै तीनपटक प्रतिस्पर्धा गरेका दाहाल। तर उक्त निर्वाचनमा पनि थापा पराजित भए। कांग्रेस–राप्रपाको गठबन्धनलाई माओवादी–एमाले गठबन्धका दाहालले करिब ६ हजार मतान्तरले थापालाई पराजित गरे। दाहालले ४० हजार ६३१ मत पाउँदा थापाले ३४ हजार ६३५ मत ल्याएका थिए।

चुनाव हार्न रेकर्ड नै राखेका थापा यो निर्वाचन जीवनको अन्तिम निर्वाचन भएको बताउँछन्। यसैले आफू जित्न सबै फर्मुला प्रयोग गर्ने दाउमा छन् उनी। तर, उनले सूर्य चिन्ह लिएर चुनावी मैदानमा होमिदै गर्दा एमाले नेताकार्यकर्ता नै तगारो बन्ने देखिन्छ। पहिलो गाँसमा ढुंगा भने झैं एमाले कार्यकर्ताले केन्द्रबाट थापालाई सघाउन भनेपछि पार्टी कार्यालयमा आइतवार तालाबन्दी गरेका थिए। एमाले कार्यकर्ता रुष्ट देखिएकाले थापालाई एमालेको मत तान्न धौ धौ पर्ने देखिन्छ।

राप्रपाबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचनको लागि पार्टीको केन्द्रीय सदस्य दिपकबहादुर सिंहले पनि उम्मेद्वारी दर्ता गराएका छन्। उम्मेदवारको अन्तिम नामावली प्रकाशन नहुँदै सिंह मतदाताको घरघर पुग्न थालिसकेका छन्।  २०४६ को बहुदलअघि राप्रपा मकवानपुरको पहिलो पार्टीको रूपमा रहेको थियो। बहुदल स्थापनापछि कम्युनिष्टहरूको प्रभाव बढ्दै जाँदा राप्रपाले पकड गुमाउँदै गयो। संस्थापन कालदेखि नै राप्रपामा रहेर थुप्रै संगठनमा सक्रिय रहेका सिंहले २०५४ सालमा हेटौंडा उपमहानगरपालिकाको मेयरका राप्रपाको तर्फबाट उम्मेदवार रहेका थिए। त्यसबेला उनी प्रत्यासी डोरमणि पौडेलसँग ६०० मतान्तरले पराजित भए। त्यसपछि २०५६ सालमा प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ मा उम्मेदवारी दिएका सिंहले तत्कालीन एमालेका उम्मेदवार रहेका विरोध खतिवडासँग १५ सय मतान्तरले हार व्यहोरे। त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा उनी नेकपा एमालेका अनन्त पौडेलसँग दुई हजार मतान्तरले पराजित भए। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका सिंह तेस्रो बने। पराजित भए पनि उनले ल्याएको मतबाट हेटौंडामा राप्रपाको स्थिति बलियो देखिन्छ।

हारको रेकर्ड बनाएकाहरु नै एकअर्काका प्रत्यासी भएकोले यो पटक मकवानुपर १ मा त्रिपक्षीय प्रतिस्पर्धा रोचक मानिएको छ। मकवानपुरको क्षेत्र नम्बर १ मा हेटौंडा उपमहानगरपालिकाको १९ वडामध्ये १५ वटा वडा पर्छन् भने बकैया गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा पर्दछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell