PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

बागी उम्मेदवारलाई कांग्रेसको अल्टिमेटम : कारवाही फुकुवाको समय असोजभर



पहिलोपोस्ट

बागी उम्मेदवारलाई कांग्रेसको अल्टिमेटम : कारवाही फुकुवाको समय असोजभर

काठमाडौं : नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी निस्क्रिय गरे कारबाही फुकुवा गर्ने जनाएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसले पार्टीको निर्णयविरुद्ध उभिएर बागी उम्मेदवारी दिनेलाई पार्टीबाट स्वत: निष्कासन गर्ने निर्णय गरेको थियो।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशका विभिन्न स्थानमा कांग्रेसका असन्तुष्ट पक्षले बागी उम्मेदवारी दिएको छ। यसपटक सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले पाँच दलसँग गठबन्धन गरि सिट बाँडफाँटसमेत गरेको छ। सिट बाँडफाँट र टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेसका नेता कार्यकर्ताले विभिन्न स्थानमा बागी उम्मेदवारी दिएपछि निर्वाचन आयोगले तोकेको समयमा उम्मेदवारी फिर्ता लिनेलाई कारबाही नहुने जनाएको थियो।

यद्यपि, कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका दिनेश कोइराला लगायतले उम्मेदवारी फिर्ता लिएनन्। यसरी, उम्मेदवारी फिर्ता नलिएकाहरुलाई कांग्रेसले बिहीवार अल्टिमेटम दिएको हो।

'आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम नेपाली कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्काशन गरिएको विषयमा ध्यानाकर्षण गराउँदै,' कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धतासहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell