PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

पाँच दिनपछि खुल्यो मौसम, हिमाली जिल्लामा फसेका पर्यटक ओसार्न विमान कम्पनीलाई भ्याइ नभ्याइ



पहिलोपोस्ट

पाँच दिनपछि खुल्यो मौसम, हिमाली जिल्लामा फसेका पर्यटक ओसार्न विमान कम्पनीलाई भ्याइ नभ्याइ

काठमाडौं : मौसमी सुधार आएसँगै पाँच दिनदेखि बन्द रामेछाप-लुक्ला उडान पुनः सुरु भएको छ। बिहीबारबाट मौसममा सुधार आएसँगै हवाई जहाज र हेलिकोप्टर धमाधम पर्यटक ओसार्न व्यस्त भएको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलका प्रमुख द्वारिका अछामीले बताए।

'धेरै दिनपछि आज मौसम खुलेको छ। शनिबारदेखि उडान बन्द थियो। यतिखेर वायुसेवा कम्पनी र विमानस्थल कर्मचारीलाई भ्याइ नभ्याइ छ। रामेछापमा रहेका विदेशी पर्यटकलाई धमाधम ल्याउने कार्य भइरहेको छ। आज दिनभरीमा रामेछापमा रहेका अधिकांश पर्यटक लुक्ला आइपुग्ने आशामा छौं,' अछामीले भने।

यतिखेर फिक्स विङतर्फ समिट र तारा एयरले कुल २० वटा उडान गरिसकेको उनले जानकारी दिए। सीता एयरको जहाज भने प्राविधिक समस्याका कारण रामेछापमै मर्मतसम्भारका लागि राखिएको उनले बताए।

समिट र तारा एयरको कुल चारवटा जहाजमार्फत धमाधम उडान भइरहेको उनले जानकारी दिए। विभिन्न कम्पनीका हेलिकोप्टरले भने काठमाडौं-लुक्ला उडान गरिरहेको उनले बताए।

मौसमी सुधार आएसँगै तारा एयरले रामेछाप-लुक्ला तर्फ १५ वटा उडान तालिका पाएको उडान सुरक्षा प्रमुख एवम् प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

'अहिलेसम्म १० वटा उडान गरिसकेका छौँ। हामीले त्यही अनुसार क्रुको व्यवस्थापन गरेका छौँ,' उनले भने,'करिब तीन सय जना पर्यटक रामेछाप छन् भन्ने जानकारी आएको छ।'

पाँच दिनयता मौसम खराब भएपछि कतिपय पर्यटक हेलिकप्टर, गाडी लगायत यातायात मार्फत फाप्लु, सुर्के गएको र कतिपयले उडान स्थगित गरी पुनः काठमाडौं फर्किएको उनले जानकारी दिए।

समिट एयरले यतिखेरसम्म १४ वटा उडान गरिसकेको प्रबन्ध निर्देशक मनोज कार्कीले बताए। आज साँझसम्म पाँच दिनदेखि रामेछापमा बाँकी रहेका पर्यटकलाई लुक्ला पुर्‍याइसक्ने उनले जानकारी दिए।

कम्पनीले आज दिनभरमा १५ उडान गर्ने तालिका बनाएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell