PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

उमेर ७० पारी तर अझै उम्मेदवारी : चुनावमा तन्नेरीभन्दा बुढा बलिया!



प्रकाश भण्डारी

उमेर ७० पारी तर अझै उम्मेदवारी : चुनावमा तन्नेरीभन्दा बुढा बलिया!

काठमाडौं : मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि २५ देखि ९९ वर्षसम्मका व्यक्तिले उम्मेदवारी बनेका छन्। पाको उमेर समूहबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराउनेमा ७० वर्षभन्दा माथि उमेरका मात्रै ८० जना छन्। राजनीतिक दलका अधिकांश शीर्ष नेता ७० वर्ष माथिका छन्। सत्ता गठबन्धन र एमालेको नेतृत्वमा रहेको गठबन्धनका शीर्ष नेताहरुको जित्ने सम्भावना पनि प्रतिनिधि सभामा बढी रहेको बताइन्छ अरु युवा उमेर समूहका दलका तथा स्वतन्त्र उम्मेदवारको भन्दा। शीर्ष नेताहरु उम्मेदवार रहेको ठाउँमा विपक्षी दलले कमजोर उम्मेदवार उठाएपछि उनीहरुको जित्ने सम्भावना बलियो बनेको हो। 

सय वर्ष पुग्नै लाग्दा पनि उम्मेदवार

मंसिर ४ को निर्वाचनमा सबैभन्दा पाका उम्मेदवार हुन् टिकादत्त भट्ट। गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट ९९ वर्षका भट्टले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस (बीपी)बाट उम्मेदवार बनेका भट्टले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सामना गर्नुपर्ने छ। उक्त निर्वाचन क्षेत्रमा सबैभन्दा बलियो उम्मेदवारका रुपमा लिइन्छ प्रचण्डलाई।

उनलाई एकातिर पाँच दलीय गठबन्धनको साथ छ भने अर्कोतिर पूर्व माओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको समर्थन छ। भट्टराईले आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई सुम्पिएर उम्मेदवार नहुने घोषणा गरेका थिए। जित्न सजिलो हुने भएपछि चितवनबाट प्रचण्ड गोरखा पुगेको गठबन्धनका नेताहरु बताउँछन्। यसरी पाको उमेरमा चुनाव लड्ने शीर्ष नेतामै पर्छन् पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि। ७२ वर्षको उमेरमा उनले इलाम-१ बाट उम्मेदवारी दर्ता गरेका छन्। गठबन्धनको साथ भएकाले खनालको पनि हार्ने सम्भावना कम भएको बताइन्छ। 

खनालमात्रै होइन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रतिनिधि सभामा ७० वर्षको उमेरमा झापा ५ बाट उम्मेदवार छन्। उनले पनि राप्रपासँग गठबन्धन गरेर आफ्नो जितलाई सुनिश्चित गर्ने रणनीति बनाएका छन्। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको उमेर पनि ७२ वर्ष भयो। उनी पनि झापा ३ बाट उम्मेदवार छन्। मोरङ ६ बाट कांग्रेस नेता शेखर कोइराला ७२ वर्षको उमेरमा
उम्मेदवार छन्। परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता नारायण खड्का पनि बुढ्यौली उमेरमा चुनावी दौडमा छन्। ७३ वर्षका खड्का उदयपुर १ बाट उम्मेदवार छन्।

पर्सा १ बाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का ७५ वर्षका नेता लक्ष्मणलाल कर्ण उम्मेदवार छन्। तनहु १ बाट ७८ वर्षका रामचन्द्र पौडेल उम्मेदवार बन्दा बागलुङ १ बाट ८० वर्षका चित्रबहादुर केसी उम्मेदवार छन्। त्यसो त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७७ वर्षको उमेरमा डडेलधुरा-१ बाट उम्मेदवार छन्। अहिलेसम्मका चुनावमा पराजित नभएका देउवालाई यसपाला पनि पाँच दलीय गठबन्धनको साथ छ।  

६०-७० वर्षका यी बलिया नेता 

६० वर्षभन्दा माथि र ७० वर्ष मुनिका ३ सय ७४ जनाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। जसमा प्रचण्डदेखि कांग्रेस नेता प्रकाशमान सिंहसम्म छन्। प्रचण्ड ६६ वर्षको उमेरमा गोरखा २ बाट उम्मेदवार बन्दा सिंह ६६ वर्षकै उमेरमा काठमाडौं १ बाट उम्मेदवार छन्। २०७४ मा पनि चुनाव जितेका सिंहलाई यसपटक पाँच दलको समेत समर्थन छ।

एमालेका नेता सुवास नेम्वाङले ६९ वर्षको उमेरमा इलाम २ बाट उम्मेदवारी दिएका छन्।  माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल मोहोत्तरी १ बाट ६५ वर्षमा चुनावी मैदानमा छन्। पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि ६०-७० वर्षकै उमेर समूहका नेता हुन्।  नेपाल रौतहट १ बाट ६९ वर्षको बुढो उमेरमा चुनावी प्रतिस्पर्धामा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशम्शेर राणा ६१ वर्षको उमेरमा बाँके २ बाट चुनावी मैदानमा छन्।

तन्नेरी की बुढा? 

चुनावका बेलामा कति वर्ष सम्मलाई युवा भन्ने भन्नेबारे बहस हुने गरेको छ। ५०-६० वर्षसम्मका नेताले पनि आफूलाई युवा नेता नै भनेर दाबी गरेपछि युवा नेताहरुबारे चर्चा हुने गरेको हो। यस्तो उमेर समूहमा पर्नेमा प्रतिनिधिसभाका ६ सय ३४ जना उम्मेदवार छन्। एमालेका नेता योगेश भट्टराईदेखि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उक्त उमेर समूहका चिनिएका अनुहार हुन्। ५६ वर्षका भट्टराई ताप्लेजुङ १ बाट र ५६ वर्षकै शर्मा झापा १ बाट प्रतिनिधि सभाको चुनावी मैदानमा छन्।

एमालेका विशाल भट्टराई ५३ वर्षमा खोटाङ १ बाट र पूर्व माओवादी र निवर्तमान एमालेका नेता प्रभु साह ५१ वर्षको उमेरमा रौतहट ३ बाट
उम्मेदवार छन्। पूर्व प्रहरी महानिरीक्षक तथा नेकपा एमालेका नेता सर्वेन्द्र खनाल पनि यो समूहमा चिनिएका उम्मेदवार हुन्। ५६ वर्षका खनाल  काठमाडौं ६ बाट चुनावी भिडन्तमा उत्रिएका छन्।   

जहाँ स्वतन्त्र धेरै छन्

प्रतिनिधिसभा सदस्य हुन चाहनेमा ४० देखि ५० वर्षका नेता र स्वतन्त्रहरु धेरै छन्। राजनीतिक दलबाट भन्दा यस्ता उम्मेदवारको संख्या स्वतन्त्रबाट उम्मेदवार हुनेहरुको छ। ७ सय ३१ जना यो उमेर समूहका चुनावी प्रतिस्पर्धी छन्। ४४ वर्षकी ओनसरी घर्ती काठमाडौं २ बाट माओवादी केन्द्रकी उम्मेदवार बनेकी छिन् भने उनको साथमा पाँच दलीय सत्ता गठबन्धन पनि छ।

गठबन्धनकै तर्फबाट कांग्रेसका नेता प्रदिप पौडेल ४७ वर्षको उमेरमा काठमाडौं ५ मा उम्मेदवार छन्।  नेपाल कांग्रेसका महान्त्री गगन थापा ४६ वर्षको उमेरमा काठमाडौं ४ मा उम्मेदवार छन्। उनले आफू प्रधानमन्त्रीको उम्मेदवारसमेत भएको घोषणा गरिसकेका छन्। एकातिर सत्ता गठबन्धनको साथ छ भने अर्कोतिर युवा अनुहार भनेर थापाले आफूलाई ब्राण्डिङ गरिरहेका छन्।

३० देखि ३९ वर्ष सम्मका ५ सय ५५ जनाले यसपटक उम्मेदवारीका लागि मनोनयन गराउँदा २५ देखि २९ सम्मका १ सय ६३ जनाले मात्रै चुनावमा उत्रिन मनोयन गरेका छन्। उम्मेदवार बन्नका लागि २५ वर्ष उमेर पुरा भएको हुनुपर्ने व्यवस्था छ। त्यसैले २५ वर्षभन्दा कम उमेरकाले उम्मेदवारी दर्ता गर्न पाएनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell