काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न थप समय पाएको छ। आज जिल्ला अदालत काठमाडौंले पाँच दिन म्याद थप गरेको हो। अनुसन्धान नसकिएकाले म्याद थप गर्न प्रहरीले आज सन्दीपलाई अदालतमा उपस्थित गराएको थियो। यस पटक अदालतमा उपस्थित गराउँदा सन्दीपको हात हतकडी देखिदैन थियो। यसअघि पक्राउ गर्दा हतकडी लगाएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएपछि प्रहरीले हथकडी बिना अदालतमा उपस्थित गराएको थियो।
असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी विमानस्थलमा अवतरण गरेका थिए। विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो।
त्यसपछि विमानस्थल प्रहरीलेल महानगरीय प्रहरी वृत गौशालालाई बुझाएको हो। गौशाला वृत्तले सन्दीपमाथि लागेको आरोपको थप अनुसन्धान गर्दैछ। बयानदेखि अन्य प्रमाणहरु समेत संकलन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।
एक नाबालिग किशोरी (१७ वर्षीया) माथि करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न शुरु गरेको थियो।
भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।
त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए।
रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटक-पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।