PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कमल थापालाई रोक्न जो आधारातमा बालकोट पुगे, उनै भन्दैछन् : मिलेर चुनाव लड्छौं, हामी नै जित्छौं



निशा गुरुङ

कमल थापालाई रोक्न जो आधारातमा बालकोट पुगे, उनै भन्दैछन् : मिलेर चुनाव लड्छौं, हामी नै जित्छौं

हेटौंडा : प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेले यसपटक आफ्नै टिकट खोस्यो। रामेश्वर रानाले पाएको टिकट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको हातमा थमौति भयो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले 'सूर्य चुनाव चिह्न' बाट नै उम्मेदवार हुने गरी थापालाई समर्थन गरेपछि स्थानीय नेता कार्यकर्ताले रोक्ने प्रयास नगरेका हैनन्। वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलसँगै एमाले मकवानपुर एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठसहितको टोली ओलीलाई भेटेर निर्णय सच्याउन दबाव दिन पुगे। तर, उनीहरुको केही चलेन। अहिले उनै जिल्ला अध्यक्ष श्रेष्ठ वाग्मती प्रदेशसभतर्फ मकवानपुर क्षेत्र नम्बर १ (ख) मा नेकपा एमालेतर्फबाट उम्मेदवार बनेका छन्। सत्ता गठबन्धनसहित अन्य १४ जनाको उम्मेद्वारी परेको छ उनीविरुद्ध। पहिलोपटक प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उनी अब कमल थापासँगै मिलेर चुनावको तयारी गरिरहेको बताउँछन्। निर्वाचन केन्द्रित रहेर पहिलोपास्टले गरेको कुराकानीको सम्पादित अंश:

आधारातमा बालकोट गएर तपाईंहरुले रोक्ने प्रयास गर्दागर्दै कमल थापा सूर्य चिह्नबाटै लड्ने हुनुभयो है?  

हो, कमल थापाज्यु सूर्यको चुनाव चिह्न लिएरै लड्ने हुनुभयो। हामी नेकपा एमाले एक्लै मकवानपुर जिल्लामा चुनाव उठ्न चाहन्छौं, त्यसको तयारी गरेका छौं। हामी चुनाव जित्छौं भन्ने मकवानपुर नेकपा एमालेको ठम्याई थियो। त्यही कुरो पार्टी अध्यक्षलाई जानकारी गराएका हौं। पार्टी अध्यक्षले अन्तिममा कमल थापालाई सूर्य चिह्नबाटै उम्मेद्वारी दिने निर्णय गर्नुभयो। यसको पछाडि पार्टी अध्यक्षले धेरै कुरा सोच्नुभएको होला, राष्ट्रिय राजनीतिमा पार्ने प्रभावलाई उहाँले मुल्यांकन गर्नुभएको होला। फेरि यो चुनाव भनेको विगतको जस्तो स्थानीय सरकार बनाउने कुरा होइन। केन्द्रिय सरकार बनाउनले राष्ट्रिय राजनीतिमा यसको ठुलो प्रभाव पर्ने भएको हुनाले उहाँले विभिन्न ढंगले सोच्नुभएको होला, हामीले अन्यथा आत्तिनु पनि हुँदैन त्यसलाई अब हामीले मिलेर अघि बढाउनुपर्छ।   

कमल थापालाई अझै मकवानपुरका नेता कार्यकर्ताले स्वीकार गरेका छैनन्। कार्यालयमा तालाबन्दी भयो, उम्मेदवारी दर्ता गराउन जाँदा पनि छुट्टै जानुभयो, यस्तो तरिकाले उहाँलाई तपाईंहरुको समर्थन रहन्छ?

हामीलाई केही असहजता निश्चित रुपमा भएको हो। यी घटनाक्रम नभएको होइन तर, त्यो जे घटना भयो त्यसलाई अलि अतिरञ्जित ढंगले मान्छेले बुझे र त्यही ढंगले मिडियाबाजी भएको हामीले थाहा पायौं। नेकपा एमालेका नेता र कार्यकर्ताहरु नेकपा एमालेको नेतृत्वमा चुनावमा हामी जान्छौं, हाम्रो उम्मेद्वारी हुन्छ भन्ने कुरो जे पहिलो हाम्रो आम कार्यकर्ताको चाहना थियो। त्यो यथार्थ हो त्यसमा फरक छैन। निर्णय भएर आईसकेको अवस्थामा हामीले त्यो निर्णयलाई बोक्नुपर्छ, जनताको बीचमा जानैपर्छ। सिंगो देशलाई बन्धक बनाउने अराजनीतिक गठबन्धन जे चलिरहेको छ कांग्रेसको नेतृत्वमा त्यसलाई हामीले तोड्नैपर्छ। यो भन्दा अर्को चुनावको समयमा हामीसँग प्रतिस्पर्धा गर्ने अर्को समूह छैन त्यही कारणले गर्दा अब हामी जे निर्णय भएको छ त्यसलाई हामी सहर्ष बोकेर अगाडि बढ्छौं।

असन्तुष्ट भएका नेता र कार्यकर्तासँग हामी निरन्तर छलफलमा छौं। यो कुरालाई हामी छिट्टै समाधान गर्छौं। हाम्रो घरभित्रको आन्तरिक कुरा हो, यसलाई हामी एकदुई दिनभित्रै किनारा लगाउँछौं। हामी नेकपा एमालेको चुनाव चिह्न सूर्यमा ६ वटै सूर्यमा मतदान गर्नका निम्ति एक ढिक्का भएर अगाडि बढ्छौं। यसमा कुनै दुई मत छैन।

मकवानपुरको १ (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवार हुनुहुन्छ। पहिलोपटक उम्मेदवार बन्दा कस्तो लागिरहेको छ?

मैले उठ्ने निर्वाचन क्षेत्र भनेको हेटौंडाको १२ वटा वडा पर्छ। १२ वटा वडा नगरको अत्यन्तै महत्वको साथ बजार एरियादेखि लिएर ग्रामीण क्षेत्र पनि हो। यो क्षेत्र प्रदेशको राजधानी भएको नगरको क्षेत्र पनि हो। यहाँ विकासको एउटा मोडल पनि हामीले निर्माण गर्न जरुरी छ।

म नेकपा एमालेमा ३५-४० वर्षदेखि निरन्तर रुपमा पार्टीको काम गर्दै आइरहेको एउटा सिपाही भएको कारणले गर्दाखेरी यो पटक नेकपा एमालेको पार्टीले विश्वास गरेर मलाई चुनावमा उभाइरहँदाखेरी मैले चुनाव जित्नुपर्छ र , यो क्षेत्रको जनताको भावना समेटेर विकासको एउटा अभियान्ताको रुपमा अगाडि बढ्नुपर्छ भनेर मलाई पार्टीले मलाई पठाएको छ। पार्टीले गरेको भरोसा र विश्वासलाई मैले मर्न दिनु हुँदैन र म चुनावमा जित्नको निम्ति कार्यकर्तालाई साथमा लिएर एकताबद्ध भएर जनताको बिचमा पुग्छु। म जनताले चाहना गरेर जनताले माग गरेर उठेको हुनाले पनि यो पटक मलाई जनताले विश्वास गर्छ भन्ने मलाई लाग्छ।

तपाईंका एजेन्डा के के छन्?

पहिलो कुरो मकवानपुरको हेटौंडा वाग्मती प्रदेशको राजधानी हो। यहाँको विकासले वरपर रहेका गाउँपालिकालाई असर पार्ने र प्रभाव पार्ने भएकाले हेटौंडाको विकासलाई केन्द्रबिन्दु बनाएर हामी अगाडि बढ्नुपर्छ। त्यसैले मेरो पहिलो एजेण्डा विकास नै हो। काठमाडौं जोड्ने राजमार्ग/सुरुङमार्ग निर्माण पहिलो प्राथमिकता हो। हिजो प्रदेश सरकारमा रहँदा हामीले जे प्राथमिकताका साथ काम गर्‍यौं अब पनि हाम्रो पहिलो एजेण्डा त्यो हुनेछ। सुरु भइसकेका ती कामलाई अहिले गठबन्धन सरकारले रोकेको छ। हामीले वाग्मती प्रदेशमा फेरि एमाले सरकार बनाइसकेपछि रोकिएका काम फेरि सुरु गर्नेछौं।

हेटौंडा अस्पताल जुन मकवानपुर जिल्ला हेटौंडाबासीहरुको स्वाथ्य क्षेत्रमा एउटा कायपलट गर्ने एउटा अस्पताल हो, हामीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विकास गर्न खोजेका थियौं। त्यसको काम पनि अहिले गठबन्धनको सरकारले सुस्त ढंगले गरिरहेको छ। त्यसलाई हामी द्रुत गतिमा अगाडि लिएर जान्छौं।

हेटौंडा औधोगिक क्षेत्र जसले हेटौंडाका जनता र विशेषगरी यहाँका युवालाई रोजगारी प्रत्याभुति गर्छ, त्यसलाई पनि छिटो कार्यान्वयन गर्न अगाडि बढ्नेछौं। र, मेरो क्षेत्रमा २५ मिटरको सडक लामो समयदेखि चौडा बनाउने विषयमा विवाद सिर्जना भएको छ। जनतालाई आतंकबाट मुक्त गर्ने कामलाई प्राथमिकता दिएर बाइपास बाटोलाई निर्माण गरेर अगाडि बढ्नुपर्छ। खेलकुद क्षेत्रमा पनि अत्यन्तै प्रभाव पार्ने देशभरीको रंगशाला ट्रेनिङ सेन्टर गौरीटार रंगशाला छ यसको विकासमा पनि विगतमा पहिलो मुख्यन्त्री हुँदाखेरी जति द्रुतगतिमा काम भएको थियो अहिले रोकिएको छ। यसलाई पनि हामी फेरि अगाडि बढाउनेछौं। हेटौंडालाई हामी व्यवस्थित र सुन्दर शहर बनाउन मैले काम गर्नेछौं। 

एकातर्फ सत्तारुढ गठबन्धन छ अर्कोतर्फ पार्टी विभाजन भाएको अवस्था छ। राप्रपा नेपालको समर्थनलेमात्र तपाईहरुले जित्न आवश्यक मत पुग्छ?

राप्रपा नेपाल स्थानीय तहको निर्वाचनमा नउठेको कारणले गर्दाखेरी उसको जनमत कति छ भन्ने हामी भन्न सक्दैनौं। तर , राप्रपा भन्ने पार्टीको हिजो जे जनमत थियो त्यो जनमत नै अहिले राप्रपाका दुई नेता उठिसकेको अवस्थामा निश्चित रुपमा त्यो विभाजित हुनेछ। अर्को भनेको राप्रपा नेपालको अध्यक्ष कमल थापा स्वयम उठिसकेपछि उहाँको हिजोको जनमत आर्कषित निश्चित रुपमा हुन्छ। हाम्रो पनि जनमत छ। त्यो दुईटै जनमत बटुल्दाखेरी हामीले एकठाउँमा राख्दा चुनाव जित्ने निश्चित नै भइसक्यो।

स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने हेटौंडामा सत्ता गठबन्धनले जित हासिल गरेको अवस्था छ नि?

स्थानीय तहको निर्वाचनमा जे परिणाम आयो त्यो परिणाम अब आउँदैन। यो बीचमा हामीले पार्टीमा नमिलेका कुराहरु मिलाएका छौं। असमझदारीलाई समाधान गरेका छौं।

गत स्थानीय तहमा जनताले जे आशा र भरोसा गरेर गठबन्धनको उम्मेद्वारीलाई विजयी गरायो, उनीहरुको ४-५ महिनाको गतिविधि हेर्दा उनीहरुमा नेकपा एमालेको हिजोको जनप्रतिनिधि जसरी काम गर्ने क्षमता र योगदान छैन भन्ने अवस्थामा जनता पुगेका छन्। त्यसैले हामी अहिले संगठित र व्यवस्थित ढंगले अगाडि बढिरहेका छौं र हामी नै जित्छौं।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell