
वीरगंजः पर्सा क्षेत्र नम्बर ३ (ख) मा सत्ता गठबन्धनबीच आधिकारिक उम्मेदवारको विषयमा विवाद भएको छ। प्रदेश सभाको उक्त क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवारी परेपछि विवाद भएको हो। दुबै दलले आ-आफ्ना उम्मेदवारलाई आधिकारिक भएको दाबी गरेका छन्।
उक्त क्षेत्रमा कांग्रेसबाट जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीले मनोनयन दर्ता गराए। यस्तै गठबन्धनकै अर्को दल एकीकृत समाजवादीका प्रह्लाद गिरीले पनि उम्मेदवारी दर्ता गरे।
कांग्रेस उम्मेदवार क्षेत्रीले गठबन्धनको आधिकारिक उम्मेदवार आफू भएको दाबी गरे।
‘दुबै जनाको उम्मेदवारी परेको छ। जिल्लाका गठबन्धनका नेताहरुले बैठक बसेर टुंगो लगाउने कुरा छ,' क्षेत्रीले भने।
एकीकृत समाजवादीका उम्मेदवार गिरीले पनि आफू आधिकारिक भएको दाबी गरे।
उनले भने, ‘जिल्ला तहका नेताहरुले बसेर छलफल गर्न भनेका छन्। हेरौँ के हुन्छ। म पनि छोड्न सक्दिनँ।'
२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका गिरी लोसपा हुँदै केही महिना अघिमात्रै एमालेमा प्रवेश गरेका थिए। टिकट नपाएपछि उनी समाजवादी प्रवेश गरेर मनोनयन दर्ता गरेका हुन्।