PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सिन्धुपाल्चोक २ मा शेरबहादुरविरुद्ध मोहनबहादुर, बस्नेत किन आइपुगे आफ्नो क्षेत्र छाडेर?



पहिलोपोस्ट

सिन्धुपाल्चोक २ मा शेरबहादुरविरुद्ध मोहनबहादुर, बस्नेत किन आइपुगे आफ्नो क्षेत्र छाडेर?

  • फूलमान तामाङ-

नवलपुर : सिन्धुपाल्चोक क्षेत्र २ मा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले यसपटक नयाँ प्रतिस्पर्धी पाएका छन्। तामाङ अघिल्लो निर्वाचनमा कांग्रेसको साथ पाएको पशुपति शम्शेरसँग भिडेका थिए। तामाङले यसपटक कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत प्रत्यासी पाएका छन्।

सत्ता गठबन्धनको भागबण्डामा यो क्षेत्र कांग्रेसको भागमा परेपछि बस्नेत क्षेत्र १ छाडेर तामाङसँग प्रतिस्पर्धामा उत्रिएका हुन्।

क्षेत्र १ का बस्नेतले किन रोजे २?

जिल्लामा राम्रै छवि बनाएका बस्नेत दुईपटक कांग्रेस केन्द्रीय सदस्य बनिसकेका छन्। पूर्वमन्त्रीसमेत रहेका उनको क्षेत्र हो १ नम्बर। तर यसपटक भागबण्डामा क्षेत्र नम्बर १ माओवादीलाई पर्‍यो। धेरैको अनुमान थियो अग्नि सापकोटाले यो क्षेत्रबाट चुनाव भिड्छन्। तर अनुमान विपरित सभामुख रहेका सापकोटाले निर्वाचन नलड्ने घोषणा गरे र यस क्षेत्रमा माधव सापकोटा सुवोधलाई मैदान छाडिदिए।

क्षेत्र नम्बर १ कुनै हालतमा नछाड्ने अडान राख्दै माओवादीविरुद्ध खरो उत्रिएका बस्नेत अन्तत: क्षेत्र २ मा आइपुगे। क्षेत्र १ नपाउनुमा केन्द्रमा बस्नेतको प्रस्तुति कमजोर रहेको जिल्ला नेताहरु बताउँछन्। 'मोहन दाइ जिल्लामा पकड राख्ने नेता हुन्। तर केन्द्रमा उहाँको प्रस्तुति राम्रो देखिएन। बलबहादुर केसीले सोलु पाउँदा माओवादीले मोहन दाइलाई नछाड्ने भन्ने कुरै हुँदैनथ्यो,' सिन्धुपाल्चोक क्षेत्र १ का एक नेताले भने, 'आखिर अग्नि सापकोटा त चुनाव नलड्ने नै रहेछन्।'

त्यसो त सिट बाँडफाँट कार्यदलमा बस्नेतको पक्षमा बोलिदिने कोही नहुँदा पनि उनी क्षेत्र २ मा सरुवा हुन बाध्य भएको बताइन्छ। सत्ता गठबन्धनमा सिट बाँडफाँट कार्यदलको संयोजकको भूमिकामा कृष्णप्रसाद सिटौला थिए। सिटौला पक्षका युवा नेता एवं नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना बस्नेतकै क्षेत्रका नेता हुन्। तिमल्सिनालाई बस्नेतले क्षेत्रीय अधिवेशनबाटै तारो बनाएका थिए। जसले गर्दा तिमल्सिनाले प्रदेशको उम्मेदवार बन्नसमेत पाएनन्। क्षेत्रबाट सिफारिस नभए पनि तिमल्सिना प्रदेश कांग्रेसबाट क्षेत्र नम्बर १ को प्रदेश क को लागि सिफारिसमा परेका थिए। यहाँ बस्नेतनिकट नेतृ मनकुमारी खड्का 'मसिना'ले कांग्रेसबाट टिकट पाएकी छिन्। यसो त कार्यदलमा रहेका ज्ञानेन्द्र कार्कीदेखि गगन थापाले बस्नेतलाई नरुचाएको बताइएको छ।

कस्तो छ अवस्था?

सिन्धुपाल्चोक क्षेत्र २ को निर्वाचनको इतिहास पल्टाउने हो भने कांग्रेसबाट अहिलेसम्म कुनै उम्मेदवार निर्वाचित हुन सकेको छैन। अर्को क्षेत्रबाट उम्मेदवार पठाएकै कारण यस्तो भइरहेको यहाँका नेताहरु बताउँछन्। क्षेत्र २ मा यसअघि विनोद मोक्तान र भुपेन्द्र थापा लड्न आएका थिए। क्षेत्र १ कै भोला बोहराले अवसर पाउँदा भने यही क्षेत्रका राजेन्द्रमान ताल्चाभँडेलले टिकट खोसेका थिए। यसो त यहाँ साविक क्षेत्रकै उम्मेदवार हुँदा पनि कांग्रेसमा जितको रेकर्ड छैन।

४९ वडा रहेको यस क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मतपरिणम हेर्ने हो भने एमाले कांग्रेसभन्दा २ हजार मतले अघि छ। सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा ४९ वडाहरु छन्। जसअन्तर्गत हालै सम्पन्न स्थानीय निर्वाचनमा यो क्षेत्रमा नेकपा (एमाले)ले २ पालिकासहित २१ वटा वडामा जित निकाल्यो।

इन्द्रावती र पाँचपोखरीमा प्रमुख र उपप्रमुख दुवै एमालेबाट निर्वाचित भए। यी दुई पालिकामा वडाध्यक्षहरुले पाएको मतको आधारमा एमाले पहिलो नम्बरमा छ।

यता, कांग्रेसले पनि २ पालिका मेलम्ची र हेलम्बुको प्रमुखसहित २० वटा वडामा जित निकाल्यो स्थानीय तह निर्वाचनमा। यो क्षेत्रमा एमालेभन्दा २ हजार मतान्तरले दोस्रो स्थानमा कांग्रेस छ। सिन्धुपाल्चोक क्षेत्र २ मा स्थानीय निर्वाचको मतपरिणाम अनुसार एमालेको ३१ हजार ७७६, कांग्रेसको २९ हजार ३०२, माओवादीको १६ हजार ०७९, राप्रपाको ५९३२, एकीकृत समाजवादीको १६६३ मत रहेको छ।

यद्यपि यो क्षेत्र मा सत्तागठबन्धन नै अघि देखिन्छ। बस्नेत तामाङको जितलाई ब्रेक लगाउन कस्सिएका छन्। यस क्षेत्रको प्रदेशतर्फ एमालेले प्रदेश क मा अमानसिङ तामाङ र प्रदेश ख मा एमालेका पूर्व जिल्ला अध्यक्ष हस्त पण्डितलाई चुनावी मैदानमा उतारेका छन्। अमानसिङ चौतारा साँगाचोकगढीका पूर्व मेयर हुन्। उनी हालै एमालेमा प्रवेश गरेका हुन्। यता सत्ता गठबन्धनले प्रदेश क मा युवराज दुलाललाई नै दोहोर्‍याएका छन् भने ख मा कांग्रेसका कृष्णकुमार तामाङलाई टिकट दिएको छ।

कांग्रेस केन्द्रको सिफारिसप्रति कार्यकर्ता रुष्ट

कांग्रेस केन्द्रीय सदस्य बस्नेत क्षेत्र २ मा आउँदा कतिपयले स्वागत गरिरहेका छन् भने कतिपय स्थानीय नेता तथा कार्यकर्ताहरु रुष्ट भएका छन्। स्थानीय निर्वाचनमा बस्नेत गठबन्धनको तीव्र विरोधमा उत्रिएका थिए। जसका कारण क्षेत्र २ मा गठबन्धन नहुँदा इन्द्रावती गाउँपालिका कांग्रेसले गुमाउनपर्‍यो।

क्षेत्र २ मा संस्थापनइतरबाट वंशलाल तामाङ, बिलबहादुर तामाङ, राजु गोर्खालीको नाम चर्चामा थियो। यद्यपि संस्थापन समूहकै विष्णुविक्रम थापा र निमा लामाको सम्भावना बलियो रहेको बताइएको थियो। साविकका क्षेत्रका नेताहरुले टिकट नपाउँदा यहाँका कांग्रेस कर्याकर्ता रुष्ट बनेका हुन्। यसो त यही क्षेत्रका उम्मेदवारहरुको दाबेदारी कमजोर भएको उनीहरुको भनाई छ।

यता प्रदेश ख मा बस्नेतले अघिल्लो निर्वाचनमा वाम गठबन्धनको क्लिन स्विप रोकेका निमा लामालाई बाइपास गर्दै कृष्णकुमारलाई टिकट दिएका छन्। २०७४ को चुनावमा वडा सदस्यमा निर्वाचित कृष्णको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्र २ मा क्षेत्रीय सभापतिमा आइतमान तामाङसँग पराजित भएका थिए। कृष्ण मोहन निकट नेता हुन्। आइतमान भने सभापतिमा निर्वाचित हुँदै अहिले मेलम्ची नगरपालिकाका मेयर छन्।

बस्नेतलाई माओवादीबाट धोका हुने डर

क्षेत्र २ मा स्थानीय निर्वाचनको मतपरिणामले एमाले अगाडि देखिए पनि मिल्दा गठबन्धन नै अघि देखिन्छ। यसपटक बस्नेत बाढीपहिरोदेखि कोरोना कालमा पनि यो क्षेत्रमा राहत बाँड्न उत्रिएकाले कांग्रेसलाई फाइदा हुने देखिन्छ। यद्यपि अमनसिंहको एमाले प्रवेशले यो मतमा फरक आउने आँकलन पनि गरिएको छ। यता आफू यसअघि गठबन्धनमा विरोधमा उत्रिएकै कारण माओवादीले मत बिगार्लान् कि भन्ने डर मोहनबहादुरमा देखिन्छ। किनकि बस्नेतलाई विजय गराउन माओवादी र समाजवादीको भूमिका महत्वपूर्ण हुनेछ।

उम्मेदवारी दर्ताको क्रममा उनको अनुहारमा यो प्रष्टै झल्किन्थ्यो। यतिमात्र हैन उनले बोलीबाटै पनि आशंका व्यक्त गरे। 'कांग्रेस गठबन्धनका लागि टेस्टेड पार्टी हो, पहिले जिल्ला विकास समिति गठन गर्दा एमालेसँग गठबन्धन गरेको हो, त्यसमा हामीले इमानदार भएर सहयोग गरेकै थियो। दोस्रो राप्रपासँग एक भएर गयौं, त्यहाँ पनि हामीले सहयोग गरेको थियो,' उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग बस्नेतले भने, 'यो दुई गठबन्धनमा एमाले होस् या राप्रपा त्यस्तो इमानदार देखिएन। अब माओवादीसँग गठबन्धन गर्दै छौं, हेरौं उहाँहरु कत्तिको इमानदार हुन्छ?'

यसो त यहाँ सत्ता गठबन्धनका दुई जनाको बागी परेको छ। माओवादी नेता ध्रुव पराजुलीले यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन्। जनयुद्धकालमा अग्नि सापकोटाकै तहका नेता पराजुली साँगचोक गाउँ विकास समितिमा २०४९ मा अध्यक्षमा निर्वाचित नेता हुन्। त्यसो त उनकी छोरी जानुका पराजुली चौतारा साँगाचोक गढीकी पूर्व उपमेयर हुन्। पराजुली जिल्लादेखि केन्द्रसम्म अग्नि सापकोटाको परिवार छाए पछि पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका बसेका थिए। बस्नेत गुटका नेता बद्रीप्रसाद चौलागाईले पनि बागी उम्मेदवारी दर्ता गराएका छन्।

शेरबहादुरको उम्मेदवारीमा पनि असन्तुष्टि

योपटक गर्दा यस क्षेत्रमा एमालेबाट शेरबहादुरको चौथोपटक उम्मेदवारी परेको छ। यसअघि २०६४, २०७०, २०७४ मा उनले प्रत्यक्षतर्फ टिकट पाएका थिए। उनले २०७० र २०७४ मा जित हात पार्दै सांसद भए। यो पटक जित हात पारे उनको ह्याट्रिक हुनेछ।

यद्यपि एमालेका नेता कार्यकर्ता उनको उम्मेदवारीबाट सन्तुष्ट छैनन्। विकासका 'काम नगर्ने तर गफ बढी गर्ने' नेताका रुपमा शेरबहादुरलाई स्थानीय कार्यकर्ताले लिन थालेका छन्। ओली सरकारमा कानुनमन्त्रीसमेत बनिसकेका तामाङले यो क्षेत्रमा अन्य उम्मेदवारको विकल्प नहुँदा टिकट पाएको बताइन्छ। प्रदेश क मा अमनसिंहले टिकट पाएका कारण शेरबहादुर केही बलियो हुने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell