PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या शून्य, सबैभन्दा धेरै काठमाडौं १ मा



प्रकाश भण्डारी

६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या शून्य, सबैभन्दा धेरै काठमाडौं १ मा

काठमाडौं : मंसिर ४ गते हुने निर्वाचनमा पुरुष उम्मेदवारको तुलनामा महिलाको संख्या न्यून रहेको छ। ९.३२ प्रतिशत मात्रै महिला उम्मेदवार रहेका छन्।

प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमा  २ हजार ४१२ जनाको उम्मेदवारी कायम भएकोमा २२५ जना मात्रै महिला छन्। पुरुष उम्मेदवारको संख्या २ हजार १ सय ८७ रहेको छ।

स्थानीय तहको निर्वाचनमा पनि महिला सहभागिता न्यून रहेको थियो। दलबाट उम्मेदवारी दिँदा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था भएपनि त्यतिबेला पनि दलहरुले चुनावी तालमेल गरेका कारण महिला उम्मेदवारको संख्या कम रहेको थियो।

संघीय संसद्मा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने आवाज उठेको थियो। विभिन्न १२ जना महिला सांसदले साउन १८ गते महिला सहभागिता ५० प्रतिशत हुनुपर्ने माग गर्दै संसद् सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए।

संविधानमा प्रत्यक राजनीतिक दलबाट निर्वाचित सदस्य संख्या एक तिहाइ महिला हुनुपर्ने व्यवस्था छ। महिला सहभागिता बढाउनुपर्ने माग उठिरहेका बेलामा प्रत्यक्षतर्फको निर्वाचनमा महिला उम्मेदवारको सहभागिता नै कम हुने भएको हो।

समानुपातिक निर्वाचनको बन्द सूचीमा भने ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ। अब दलहरुलाई महिला प्रतिनिधित्व बढाउनका लागि समानुपातिकको भर पर्नुपर्ने छ।

६१ निर्वाचन क्षेत्रमा महिला शून्य

१ सय ६५ निर्वाचन क्षेत्रमध्ये ६१ वटा निर्वाचन क्षेत्रमा दलहरुले महिला उम्मेदवार नै उठाएका छैनन्। महिला उम्मेदवार नै नउठाएकाले ६१ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्व हुने छैन।

४८ वटा निर्वाचन क्षेत्रमा भने एक/एक जना मात्रै महिलाहरुले उम्मेदवारी दिएका छन्। सबैभन्दा धेरै महिला उम्मेदवारी परेको क्षेत्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ हो। १० जना महिलाले प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गराएका छन्।

दलहरुले उम्मेदवार छान्दा नै महिला उम्मेदवार नभेटिने गरेको आयोगलाई गुनासो गर्ने गरेका छन्। जनाधार कमजोर हुने भएकाले पनि पुरुष उम्मेदवारको तुलनामा महिलाको संख्या कम हुने गरेको राजनीतिक दलहरुले निर्वाचन आयोगलाई बताउने गरेका छन्।

पछिल्लो समय नेपालमा महिला सहभागिता राज्यका विभिन्न निकायमा बढ्दै गएको भएपनि प्रत्यक्ष निर्वाचित हुने निर्वाचनमा भने महिलाको संख्या कम छ। त्यसैले राजनीतिक दलहरुले समानुपातिकबाटै मात्र महिला सहभागिताको संवैधानिक व्यवस्थाको पालना हुनेगरी सहभागी गराउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell