बैतडी : पहिरोले बैतडीका चार घर र एक विद्यालयमा क्षति पुर्याएको छ। लगातारको वर्षाका कारण खसेको पहिरोले जिल्लाको सुर्नया गाउँपालिका-७ बान्नी टोलका रामबहादुर कुँवर र हर्कबहादुर कुँवरका छ/छ कोठे घर भत्किएका हुन्।
घर माथिबाट खसेको पहिरोले घर भत्किएको हो। पहिरोले मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
यस्तै, पत्थरले छाएका घर भत्किँदा गोठमा बाँधेका पशुचौपाया घाइते भएको बताइएको छ। पहिरोले घर भत्किँदा गोठमा बाँधेका दुई भैँसी, दुई गाई र १० बाख्रा पनि घाइते भएका जनाइएको छ। पहिरोले घर भत्किएर विस्थापित परिवार आफन्तको आश्रयमा बसेका स्थानीय लोकबहादुर कुँवरले जानकारी दिए।
पहिरोकै कारणले सिगास गाउँपालिका-५ हरडाखानीका रामसिंह धामी र प्रेमसिंह धामीको घरमा पहिरोले क्षति पुर्याएको छ।
स्थानीय पद्म साउँदका अनुसार पहिरोले दुवै जनाको घर पूर्णरूपमा क्षति भएको छ। पहिरोले घर भत्काएपछि अहिले धामी परिवार छिमेकीको शरणमा बस्दै आएका छन्।
वर्षाका कारण एक विद्यालय भवन पनि भत्किएको छ। पाटन नगरपालिका-३ बुङ्डास्थित सिगास आधारभूत विद्यालयको तीन कोठे भवन भत्केको हो।
वर्षाकै कारण घरको आँगनबाट पहिरो जाँदा दोगडाकेदार-४ ढाणका अम्बादत्त भट्टको घर जोखिममा परेको खोचलेक प्रहरी चौकीका इन्चार्ज मानसिंह पन्तले बताए।
यस्तै, दोगडाकेदार-३ कलौनामा पहिरोले खेत बगाएको छ। पाँच दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित बनेको छ।