PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लुम्बिनीका पाँच निर्वाचन क्षेत्रमा भिड्दैछन् एमालेका यी पूर्व सहकर्मी



रमेश पराजुली

लुम्बिनीका पाँच निर्वाचन क्षेत्रमा भिड्दैछन् एमालेका यी पूर्व सहकर्मी

बुटवल : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशका पाँचवटा निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का पूर्व सहकर्मीहरूबिच नै प्रतिस्पर्धा हुने भएको छ। चुनावी मैदानमा पूर्व सहकर्मीहरु नै प्रतिस्पर्धी बनेर आएपछि निर्वाचन थप रोचक हुने देखिएको हो।

गत आइतवार उम्मेदवारहरुले मनोनयन दर्ता गरेसँगै जिल्ला र क्षेत्रमा समेत चुनावी सरगर्मी बढेको छ। सबै दल र उम्मेदवार निर्वाचनको तयारीमा जुटिसकेका छन्।

रुपन्देही १ मा छविलाल र घनश्याम भिड्दै

रुपन्देहीको क्षेत्र नम्बर १ मा छविलाल विश्वकर्मा र घनश्याम भुसालबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ। विश्वकर्मा नेकपा (एमाले)का उम्मेदवार हुन् भने एमाले परित्याग गरेका वामपन्थी नेता भुसालले सत्ता गठबन्धनको समर्थनमा स्तवन्त्र उम्मेदवारी दिँदै चुनावी मैदानमा होमिएका छन्। एमाले स्थायी कमिटी सदस्यसमेत रहेका भुसालले गत शनिवार एमाले परित्याग गरेका थिए।

२०७४ मा पनि यहाँ एमालेबाट विश्वकर्मानै उम्मेदवार थिए। उनले कांग्रेस नेता अब्दुल रज्जाकलाई पराजित गरेका थिए भने २०७० सालमा तिनै विश्वकर्मालाई रज्जाकले हराएका थिए। २०७४ मा विश्वकर्माले ३४ हजार ७५२ मत ल्याएर विजयी हुँदा रज्जाकले २६ हजार ८६५ मत पाएका थिए। विश्वकर्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन्।

भुसाल २०७४ मा रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेबाट चुनाव लडेका थिए। राप्रपाका नेता बोहोरा र भुसालबिच प्रतिस्पर्धा हुँदा भुसालले फराकिलो मतान्तरले जितेका थिए। भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए।

आगामी निर्वाचनमा विश्वकर्मालाई राप्रपाले पनि साथ दिनेछ। २०७४ मा प्रदेश सभातर्फ वाम गठबन्धनबाट विजयी भएका तत्कालीन माओवादीका दधिराम न्यौपाने नेकपा विभाजनपछि नेकपा (माओवादी केन्द्र)मा नगई एमालेमै थिए।

भुसालले भने आफ्ना व्यक्तिगत मतसहित अन्य दलको भरमा निर्वाचनमा होमिने निर्णय गरेका छन्। सत्तारुढ प्रमुख दल कांग्रेससँगै माओवादी केन्द्र तथा नेकपा (एकीकृत समाजवादी)को मत पाएमात्रै उनले जित निकाल्नेछन्।

रुपन्देही २ मा विष्णु पौडेलसँग राजु गुरुङ भिड्दै

रुपन्देहीको क्षेत्र नम्बर २ एमाले उपाध्यक्ष विष्णु पौडेल र राजु गुरुङबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ। लगातार तीनवटा चुनाव जितेका पौडेलसँग योपटक चुनावी मैदानमा पूर्व सहकर्मी गुरुङ प्रतिस्पर्धी बनेर आएका छन्।

सत्ता गठबन्धनका उम्मेदवार गुरुङ एकीकृत समाजवादीका रूपन्देही इञ्चार्ज एवं प्रदेश सचिव हुन्। लुम्बिनी प्रदेशको अस्थायी मुकामसमेत रहेको बुटवल रुपन्देही २ नम्बर क्षेत्रमा पर्छ। यो क्षेत्र हरेक निर्वाचनमा चर्चामा रहने गर्छ। पौडेलले २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका छन्।

गुरुङ समाजवादीबाट उम्मेदवार बने पनि नेपाली कांग्रेस र माओवादी केन्द्रको मत पाएमात्रै उनले जित निकाल्नेछन्। गुरुङ नेता झलनाथ खनाल निकट मानिन्छन्।

यहाँ एकीकृत समाजवादीको मतभार निकै कम छ। माओवादी केन्द्र पनि कमजोर छ तर कांग्रेस केही बलियो देखिन्छ। हालै एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बुटवलका नेता बालकृष्ण चापागाईं एमालेमा फर्किएपछि समाजवादी थप कमजोर बनेको छ।

स्थानीय निर्वाचनको मत परिणाम हेर्दा यहाँ गठबन्धन दल बलियो देखिएको छ। यो क्षेत्रमा पौडेलका प्रतिस्पर्धी हरेक निर्वाचनमा फेरिदै आएका छन्।

२०७४ सालमा पौडेलले कांग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए। पौडेलले ४४ हजार ९ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी गिरीले २१ हजार ९४६ मत पाएका थिए। पौडेलले २०६४ मा माओवादीका भक्ति पाण्डे, २०७० मा डा बाबुराम भट्टराईलाई पनि यो क्षेत्रमा पराजित गरेका थिए।

गुल्मी २ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबिच प्रतिस्पर्धा

गुल्मी क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजजादीकी सचिव रामकुमारी झाँक्रीबिच प्रतिस्पर्धा हुने भएको छ। २०७४ सालको निर्वाचनमा कांग्रेसका चन्द्र केसीलाई पराजित गरेर विष्ट यो क्षेत्रबाट विजयी भएका थिए। उनले ३४ हजार ६ सय मत पाप्त गरी विजयी हुँदा केसीले २० हजार १ सय मत पाएका थिए।

विद्यार्थी राजनीतिबाट आएकी झाँक्रीले २०७४ मा एमालेबाटै प्रत्यक्ष चुनाव लड्न टिकट मागेकी थिइन्। तर, विष्टले टिकट पाएपछि उनी समानुपातिकबाट सांसद बनेकी थिइन्।

एमाले विभाजन भएपछि झाँक्री एकीकृत समाजवादीमा गएकी हुन्। यस क्षेत्रमा एकीकृत समाजवादी एमाले भन्दा कमजोर छ। पछिल्लो समय उनले आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएकी छन्।

२०६४ सालमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा (सागर)सँग थोरै मतान्तरले पराजित हुनुबाहेक विष्टले २०५६ सालदेखि निरन्तर यो क्षेत्रमा चुनाव जित्दै आएका छन्। उनी जिल्लामा लोकप्रिय छन्।

पाल्पा २ मा सोमप्रसाद पाण्डेसँग ठाकुर गैरे भिड्दै

पाल्पाको क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष समेत रहेका सोमप्रसाद पाण्डे र एमाले नेता ठाकुर गैरेबिच प्रतिस्पर्धा हुने भएको छ। २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका पाण्डेले ३४ हजार ८९९ मत ल्याएर विजयी हुँदा कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५५ मत पाएका थिए।

एमाले विभाजन भएपछि भने उनी एकीकृत समाजवादीमा गएका हुन्। यस क्षेत्रबाट लगातार निर्वाचन लड्दै आएका पाण्डे समाजवादीमा गएपछि गैरेले एमालेबाट टिकट पाएका हुन्। गैरे एमाले पाल्पा इन्चार्जसमेत हुन्।

२०५१ देखि लगातार निर्वाचनमा प्रतिस्पर्धा गरेका पाण्डेले २०६४ सालको बाहेक चारवटै निर्वाचन जितेका छन्। गैरे पछिल्लो समय जिल्लामा सक्रिय छन्।

दाङ १ मा मेटमणि चौधरीसँग शान्ता चौधरीको प्रतिस्पर्धा

दाङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरी र एमालेकी शान्ता चौधरीबिच प्रतिस्पर्धा हुने भएको छ। मेटमणी २०७४ को निर्वाचनमा सोही क्षेत्रमा एमालेबाट विजयी सांसद हुन्। एमाले विभाजनपछि उनी समाजवादीमा गएका हुन्।

२०७४ मा मेटमणिले ३७ हजार ९०८ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन्। एमालेको तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सभासद् बनेकी शान्ता दोस्रो निर्वाचनमा भने पराजित भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell