
वीरगंज : बारामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १८६ जनाको उम्मेदवारी परेको छ। जसमा ८४ जना स्वतन्त्र उम्मेदवार छन्।
बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा आठ जनाको उम्मेदवारी परेको छ भने त्यसमध्ये छ जना स्वतन्त्र छन्। यो क्षेत्रबाट प्रदेशसभा (क)मा १३ जना र (ख)मा १५ जना गरी २८ जनाको उम्मेदवारी परेको छ। दुवैमा गरी प्रदेशसभामा १४ जना स्वतन्त्र उम्मेदवार छन्।
क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा १५ जनाको उम्मेदवारी परेको छ, जसमा नौ जना स्वतन्त्र छन्। प्रदेशसभाका लागि क्षेत्र नम्बर (क) र (ख) बाट ३२ जनाको उम्मेदवारी परेको छ भने त्यसमध्ये २० जना स्वतन्त्र रहेका छन्।
यसैगरी, क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा पाँच जना स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्रको प्रदेशसभा सदस्यमा (क) र (ख)बाट २७ जनाले उम्मेदवारी दर्ता गराएकोमा १० जना स्वतन्त्र उम्मेदवार छन्।
यता, क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा २० जनाले उम्मेदवारी दर्ता गरेका छन्, जसमध्ये १० जना स्वतन्त्र छन्। यो क्षेत्रबाट प्रदेशसभा (क) र (ख)मा १० जना स्वतन्त्रसहित २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
पर्साको तुलनामा बारामा दलगत प्रतिनिधित्व बढी देखिएको छ भने स्वतन्त्र उम्मेदवारी थोरै मात्र देखिएको छ। १०२ जना दलबाट उम्मेदवार छन् भने ८४ जना स्वतन्त्र उम्मेदवार छन्।
बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका उमाकान्त चौधरी उम्मेदवार छन् भने एमाले-जसपा गठबन्धनबाट एमालेका अच्युत प्रसाद मैनाली उम्मेदवार छन्। क्षेत्र नम्बर १ को (क)बाट प्रदेशसभामा सत्तारूढ गठबन्धनतर्फ कांग्रेसका रमेश प्रसाद दङाल र एमाले-जसपाबाट एमालेका त्रिलोकी चौधरीलगायतको उम्मेदवारी परेको छ।
यसैगरी, (ख)मा सत्तारूढ गठबन्धनतर्फ कांग्रेसका नागेन्द्र साह कानू र जसपा-एमालेतर्फ जसपाका सरोज कुमार यादवलगायत उम्मेदवार छन्। यो क्षेत्रमा सत्तारूढ गठबन्धनबाट नेकपा (एस)का बतहुराय यादवले उम्मेदवारी दर्ता गराएका छन्।
बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा सत्तारूढ गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र)का शिवचन्द्र प्रसाद कुशवाहा र जसपा-एमाले गठबन्धनतर्फ जसपाका रामसहाय यादव उम्मेदवार छन्। क्षेत्र नम्बर २ को (क)मा लोसपाका मोतीलाल प्रसाद र जसपा-एमाले गठबन्धनतर्फ बलवीर चौधरी उम्मेदवार छन्। क्षेत्र नम्बर २ (ख)मा सत्तारूढ गठबन्धनका रामअयोध्या यादव र जसपा-एमाले गठबन्धनतर्फ जसपाका बच्चाराउत अहिर उम्मेदवार छन्।
क्षेत्र नम्बर ३ मा सत्तारूढ गठबन्धनबाट लोसपाका लालबाबू सिंह भुमिहार र जसपा-एमाले गठबन्धनबाट ज्वालाकुमारी साह उम्मेदवार छन्। यो क्षेत्रबाट प्रदेशसभा (क)मा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका मुकेश साह र जसपा-एमाले गठबन्धनबाट रवीन्द्रदास श्रेष्ठ उम्मेदवार छन्। (ख)मा भने सत्तारूढ गठबन्धनका जयचन्द्रप्रसाद चौरसिया र एमालेबाट महम्मद समीर र जसपाबाट पारसप्रसाद साहले पनि उम्मेदवारी दर्ता गराएका छन्।
क्षेत्र नम्बर ४ को प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ र एमाले-जसपा गठबन्धनबाट एमालेका एकबाल मियाँले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नम्बर ४ (क)को प्रदेशसभामा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ र एमाले-जसपा गठबन्धनबाट एमालेका देवनारायण थारूले उम्मेदवारी दर्ता गराएका छन्। (ख)मा सत्तारूढ गठबन्धनबाट लोसपाका जितेन्द्र प्रसाद सोनार (सोनल) र एमाले-जसपा गठबन्धनबाट जसपाका आत्माराम प्रसाद साहले उम्मेदवारी दर्ता गराएका छन्।
बाराको चारवटा क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा जनमत पार्टी, विवेकशील साझा पार्टी, नेपाली कांग्रेस विपी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील, राप्रपा, हाम्रो नेपाल, राप्रपा नेपाल, नेपाल लोकतान्त्रिक, नेपाल सद्भावना पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका राजनीतिक दलबाट उम्मेदवारी परेको छ।