PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

काठमाडौंमा योजना बनाएर ताप्लेजुङको मनी ट्रान्सफरमा अष्ठमीको दिन लाखौँ रकम र सुन लुटपाट



पहिलोपोस्ट

काठमाडौंमा योजना बनाएर ताप्लेजुङको मनी ट्रान्सफरमा अष्ठमीको दिन लाखौँ रकम र सुन लुटपाट
फोटोः रासस

फुङ्लिङ : प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट ६ लाख १३ हजार तीन सय ४० र एक सय ४३ तोला सुन बरामद गरेको छ।

जिल्ला सदरमुकाम फुङ्लिङस्थित सो ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले असोज १७ गते नगद तथा सुन लुटेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले लुटपाटमा संलग्न चारजनामध्ये तीन जनालाई सोमवार राति पक्राउ गरिएको र  उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जानकारी दिए। पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका-२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापाको शिवसतासी नगरपालिका-१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका-१० का २५ वर्षीय मणिराज पर्तेल छन्।

फरार रहेका एक जनाको खोजी जारी रहेको प्रनाउ राईले बताए। उनीहरुको साथबाट नगद ६ लाख १३ हजार तीन सय ४० सहित एक सय ४३ तोला सुन बरामद गरिएको छ। बरामद गरेका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान (डोरी, कैचीलगायत सामग्री) सार्वजनिक गरेको छ।

मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको उल्लेख गरिएको छ। यसैगरी, हाल सुनको बजार भाउअनुसार तीन करोड ३९ लाख ९९ हजार ६ सय बराबरको तीन सय ४८ तोला सुन लुटपाट भएको जनाएका छन्।

पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भए/नभएकोबारे कागजात अनुसन्धान गर्न तयारी रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए। उनले भने, ‘सुन कारोबार (जाकट) इजाजत छ वा छैन, कागजात मागेका छौँ, अनुसन्धान हुन्छ।’

आरोपीले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए। लुटपाटमा संलग्न लागुपदार्थ सेवनकर्ता भएको प्रहरीले जनाएको छ। उनीहरूले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। आरोपितविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell