PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

बाढी तथा डुबानबाट बाँकेमा आठ हजार बढी घरधुरी प्रभावित



रासस

बाढी तथा डुबानबाट बाँकेमा आठ हजार बढी घरधुरी प्रभावित
फाइल फोटो : राकेश कुमार मिश्र/रासस

राँझा : अविरल वर्षाका कारण बाँकेमा आठ हजार बढी घरधुरीमा बसोबास गर्ने जनता पीडित भएका छन्। जिल्लाका आठ स्थानीय तहका आठ हजार सात सय तीन घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्ष रुपमा प्रभावित भएको बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिए।

उनका अनुसार सबैभन्दा धेरै राप्ती सोनारी गाउँपालिकामा तीन हजार ५००, नरैनापुर गाउँपालिकामा दुई हजार छ सय ९६, डुडुवा गाउँपालिकामा एक हजार नौ सय ५०, खजुरा गाउँपालिकामा दुई सय ४९, नेपालगञ्ज उपमहानगरपालिकामा दुई सय २०, बैजनाथ गाउँपालिकामा ५०, जानकी गाउँपालिकामा २० र कोहलपुर नगरपालिकामा १८ घरधुरी पीडित भएका छन्।

बाढी तथा डुबानबाट आठ स्थानीय तहका एक सय ८१ घरधुरीमा पूर्ण क्षति र पाँच सय ९८ घरधुरीमा आंशिक क्षति हुनाका साथै एक हजार एक सय ४३ घरधुरी विस्थापित हुन पुगेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए।

आठ स्थानीय तहका बाढी पीडित ३७ वडाबाट दुई हजार एक सय ३१ जनाको उद्धार गरिएको छ। राप्ती नदीमा आएको बाढीका कारण राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाको तल्लो तटीय क्षेत्रका जनता डुबानमा परेका छन्।

उक्त गाउँपालिका-२ टिकुलीपुर गाउँका मात्रै चार सय ५० घरधुरीका मानिस विस्थापित भएको वडाध्यक्ष ज्ञानेन्द्र वलीले जानकारी दिए। बाढी पीडित स्थानीयवासीलाई जनकल्याण सामुदायिक भवनमा राखिएको छ। राप्तीमा पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell