
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी' को खेलमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब इन्टर मिलानसँग बराबरीमा रोकिएको छ। घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोना इन्टरमिलानसँग ३-३ गोलको बराबरीमा रोकिएको हो।
खेलको ४० औं मिनेटमा ओस्माने डेम्बेलेको गोलमा अग्रता बनाएको बार्सिलोना पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा इन्टरका निकोल बरेलाले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले ५० औं मिनेटमा गोल गर्दा लौटरो मार्टिनेजले ६३ औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। यता बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै ८२ औं मिनेटमा खेल बराबरीमा ल्याए। ८९ औं मिनेटमा रोबिन गोसेनको गोलमा इन्टरले फेरि अग्रता बनायो। तर, इन्ज्युरी समयमा लेवान्डोस्कीले नै फेरि गोल फर्काउँदा खेल ३-३ गोलको बराबरीमा रोकियो।
गएराति नै सम्पन्न समूह 'सी' कै अर्को अर्को खेलमा जर्मन क्लब बार्यन म्युनिखले चेक क्लब भिक्टोरिया प्लजेनमाथि ४-२ गोलअन्तरले जित निकाल्यो। बायर्नको जितमा लियोन गोरेट्जकाले दोहोरो गोल गर्दा थोमस मुलर र साडियो मानेले समान १ गोल गरे। बायर्नले सबै गोल पहिलो हाफमा गरेको थियो। दोस्रो हाफमा भिक्टोरियाको तर्फबाट आडम भल्कानोभा र जन क्लिमेन्टले गोल फर्काए।
योसँगै ४ खेल खेल्दा १३ गोल गरेर शतप्रतिशत जित निकालेको बायर्न १२ अंक जोडेर दुई खेल अगावै नकाउट चरणमा सुरक्षित भएको छ भने दोस्रो स्थानमा ७ अंक जोडेको इन्टर मिलान छ। स्पेनी महारथी बार्सिलोना ४ अंक जोड्दै तेस्रो स्थानमा रहँदा नकाउट पुग्ने सम्भावना कमजोर बन्दै गएको छ। बार्सिलोना र इन्टर दुबैले अबका दुई खेलमा बायर्न र भिक्टोरियासँग खेल्न बाँकी छ। अर्थात बार्सिलोनाले आफूले जित निकालेर पनि नकआउट चरण पुग्न इन्टर मिलानको नतिजामा पनि निर्भर हुनुपर्नेछ। अंकविहीन भिक्टोरिया भने तालिकाको पुछारमा छ।