PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बाँकेमा वर्षाले सात हजार हेक्टर बढीको धान बालीमा पुर्‍यायो क्षति



रासस

बाँकेमा वर्षाले सात हजार हेक्टर बढीको धान बालीमा पुर्‍यायो क्षति
फोटो : राकेश कुमार मिश्र/रासस

नेपालगञ्ज : केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ। कृषि ज्ञानकेन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ।

अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा एक हजार छ सय ५० हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार चार सय ६० हेक्टर र खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिए।

त्यस्तै, वैजानाथ गाउँपालिकामा आठ सय ३० हेक्टर, कोहलपुर नगरपालिकामा सात सय ३० हेक्टर र जानकी गाउँपालिकामा नौ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानी बाली निरन्तर परेको वर्षाले डुबाएको छ।

‘अझै सबै स्थानीय तहको विस्तृत विवरण आएको छैन त्यसैले धान खेतीमा भएको क्षति बढ्न सक्छ,’ ज्ञान केन्द्रका निमित्त प्रमुख अहमदले भने।

उनले पानीसँगै आएको हावा र हुरीलेसमेत धान ढलेर अधिंकाश धान खेती पानीमा डुबेर क्षति भएको बताए। जिल्लामा स्थानीय किसानले उन्नत जातामा राधा ४ र विभिन्न हाइब्रिड जातका धान खेती गरेका छन्।

केही ठाँउमा धान खेतीलाई बाढीले पनि प्रभावित गरेको बताइएको छ। बाँकेमा कूल खेतीयोग्य जमिन ३५ हजार हेक्टर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell