
काठमाडौं : नेकपा एमालेका नेता डा.भीम रावल अध्यक्ष केपी शर्मामाथि खनिएका छन्। प्रतिनिधि सभाको अछाम-१ नम्बर क्षेत्रबाट उम्मेदवार नबनाएको भन्दै रावलले आक्रोश व्यक्त गरेका हुन्। उनले आफू जित्ने देखिएपछि ओलीले उम्मेदवार नै नबनाएको आरोप लगाए। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रावलले ओलीलाई विभिन्न प्रश्न पनि सोधेका छन्।
बिहान पार्टी प्रवेश गराएर दिउँसो उम्मेदवार बनाउने कस्तो विधि?
रावलले जनता समाजवादी पार्टी नेपालसँगको चुनावी तालमेलबारे मात्रै असन्तुष्टि व्यक्त गरेका छैनन् उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरुलाई पार्टी प्रवेश गरेलगतै टिकट दिएकोमा आपत्ति जनाएका छन्। 'संविधान दिवसलाई कालो दिवस एवं एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासंग चुनावी साँठगाँठ गर्ने, लोसपाका मानिसहरुलाई बिहान पार्टी प्रवेश गराएर दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताका अनेकौं कर्म र कुकर्म गरेकाहरुलाई धमाधम उम्मेदवार बनाउने कार्य पार्टीको कुन सिद्धान्त, विधि र अनुशासन भित्र पर्छ?,' रावलको प्रश्न छ। उनले नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालप्रति आक्रोश व्यक्त गरेका छन्। ढकाललाई समानुपातिकतर्फ उम्मेदवार बनाएकोमा रावलको आपत्ति छ। 'युनिफिकेशन चर्चसँग आवद्ध होलिवाइन भनी चिनिएका एकनाथ ढकालको समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभा सदस्य सुनिश्चित गर्ने, निरंकुश व्यवस्थामा नेकपा (एमाले) का नेता र कार्यकर्ता प्रताडित गर्ने व्यक्तिलाई हेटौंडामा उम्मेदवार बनाउने,' रावलको प्रश्न छ। ,
मेरोभन्दा जसपाको योगदान बढी छ?
रावलले अहिले ओलीले चुनावी तालमेल गरेका पार्टीका नेताहरुको भन्दा आफ्नो योगदान कम नभएको भन्दै उनले आफ्नो योगदानको कदर नभएको गुनासो गरे। 'पार्टी निर्माणमा म र देशभरी चित्कार गरिरहेका एमालेका नेता र कार्यकर्ताहरुको भन्दा बढी योगदान छ र?,'उनले भने। उनले नेकपा एमालेका उम्मेदवारलाई आफूले मत माग्न नसक्ने बताएका छन्। एमालेमा एमालेका नेता मात्रै उम्मेदवार नभइ संविधान जलाउने र होली वाइन खानेहरु पनि उम्मेदवार भएकाले आफूले इमान्दार कम्यनिस्टका लागि मात्रै मत माग्ने बताएका छन्। नयाँलाई अवसर दिएर आफूलाई उम्मेदवार नबनाएको भन्दै ओलीले दिएको जवाफको पनि रावलले खण्डन गरेका छन्। 'नयाँलाई अवसर दिने कुरा गर्ने हो भने पार्टी अध्यक्ष र निकट ठानिनेहरुका हकमा लागू भएको खोई त? पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसदमा अत्यन्त संवेदनशील विषयमा समेत सहभागी नहुने,' रावलको टिप्पणी छ। उनले जसपाले एमालेलाई नश्लवादी शक्ति भन्ने गरेको र ओलीले अहिले जसपासँगै तालमेल गरेको रावलको भनाइ छ।
आधा समय बालुवाटार र आधा समय अस्पताल बस्ने ओलीले पाउने मैले नपाउने?
ओलीको आलोचना गर्दै रावलले बोल्न मन लागेको बेला मात्रै संसदमा ओली उपस्थित हुने गरेको बताएका छन्। उनले प्रधानमन्त्री हुदा आधा समय अस्पतालमा र आधा समय बालुवाटारमा बिताउने ओली उम्मेदवार भएको र आफू उम्मेदवार नभएको भन्दै ओलीप्रति रावल खनिएका हुन्। 'झण्डै दुई तिहाईको प्रधानमन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास वालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने तर देश र जनताका हित एवं सरोकारका विषयमा निरन्तर संसद र संसदीय समितिमा सक्रियताका साथ आवाज उठाउने र कानून निर्माणमा क्रियाशील रहनेले क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत एकल सिफारिश हुँदा पनि उम्मेदवार हुन नपाउने किन?,' रावलको भनाइ छ।
कुपात्र ठानेका व्यक्तिहरु पार्टीको कुन अनुशासन, विधि र पद्धतिका रक्षक हुन् र?
रावलले नेपाली समाजमा तृष्कृत व्यक्तिहरु योग्य हुँदा आफू उम्मेदवार नहुनु दुखद भएको बताएका छन्। उनले नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्रबाट उम्मेदवार भएका एमालेका नेता घनश्याम भुसालको भने बचाउ गरेका छन्। उनले भुसालको कदम स्वभाविक भएको बताएका छन्। उनले कुपात्रहरुलाई एमालेले उम्मेदवार बनाएकोमा आक्रोश व्यक्त गरे। 'पार्टीको अनुशासन, सिद्धान्त र विधिको कुरा गर्ने हो भने पार्टीले प्रतिक्रियावादी भनेका र नेपाली समाजले कुपात्र ठानेका व्यक्तिहरु पार्टीको कुन अनुशासन, विधि र पद्धतिका रक्षक हुन् र?,' रावलको प्रश्न छ।
माक्र्सवादी–लेनिनवादी किन भन्ने?
ओलीले महाधिवेशनका बेलामा पनि आफूलाई सकेसम्म उम्मेदवारै हुन नदिने र चुनावमा पनि भोट नहाल्न भन्दै षडयन्त्र गरेको आरोप लगाए। उनले सरकार बनाउँदा पनि षडयन्त्रकारी शक्तिहरुसँग मिल्ने र चुनावमा त्यस्तै शक्तिसँग मिल्दा पार्टीका लागि मत माग्न नसकिने उनको भनाइ छ। 'कम्युनिष्ट र एमालेको सिद्धान्त तथा कार्यक्रमका विरोधीहरुसँग मिलेर सरकार बनाउने र निर्वाचनमा पनि त्यस्तैसँगै मिलेर जनतासँग मत माग्ने राजनीतिक बाटो अंगीकार गर्न पार्टी महाधिवेशनले दिशा निर्देश गरेको छ र? मनपरी गर्ने हो भने पार्टीलाई के सत्तास्वार्थमा उक्त किसिमकै क्रियाकलापका लागि झापा, सुखानीको जंगलमा क्रान्तिकारीहरु नझुकेर शहीद भएका थिए त?,' उनले भने।
'पार्टीको गतिअनुसार मेरा पाइला अगाडि बढ्छन्'
रावलले आफू स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावमा जान सक्ने भए पनि आफू त्यस्तो निर्णयमा नपुगेको बताए। उनले एमाले परित्याग गर्ने पनि आफ्नो सोच नभएको बताएका छन्। एमाले अन्धभक्त जप्ने थलो नभएको रावलले बताए। 'पार्टी कुनै अन्धविश्वास र अन्धभक्तिको मन्त्र जप्ने थलो होइन । देश र जनताको हितमा क्रियाशील रहनु पर्ने गतिशील संस्था हो । आगामी दिनहरुमा राष्ट्रिय राजनीति र पार्टीको गति र मति अनुरुप नै मेरा पाइलाहरु अगाडि बढ्ने छन्,' रावलले भने।