PahiloPost

Jul 3, 2024 | २० असार २०८१

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न, आज मूर्ति पुजारीघरमा लगिने



रासस

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न, आज मूर्ति पुजारीघरमा लगिने

काठमाडौं : काठमाडौं महानगरपालिका-५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सम्पन्न गरिएको छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ। जात्राका क्रममा सोमवार हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको पूर्व वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए।

तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस क्षेत्रको प्राचीन जात्रा मानिन्छ। देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो।

चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गा राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो। गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीन नारायणका नाममा गुठी जग्गा राखिएको छ।

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो। चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ : एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहेका यज्ञनाथ आचार्यले बताए।

जात्राका क्रममा बुधवार मूर्तिलाई पुजारी घरमा राखिन्छ। यसपछि यो जात्रा समाप्त हुन्छ। कात्तिक कृष्ण प्रतिपदादेखि तृतीयासम्म यस क्षेत्रमा कहीँ नभएको जात्रा गर्ने चलन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell