PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

हक्की खेल आजबाट तर छैन मैदान तयार, के प्रभावित होला खेल?



रिना थापा

हक्की खेल आजबाट तर छैन मैदान तयार, के प्रभावित होला खेल?

पोखरा : असोज २८ देखि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल सुरु भइसकेका छन्। जस अन्तर्गत महिला र पुरुष हक्की आजबाट सुरु हुँदैछ।

हक्की मैदानको घाँस बुधवारमात्रै काट्न सुरु गरिएको थियो। हक्की खेल अन्तर्गत पुरुष हक्की गौरीशंकर खेल मैदान, हेम्जामा हुने तय भएको थियो भने महिला हक्की गण्डकी बोर्डिङ लामाचौरमा।

आजबाट हक्की खेलको उद्घाटनको समय तालिका पनि निकालिएको छ। बिहान साढे सात बजेदेखि सुरु हुने खेलको लागि बुधवारसम्म पनि दुवै मैदान भने अस्तव्यस्त थिए।

खेल हुने पूर्व सन्ध्यामा मैदानमा बल्ल घाँस काट्ने काम भएको थियो। जसकारण पनि आज हुने भनिएको खेल अनिश्चित भएको हक्की संघ नेपालका उपाध्यक्ष हिमाल खड्काले बताए। उनले खेलको पूर्व सन्ध्यामा मार्किङ लगायतको काम बाँकी रहेको बताएका थिए।

पुरुष हक्कीको लागि तय भएको खेल मैदान अस्तव्यस्त हुँदा यता महिला हक्की हुने खेल मैदानपनि उपयुक्त नभएको उनको गुनासो छ। मैदान राम्रोसँग व्यवस्थापन नगर्दा संघ आफैँ नै मैदान तयार गर्न जुटेको थियो।

‘उहाँहरुले झारा टार्ने तरिकाले लामो लामो घाँस छोडेर मैदान दिनुभयो। त्यसमा त हामी खेल्न सक्दैनौँ। मेसिन खोजेर आफैंले संघले मैदान बनायो। माथिको त केही छैन,’ खड्काले गुनासो पोखे।

पुरुष हक्कीको मैदानमा घाँस काट्न जम्मा पाँच जना खटिएका थिए। मेसिन बिना मान्छे खटाएर सफा गर्न लगाइएको मैदान तत्कालै व्यवस्थापन हुन कठिन रहेको उनले बताए।

मैदानकै कारण पुरुष हक्की संचालन गर्ने अवस्थामा नरहेको उनले बताए। अन्तिम समयमा आएर पनि खेल मैदान तयार नहुँदा संघका उपाध्यक्षले खेल मैदान व्यवस्थापन उपसमितिलाई गुनासो गरेका थिए।

गुनासोपछि समितिका पदाधिकारी बुधवार खेल मैदान निरीक्षण गर्नपनि पुगेका थिए। उनका अनुसार समितिका पदाधिकारी खेल स्थगित नगर्न आग्रह गर्दै फर्किएका थिए। छोटो समयमा मैदान तयार पार्ने आश्वासन समितिको थियो।

यता खेल मैदान उपसमिति संयोजक राजेश गुरुङ भने मैदान तयार भइसकेको बताउँछन्।

‘खेल मैदान तयार छ,’ गुरुङले छोटो प्रतिक्रिया दिए।

तर, मैदानमा रहेका घाँस व्यवस्थापन गर्न बुधवार अपरान्हबाट मात्र रंगशालाबाट मेसिनको ब्लेड लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell