PahiloPost

Sep 8, 2024 | २३ भदौ २०८१

पर्सा - बारामा स्वतन्त्र उम्मेदवारको लर्को : ३५३ को उम्मेदवारी पर्दा स्वतन्त्रमात्रै १७२



राधेश्याम पटेल

पर्सा - बारामा स्वतन्त्र उम्मेदवारको लर्को : ३५३ को उम्मेदवारी पर्दा स्वतन्त्रमात्रै १७२

वीरगंज : मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा देशभरी नै स्वतन्त्र उम्मेदवारी दिनेहरुको लहर लागेको छ। तराई मधेशका जिल्लामा पनि स्वतन्त्र उम्मेदवारी दिनेको होडबाजी चलेको छ। केहीले वास्तविक चुनाव लड्न उम्मेदवारी दर्ता गराएका छन् भने केहीले आफना नजिकका उम्मेदवारलाई सघाउन प्रचारमा गाडी तथा अन्य सुविधा लिनको लागि उम्मेदवारी दिएको देखिएको छ।

मधेश प्रदेशकै पर्सा–बाराका ४ – ४ प्रतिनिधिसभा र ८ – ८ प्रदेशसभा क्षेत्र छ। पर्सामा कुल १६७ जनाको उम्मेदवारी परेको छ भने जसपमा ८८ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। त्यसैगरी बारामा कुल १८६ जनाको उम्मेदवारीमा ८४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रायजसो प्रदेशसभामा यूवा जमातको आकर्षण स्वतन्त्रमा देखिएको चर्चा छ।

पछिल्लो स्थानीय तहको चुनावमा काठमाडौं, धरान, जनकपुरलगायत ठाउँमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेपछि अगामी दिनमा दलीय सिन्डिकेट तोड्न स्वतन्त्र उम्मेदवारी दिएर 'किस्मत अजमाउने'को आशा उनीहरुको देखिन्छ। पर्सा १ को कबाट काँग्रेसबाट असन्तुष्ट यूवा नेता सुधिर पटेलले नेपाली झण्डा बोकेर स्वतन्त्र उम्मेदवारी दर्ता गरे। लगत्तै उनले भने, ‘राजनीतिक दलहरुमा पुराना नेताहरुको हालीमुहाली छ, नयाँ पुस्तालाई अवसर दिदैनन्, त्यसैको विरुद्धमा मेरो उम्मेदवारी हो।’

उनले विद्यार्थी जीवनदेखि नै कांग्रेसमा सक्रिय रहेको र विभिन्न आन्दोलनमा आफूले योगदान पुर्‍याए तापनि पार्टीले युवाको साटो पुरानै अनुहारलाई टिकट दिने भएपछि आफूले दुई महिना पहिलेदेखि चुनावी खेलको मैदान बनाउने कार्यमा लागेको तर्क गरे। पटेलले पार्टीको सबै पदबाट राजिनामा गर्दै स्वतन्त्र उम्मेदवारको रुपमा अघि बढेको बताए। त्यसैगरी जसपा पर्साका नेता मुकेश द्विवेदीले पर्सा क्षेत्र नं २ ख बाट प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका छन्। दलीय गठबन्धनको उम्मेदवारले जितेपछि विकास नगर्ने, भ्रष्टाचारमा बढी लिप्त हुने देखिएपछि आफू चुनावी मैदानमा आएको उनी बताउँछन्। ‘म लामो समयदेखि जसपामा छु, हरेक चुनावमा आफना नेतालाई जिताउँदै आएको छु, तर यसपाली पार्टीले हेरेन,’ उनले भने, ‘त्यसैले पार्टीको केन्द्रीकृत सिन्डिकेटलाई भत्काउनको लागि स्वतन्त्र उठ्ने निर्णय गरेँ।’

जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराउने अर्की नेतृ हुन् पूर्व राज्यमन्त्री करिमा बेगम। उनले पर्सा २ खबाट उम्मेदवारी दर्ता गराएकी छन्। उनले पनि पार्टीको आश्वासनबाहेक अन्तिम समयमा एमालेसँग जसपाले गरेको तालमेलले आफूलाई टिकट नपाएको गुनासो गरिन्। भारी संख्यामा स्वतन्त्र उम्मेदवार उठिरहँदा जनताले पत्याउछन् की पत्याउदैनन् भन्ने प्रश्नमा उनले जसले आफ्नो क्षेत्रमा जनताको सखुदुखमा काम गरेको छ उसलाई जनताले अवश्य पत्याएर दलीय सिन्डिकेटमा थप्पड हानेर देखाउने प्रतिक्रिया दिइन्। नेपाली कांग्रेसमा ३२ वर्ष झन्डा बोकेको बताउने वीरगंज घडिअर्वाका परमानन्द साह कानु यसपालीको चुनावमा राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाबाट पर्सा २ ख बाट उम्मेदवारी दिएका छन्। उनले स्वतन्त्र र पुराना नेतालाई जनताले अवश्य साथ दिने ठोकुवा गरे।

पर्सामा क-कसको उम्मेदवारी?

पर्सामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १६७ जनाको उम्मेदवारी दर्ता भएको छ र यसमध्ये ८७ जना स्वतन्त्र उम्मेदवार छन्। पर्सा क्षेत्र नं. १ मा प्रतिनिधिसभाको लागि २३ जनाले उम्मेदवारी दिएका छन् जसमा स्वतन्त्र उम्मेदवार १२ जना छन्। यसैगरी, प्रदेशसभाको लागि क्षेत्र नं. १ को (क)बाट १८ जनाको उम्मेदवारी परेको छ भने त्यसमा १२ जना स्वतन्त्र उम्मेदवार छन्। क्षेत्र नं १ को (ख)बाट २१ जनाको उम्मेदवारी परेको छ र त्यसमध्ये १३ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए।

यसैगरी, क्षेत्र नं २ मा प्रतिनिधिसभाको लागि ११ जनाको उम्मेदवारी परेको र त्यसमध्ये तीनजना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृत सुशील देवकोटाले बताए।  क्षेत्र नं. २ को (क)बाट नौंजनाको उम्मेदवारी परेकोमा पाँचजना स्वतन्त्र र (ख)बाट १४ जनाको उम्मेदवारी परेकोमा ९ जना स्वतन्त्र उम्मेदवार रहेको अधिकृत देवकोटाले जानकारी गराए।

क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएकोमा पाँचजना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृत योगनाथ ढकालले बताए। यो क्षेत्रको (क)बाट १३ जना उम्मेदवारमध्ये आठजना स्वतन्त्र र (ख)बाट १४ जना उम्मेदवारमध्ये आठजना स्वतन्त्र उम्मेदवार रहेको अधिकृत ढकालले बताए।

यसैगरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि १२ जनाको उम्मेदवारी परेको छ भने पाँचजना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृत रमेश श्रेष्ठले बताए। यो क्षेत्रको (क)बाट १० जना उम्मेदवारमध्ये तीनजना स्वतन्त्र र (ख)बाट ११ जना उम्मेदवारमध्ये पाँचजना स्वतन्त्र छन्।

पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट लोसपाका लक्ष्मणलाल कर्ण उम्मेदवार छन् भने नेकपा–जसपा गठबन्धनबाट जसपाका प्रदीप यादव उम्मेदवार छन्। यो क्षेत्रबाट नेपाली काङ्ग्रेस पर्साका पूर्वसभापति अजयकुमार द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

क्षेत्र नं. १ को (क)बाट सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका रहबर अन्सारीले प्रदेशसभा सदस्यमा उम्मेदवार छन् भने जसपा–एमालेबाट एमालेका विचारी यादव उम्मेदवार छन्। यसैगरी, (ख)बाट सत्तारूढ गठबन्धनका रामनारायण कुर्मी उम्मेदवार छन् भने जसपा–एमाले गठबन्धनबाट जसपाका लालबाबूराउत गद्दी उम्मेदवार छन्।

क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा सत्तारूढ गठबन्धनबाट नेकाका अजयकुमार चौरसिया उम्मेदवार छन् भने यो क्षेत्रमा प्रदेशसभा सदस्यमा (क)बाट नेकाका श्याम पटेल र (ख)बाट लोसपाका रमेश कुर्मी उम्मेदवार छन्। यसैगरी जसपा–एमाले गठबन्धनबाट जसपाका सुरेन्द्रप्रसाद कुर्मी प्रतिनिधिसभामा र प्रदेशसभामा (क) बाट जसपाका रामनरेश यादव र (ख) बाट एमालेका हरेराम पटेल उम्मेदवार छन्।

क्षेत्र नं. ३ मा सत्तारूढ गठबन्धनमा प्रतिनिधिसभामा नेकाका सुरेन्द्रप्रसाद चौधरी उम्मेदवार छन् भने क्षेत्र नं. ३ को (क)बाट माओवादीका छोटेलालप्रसाद र (ख)बाट नेकाका जनार्दनसिंह क्षत्री उम्मेदवार छन्। (ख) नम्बर क्षेत्रबाट सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एस)बाट प्रह्लाद गिरीको उम्मेदवारी पनि परेको छ। कांग्रेसका सभापतिसमेत रहेका क्षत्रीले गठबन्धनबाट आफ्नो उम्मेदवारी आधिकारिक भएको दावी गरेका छन्। एमाले–जसपा गठबन्धनबाट पर्सा क्षेत्र नं ३ बाट एमालेका राजुकमार गुप्ताले प्रतिनिधि सभामा र ३ क बाट एमालेका मन्जुर अन्सारी, ३ को खबाट जसपाकी नेतृ एवं निवर्तमान सांसद हरिनारायण रौनियारकी छोरी डा. मधु गुप्ताको उम्मेदवारी परेको छ।

क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा गठबन्धनबाट नेकाका रमेश रिजालको उम्मेदवारी परेको छ। यो क्षेत्रबाट प्रदेशसभा (क)मा सत्तारूढबाट नेकाका शड्ढरप्रसाद चौधरी र (ख)बाट माओवादीकी शेख चाँदताराको उम्मेदवारी परेको छ। जसपा–एमाले गठबन्धनबाट भने प्रतिनिधिसभामा जालीम मियाँको उम्मेदवारी परेको छ भने (क)बाट प्रदेशसभामा जयप्रकाश थारू र (ख) बाट जसपाका सिंहासन साह कलवारको उम्मेदवारी परेको छ।

बारामा को - को?

बारा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १८६ जनाको उम्मेदवारी परेको छ जसमा ८४ जना स्वतन्त्र उम्मेदवार छन्।    बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा आठ जनाको उम्मेदवारी परेको र त्यसमध्ये छजना स्वतन्त्र छन्। यो क्षेत्रबाट प्रदेशसभा (क)मा १३ जना र (ख)बाट १५ जना गरी २८ जनाको उम्मेदवारी परेको छ भने दुवै प्रदेश गरी १४ जना स्वतन्त्र उम्मेदवार छन्। क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा १५ जनाको उम्मेदवारी परेको छ जसमा नौंजना स्वतन्त्र छन्। प्रदेशसभाका लागि क्षेत्र नं. (क) र (ख)बाट ३२ जनाको उम्मेदवारी परेको र त्यसमध्ये २० जना स्वतन्त्र रहेका छन्।

यसैगरी, क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् जसमध्ये पाँचजना स्वतन्त्र छन्। यो क्षेत्रको प्रदेशसभा सदस्यमा (क) र (ख)बाट २७ जनाले उम्मेदवारी दर्ता गराएको र त्यसमध्ये १० जना स्वतन्त्र उम्मेवदार छन्।

क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा २० जनाले उम्मेदवारी दर्ता गरेका छन् जसमध्ये १० जना स्वतन्त्र छन्। यो क्षेत्रबाट प्रदेशसभा (क) र (ख)बाट २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् मध्ये १० जना स्वतन्त्र छन्।

पर्साको तुलना बारा जिल्लामा दलगत प्रतिनिधित्व बढी देखिएको छ भने स्वतन्त्र उम्मेदवारी थोरै मात्र देखिएको छ। १०२ जना दलगत रूपमा उम्मेदवार छन् भने ८४ जना स्वतन्त्र उम्मेदवार छन्।

बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा सत्तारूढ गठबन्धनबाट नेपाली काङ्ग्रेसका उमाकान्त चौधरी उम्मेदवारी दर्ता गराएका छन् भने एमाले–जसपाबाट एमालेका अच्युतप्रसाद मैनालीले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं. १ को (क)बाट प्रदेशसभामा सत्तारूढ गठबन्धनबाट नेकाका रमेशप्रसाद दङाल र एमाले–जसपा गठबन्धनबाट एमालेका त्रिलोकी चौधरीलगायत उम्मेदवारहरूले प्रदेशसभामा उम्मेदवारी दिएका छन्। यसैगरी (ख)बाट सत्तारूढ गठबन्धनबाट नेकाका नागेन्द्रसाह कानू र जसपा–एमालेबाट जसपाका सरोजकुमार यादवलगायतले उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्रमा पनि सत्तारूढ गठबन्धनबाट नेकपा (एस)का बतहुराय यादवले उम्मेदवारी दर्ता गराएका छन्।

बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा सत्तारूढ गठबन्धनबाट नेकपा माओवादीका शिवचन्द्रप्रसाद कुशवाहा र जसपा–एमाले गठबन्धनबाट जसपाका रामसहाय यादव उम्मेदवार छन्। क्षेत्र नं. २ को (क)बाट लोसपाका मोतीलालप्रसाद र जसपा–एमाले गठबन्धनबाट बलवीर चौधरी उम्मेदवार छन्। क्षेत्र नं. २ (ख)बाट सत्तारूढ गठबन्धनका रामअयोध्या यादव र जसपा–एमाले गठबन्धनबाट जसपाका बच्चाराउत अहिर उम्मेदवार छन्।

बारा क्षेत्र नं. ३ मा सत्तारूढ गठबन्धनबाट लोसपाका लालबाबू सिंह भुमिहार र जसपा–एमाले गठबन्धनबाट ज्वालाकुमारी साह उम्मेदवार छन्। यो क्षेत्रबाट प्रदेशसभा (क)मा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका मुकेश साह र जसपा एमाले गठबन्धनबाट रवीन्द्रदास श्रेष्ठ उम्मेदवार छन्। (ख)बाट सत्तारूढ गठबन्धनका जयचन्द्रप्रसाद चौरसिया र  एमालेबाट महम्मद समीर र जसपाबाट पारसप्रसाद साहले पनि उम्मेदवारी दर्ता गराएका छन्।

क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा गठबन्धनबाट नेकपा (एस)का कृष्णकुमार श्रेष्ठ र एमाले–जसपा गठबन्धनबाट एमालेका एकबाल मियाँले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं. ४ (क)बाट प्रदेशसभामा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ र एमाले–जसपा गठबन्धनबाट एमालेका देवनारायण थारूले उम्मेदवारी दर्ता गराएका छन्। (ख)बाट सत्तारूढ गठबन्धनबाट लोसपाका जितेन्द्रप्रसाद सोनार (सोनल) र एमाले–जसपा गठबन्धनबाट जसपाका आत्मारामप्रसाद साहले उम्मेदवारी दर्ता गराएका छन्।

बाराको चारवटा क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा जनमत पार्टी, विवेकशील साझा पार्टी, नेपाली काङ्ग्रेस विपी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील, राप्रपा, हाम्रो नेपाल, राप्रपा नेपाल, नेपाल लोकतान्त्रिक, नेपाल सदभावना पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका पार्टीबाट उम्मेदवारी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell