PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

गुल्मी र अर्घाखाँचीमा चार-चार जनाले लिए उम्मेदवारी फिर्ता



पहिलोपोस्ट

गुल्मी र अर्घाखाँचीमा चार-चार जनाले लिए उम्मेदवारी फिर्ता

बुटवलः गुल्मी र अर्घाखाँचीमा चार-चार जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। गुल्मीमा स्वतन्त्रबाट उम्मेदवारी दिएका चार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रतिनिधि सभाका एक र प्रदेश सभाका तीन जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गुल्मी १ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल, गुल्मी १ कै प्रदेश सभा (क) मा उम्मेदवारी दिएका किरण शाह, (ख) मा उम्मेदवारी दिएका रामचन्द्र कँडेल र क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवारी दिएका नरेन्द्रबहादुर अर्यालले उम्मेदवारी फिर्ता लिएका हुन्।

कांग्रेस निकट युवाहरुको संगठन नेपाल तरुण दल, क्षेत्र नम्बर १ को सभापति रहेका भुसालले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका डा. चन्द्र भण्डारीविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए।

प्रतिनिधि सभातर्फ गुल्मी १ मा १० जना, प्रदेश सभा (क) मा १० र (ख) मा ११ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिए।

त्यस्तै, गुल्मी २ मा १३ जना, प्रदेश सभा (क) मा १० जना (ख) मा ८ जना को उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैबीच अर्घाखाँचीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुरकुमार विकसहित चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। विकले प्रदेश सभा (क) मा गठबन्धनबाट उम्मेदवारी दिएका थिए।

सो क्षेत्रमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसी गठबन्धनका साझा उम्मेदवार बनेका छन्। प्रदेश सभा (क) मा केसी र (ख) मा जीवलाल पौडेलले उम्मेदवारी दर्ता गराएका थिए। विकले उम्मेदवारी फिर्ता लिएर केसीलाई समर्थन गरेका हुन्।

राजमोले प्रतिनिधि सभा सदस्यमा पशुपति ढकाललाई उम्मेदवार बनाएको थियो। ढकाल र पौडेलले पनि फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन्। त्यस्तै, प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवार महेश पन्थले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell