यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ए' को खेलमा इङ्ग्लिस क्लब लिभरपुलले स्कटिस क्लब रेन्जर्स एफसीमाथि फराकिलो जित निकालेको छ। इब्रोक्स स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोलीमाथि ७-१ गोलको फराकिलो जित निकालेको हो।
खेलको १७ औं मिनेटमा स्कट आरफिल्डको गोलमा अग्रता बनाएको रेन्जर्सलाई हराउँदा लिभरपुलका मोहम्मद सलाहले ह्याट्रिक, रोबर्टो फर्मिनोले २ गोल तथा डार्विन नुनेज र हार्वे इलियटले समान १ गोल गरे। सब्सिच्युड खेलाडीका रुपमा ६८ औं मिनेटमा मैदान प्रवेश गरेका सलाहले ७५, ८० र ८१ औं मिनेटमा गोल गर्दै १३ मिनेट भित्रमा ह्याट्रिक पुरा गरे। योसँगै च्याम्पियन्स लिगमा सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेर सबैभन्दा चाँडो ह्याट्रिक पुरा गर्ने खेलाडी बने।
Off the bench to score the fastest ever Champions League hat-trick. Salah 🇪🇬👑#UCL pic.twitter.com/tqks0H7Zbm
— UEFA Champions League (@ChampionsLeague) October 13, 2022
त्यस्तै गएराति नै सम्पन्न समूह 'ए' कै अर्को खेलमा इटालियन क्लब नापोलीले डच क्लब आयाक्समाथि ४-२ गोलअन्तरले जित निकाल्यो। स्टेडियो डिएगो अर्मान्डो म्यारेडोनामा सम्पन्न खेलमा घरेलु टोलीलाई जित दिलाउन हिरभिङ लोजानो, जियाकोमो रासपडोरी, खभिचा र भिक्टर ओसिमहेनले गोल गरे। आयाक्सबाट डेभि क्लासेन र स्टेभेन बेर्जविजेनले गोल फर्काए।
योसँगै ४ खेलबाट १२ अंक जोडेको नापोलीले नकआउट चरणमा स्थान पक्का गरेको छ। दोस्रो स्थानमा ९ अंक जोड्दै लिभरपुलले बलियो सम्भावना बनाउँदा तेस्रो स्थानमा रहेको आयाक्सको ३ अंक छ। अंकविहीन रेन्जर्स भने तालिकाको पुछारमा छ।