PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

चितवन कारागारमा क्षमता भन्दा झण्डै तेब्बर कैदीबन्दी, त्रिपालमुनि रात बिताउनु पर्ने बाध्यता



रासस

चितवन कारागारमा क्षमता भन्दा झण्डै तेब्बर कैदीबन्दी, त्रिपालमुनि रात बिताउनु पर्ने बाध्यता
Photo: hoganeickhoff.com

चितवन : चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या पर्दै आएको छ। कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको साहरा लिनुपरेको छ।

अहिले दैनिक १२ कैदीबन्दी रातको समयमा त्रिपालको साहरामा बिताउन बाध्य छन्। दुई सय ८० जनाको क्षमता रहेको यस कारागारमा अहिले सात सय ७८ कैदीबन्दी छन्।

क्षमताभन्दा करिब तेब्बर कैदीबन्दी भएका कारण उनीहरुको व्यवस्थापनमा समस्या देखिएको हो। कार्यालय प्रमुख कमल प्रसाद आचार्यले अहिले रातको समयमा कैदीबन्दी व्यवस्थापनमा समस्या आएको बताए।

उनले भने, ‘कारागारमा अहिलेको समस्या भनेको कैदीबन्दी बढी हुँदा त्रिपालमुनि बस्नुपर्ने रहेको छ।’

कारागारको समस्याका बारेमा कारागार व्यवस्थापन विभागलाई जानकारी गराइएको उनले बताए।

आचार्यले भने, ‘विभागमा सबै जानकारी गराएका छौँ। सबैतिर यस्तै समस्या हो। कैदीबन्दीको चाप बढेपछि साउनमा केही कैदी स्थानान्तरणसमेत गरेका थियौँ। फेरि चाप बढ्न थाल्यो।’

चाप बढेकै कारण साउन महिनामा ५१ जनालाई स्थानान्तरण गरिएको उनले बताए। स्थानान्तरणको समयमा समेत त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेका कारण स्थान्तरण गरिएको र अहिले पनि त्यही समस्या आएको उनले जानकारी दिए।

दुई सय ५५ पुरुष कैदीबन्दीको क्षमता रहेको ठाउँमा सात सय २९ र २५ जनाको क्षमता रहेको महिला कैदीगृहमा ५९ जना छन्। चार नाबालिक रहेको आचार्यले जानकारी दिए।

कारागारमा छिमेकी जिल्लाबाट समेत कैदीबन्दी ल्याइने हुँदा कैदीबन्दीको सङ्ख्या दिनहुँ बढ्दै गएको आचार्यले बताए। विशेष गरी नवलपुर र मकवानपुरबाट कारागारमा बढी सङ्ख्यामा कैदीबन्दी ल्याइन्छ। उपचारका लागि बाहिरी जिल्लाबाट कैदीबन्दी चितवन ल्याउनुपर्ने हुँदा चाप बढेर व्यवस्थापनमा कठिनाइ भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell