PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

हिजाब जलाएपछि बेपत्ता भएकी १६ वर्षीया निकाको मृत्यु, साथीलाई भनेकी थिइन् : प्रहरीले मलाई खोजिरहेको छ



पहिलोपोस्ट

हिजाब जलाएपछि बेपत्ता भएकी १६ वर्षीया निकाको मृत्यु, साथीलाई भनेकी थिइन् : प्रहरीले मलाई खोजिरहेको छ
Photo : BBC PERSIAN SOURCE

इरानमा 'हिजाब क्रान्ति' हिंस्रक बन्दै गएको छ। देशका विभिन्न शहरहरुमा प्रदर्शनकारीहरुले सरकारको विरोध गरिरहेका छन् भने प्रहरीले विरोधमा उत्रेका महिलासहित पुरुषहरुलाई हातपात गर्ने र पक्राउ गरिरहेका छन्।

त्यसक्रममा १६ वर्षीय निका सकरामीको पनि मृत्यु भएको छ। इरानमा भइरहेको आन्दोलनको समर्थनमा उनले सेप्टेम्बर २० मा आफ्नो हिजाब जलाएकी थिइन्। त्यसपछि उनी बेपत्ता भएकी थिइन्। उनले आफ्ना साथीहरुलाई प्रहरीले पछ्याइरहेको बताएकी थिइन्।

केहीदिन अघि निकाको मृत्यु भएको पुष्टि भएको थियो। प्रहरीले उनको मृत्यु 'कन्सट्रक्सन साइट'मा कामदारहरुले गरेको हुन सक्ने बताएको छ। परिवारले भने प्रहरीले निकाको हत्या गरेको दाबी गरेको छ। अहिले निकाले हिजाब जलाइरहेको भनिएको भिडियोहरु सार्वजनिक भएका छन्।

निकाकी आमा नसरिनले भने आफ्नो छोरीको मृत्युको कारणबारे गलत तथ्य पेस गर्न आफूहरुलाई दबाब दिइएको बताएकी छिन्। प्रहरीले बहिनी अतास र भाइ मोहसनलाई नियन्त्रणमा लिएर दबाब दिएको उनको दाबी छ। आफ्नो भाइको चार वर्षको छोरालाई समेत प्रहरीले धम्काएको उनले बताएकी छिन्।

एक इरानी टेलिभिजनले आफ्नो छोरी भनेर देखाएको भिडियो गलत रहेको उनले बताएकी छिन्। सो भिडियोमा देखाइएको युवती निका नभएको उनले बताइन्।  

परिवारले निकाको शव उनी हराएको १० दिन पछिमात्रै फेला पारेका थिए। प्रहरीले परिवारका सदस्यहरुलाई निकाको अनुहार केही सेकेन्डमात्रै हेर्न दिएको थिए। निकालाई प्रहरीले पाँच दिन हिरासतमा लिएर जेलमा पठाएको परिवारको भनाइ छ।

नसरिनका अनुसार निका आन्दोलनको केही समय पछि नै बेपत्ता भएकी थिइन्। सो आन्दोलनका क्रममा निकासहितका महिलाले कपाल काट्नुका साथै हिजाब जलाएका थिए। 'डेथ टु डिक्टेटर' भन्दै आन्दोलनकारीहरुले इरानका सर्वोच्च नेता अतोल्लाह अलि खामेनीको विरोध गरेका थिए।

यो आन्दोलनका क्रममा मारिने निकामात्रै होइनन्। उनीसँगै आन्दोलनमा होमिएका कयौं युवतीहरु मारिएका छन्। २२ वर्षीया हदिस नजाफीको प्रहरीको गोली लागेर सेप्टेम्बर २१ मा मृत्यु भएको थियो। यस्तै, २३ सेप्टेम्बरमा प्रहरीले टाउकोमा लाठीले हानेपछि १६ वर्षीया सरिना इस्मेलजादेहको पनि मृत्यु भएको थियो। आन्दोलनका क्रममा २८ जना बालबालिकाको मृत्यु भएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको इरानी सोसाइटीले जनाएको छ। कयौं बालबालिकाहरु प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।   

इरानमा केही साताअघि अघि महशा अमिनिको निधन भएपछि प्रदर्शन भएको हो। उनलाई इरानको 'मोरालिटी पुलिस'ले पक्राउ गरेको थियो। हिजाबले कपाल छोप्नु पर्ने कानुन उल्लंघन गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले 'डिटेन्सन सेन्टर' पुर्‍याए लगत्तै उनी बेहोस भएकी थिइन्। त्यसपछि उनी कोमामा पुगेकी थिइन्।

प्रहरीले अमिनिको टाउकोमा लाठीले प्रहार गरेको र गाडीमा ठोक्काएको संयुक्त राष्ट्रसंघको कार्यवाहक मानवअधिकार कमिस्नर नडा अल नशिफले जनाएकी छिन्। तर, प्रहरीले भने सो दाबी अस्वीकार गरेको छ। प्रहरीले हृदयघातका कारण उनको निधन भएको जनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell