
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका कांग्रेस नेता प्रदीप पौडेलले पूर्व सांसद नरहरि आचार्यसँग भेट गरेका छन्। बुधवार बिहान भएको भेटका क्रममा आचार्यले पौडेललाई जितको शुभकामना दिएका छन्।
सो भेटका क्रममा यही क्षेत्रबाट सांसद बनेका आचार्यले यसपटक मतदाताले पौडेललाई मत दिने विश्वास आफूमा रहेको बताएका थिए। यस क्षेत्रका नागरिक विवेकशील रहेको उल्लेख गर्दै आचार्यले पौडेलको जित हुने दाबी गरेका हुन्।
‘काठमाडौं क्षेत्र नम्बर ५ का आम नागरिक विवेकशील, निस्ठावान र सचेत छन्। परिवर्तनको पक्षमा, सत्यको पक्षमा, विवेकपूर्ण न्यायको पक्षमा समर्पित यस क्षेत्रका बासिन्दा कार्यभारको नेतृत्व तिमीलाई सुम्पनेछन् भन्ने कुरामा विश्वस्त छु,’ भेटका क्रममा आचार्यले भने।
उनले जनचाहना अनुरुप स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधै नागरिकको पक्षमा अडिग रहेर अगाडि बढ्न पनि पौडेललाई सल्लाह दिएका थिए।
यस क्षेत्रमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी मैदानमा छन्। पौडेल अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका थिए।