PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

अष्टमीको दिन तासमा हारजितको विषयमा विवाद : होटेल सञ्चालक र कर्मचारी मिलेर राति नै युवकको हत्या



पहिलोपोस्ट

अष्टमीको दिन तासमा हारजितको विषयमा विवाद : होटेल सञ्चालक र कर्मचारी मिलेर राति नै युवकको हत्या

काठमाडौं : दशैँको अष्टमीको दिन झापामा एक युवकको हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न एक जना फरार रहेको प्रहरीले जानकारी दिएको छ।

असोज १७ गते ताप्लेजुङ सिदिम्बा गाउँपालिका घर भएका २५ वर्षीय नवीन्द्र गुरुङको हत्या भएको खुलेको छ। १८ गते बिहान करिब साढे ६ बजे झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ नयाँ बसपार्क छेउमा रहेको प्लटिङ बाटोमा गुरुङको शव फेला परेको थियो।

घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गर्न सफल भएको हो। पक्राउ पर्नेहरूमध्ये इलाम नगरपालिका वडा नम्बर घर भएका ३८ वर्षीय इन्द्रबहादुर अधिकारी रहेका छन्। उनी झापामा रहेको ताप्लेजुङ इलाम होटेलका सञ्चालक समेत हुन्।

त्यस्तै, अर्का अभियुक्त पाँचथर फिदिम नगरपालिका वडा नम्बर १२ घर भएका ताप्लेजुङ इलाम होटेल एन्ड लजका स्टाफ वर्ष २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ गाउँपालिका वडा नम्बर ७ घर भएकी ताप्लेजुङ इलाम होटेल एन्ड लजका स्टाफ अमृत आचार्यकी श्रीमती वर्ष २३ कि विमला राई रहेकी छिन्।

घटनापछि फरार रहेका उनीहरूलाई गत बिहीवार प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो। असोज १७ गते ताप्लेजुङ इलाम होटेलको पहिलो तलामा होटेलका सञ्चालक इन्द्र अधिकारी, होटेलका स्टाफ अमृत आचार्य, नवीन्द्र गुरुङ र अर्का एक जना मानिसहरू तास खेल्न बसेको देखिएको छ।

मदिरा खाँदै उनीहरूले पैसा हारजित गर्ने उद्देश्यले तास खेलेका थिए। त्यसै क्रममा तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयलाई लिएर विवाद उत्पन्न भई झै-झगडा भएको थियो।

होटेल सञ्चालक अधिकारी, होटेलका स्टाफ आचार्य र अर्का फरार एक जना मानिस नवीन्द्र गुरुङलाई मसला पिस्न प्रयोग हुने लोहोरो र चक्कु समेतको प्रयोग गरी टाउकोको पछाडि पट्टिको भागमा प्रहार गरेका थिए। त्यही क्रममा उनको मृत्यु भएको थियो।

राति घटना ढाकछोप गर्ने मनसायले होटेलबाट नवीन्द्र गुरुङलाई होटेल सञ्चालक अधिकारी र अमृत आचार्यले बोकेर करिब १ सय ५० मिटर टाढा कान्तिपुर ड्राइभिङ सेन्टर अगाडिको प्लटिङ रहेको खाली जग्गामा लगेर फालिदिएका थिए।

घटनाको थप अनुसन्धान र फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell