
काठमाडौं : आउँदो मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ। उम्मेदवारी दर्तासँगै अहिले देशमा चुनावी माहोल छाएको छ। चुनाव नजिकिँदै गर्दा पार्टी र उम्मेदवारले पनि कलाकारहरूलाई भोट माग्न आग्रह गर्छन्।
यसै विषयमा कलाकार हरिवंश आचार्यले आफूबाट चुनाव प्रचारको आशा नराख्न आग्रह गरेका छन्। उनले फेसबुकमा एक स्टाट्स लेख्दै मतपत्रमा कुन चिह्न रोज्ने मतदाताको स्वविवेकलाई सम्मान गर्न समेत उल्लेख गरेका छन्।
‘कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन्। कतिसँग गहिरो मित्रता हुन्छ। कतिसँग नाता गाँसिएको हुन्छ। देशमा जब निर्वाचन नजिकिन्छ। त्यसबखत ती मित्रता, ती नाता र आत्मीय सम्बन्ध गाँसिएका व्यक्तिहरू निर्वाचनमा उमेदवार बन्छन्। त्यसबखत हामीसँग केही आशा राख्नु स्वभाविक हो, मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागिदेला भनेर’, उनी लेख्छन्, ‘तर, हामी सबै राजनितिक दल, सबै उम्मेदवारका साझा मानिस हौँ। ब्यालेट बक्समा खसाल्ने मतपत्रको कुन चिह्न रोज्ने भन्ने कुरा स्वविवेक हो।’
कसैको पक्षमा भोट माग्न र कसैको प्रचारक बन्न नसकिने हरिवंशले फेसबुकमा उल्लेख गरेका छन्।
‘कसैको पक्षमा भोट माग्न ,कसैको प्रचारक हुन सकिँदैन, यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता ,आत्मियता, नातालाई पवित्र नै राखेर चुनावमा हामीबाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु,’ उनले लेखेका छन्।