
काठमाडौं : चर्चित टेलिश्रृंखला हिजोआजका कुरा अब ठूलो पर्दामा प्रदर्शन हुँदैछ। असोज २८ गते प्रदर्शनमा आउने यो फिल्मको टोली अहिले प्रचारप्रसारमा व्यस्त छ।
फिल्मको निर्देशन कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले गरेका हुन्। सानै उमेरमा बुवासँग हिजोआजका कुराको सेटमा पुगेका साकारले नै अहिले आफ्नै बुवालाई निर्देशन गरेका छन्।
साकार सानोछँदा देखि नै आफ्नो पारिवारिक माहोल फिल्मी भएको भन्दै अहिले आएर फिल्म निर्देशन गर्न पाउँदा खुशी लागेको बताउँछन्। आफ्नो बुवाले बनाएको 'ब्रान्ड'लाई अघि बढाउन चाहेको बताए।
'मेरो घर नै स्टुडियो जस्तो थियो। सानै हुँदाहुँदै एक्सन भन्ने बानी परेको थियो। त्यसैले बुवाछोराको सम्बन्ध एकठाउँमा छ। सेटमा गएपछि म निर्देशक थिएँ। काम गर्न गाह्रो भएन। तर बुवासँगै हुनुहुँदा मबाट केही गल्ती भइरहेको छ कि भनेर म सोचिरहँन्थे,' उनले भने।
उता सन्तोष पन्तले भने छोराको निर्देशनमा काम गर्न पाउँदा आफूलाई गर्व महसुस भएको बताए।
'जीवन सफल भयो। अब यसले गरिखान्छ भन्ने भयो। हिजोसम्म साकार पन्त सन्तोष पन्तको छोरा थियो। अब म साकारको बुवा भनेर चिन्न चाहन्छु,' सन्तोष पन्तले भने।
आफूले साकारको निर्देशनमा हस्तक्षेप नगरेको बताउँदै सन्तोषले भने, 'कहिँ गल्ती गर्छ कि भनेर हेरिरहे। तर मलाई गल्ती पत्ता लगाउने अवसर नै उसले दिएन।'
सन्तोष पन्तले फिल्ममा अहिले नेपाल समाजमा देखिएका घटनाहरुलाई कथा बनाएको बताए।
'हिजोआजको कुरामा पनि हामी समसामयिक कथा पेस गर्थ्यौं। अहिले फिल्ममा पनि त्यही हो,' उनले भने। उनले युवा, वयस्क र वृद्ध उमेर समूहको कथा फिल्ममा रहेको भन्दै यो फिल्मलाई टेलिश्रृंखला जस्तै माया गर्नेमा आफू विश्वस्त रहेको बताए।