PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज :  १० लाख मुल्यको ट्रफी, ११ टिमबिच प्रतिस्पर्धा



पहिलोपोस्ट

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज :  १० लाख मुल्यको ट्रफी, ११ टिमबिच प्रतिस्पर्धा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन सत्रमा गरिने मार्च पास्टका लागि तयारी गर्दै सुरक्षाकर्मी। फोटो : राधिका कँडेल/रासस

काठमाडौं : नवौं राष्ट्रिय खेलकुदको आज औपचारिक उद्घाटन हुँदैछ। केही खेलहरु यसअघि नै सुरु भएकोमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेसँग प्रतियोगिताको औपचारिक रुपमा सुरु हुनेछ। प्रतियोगिताका ६० करोड अनुमानित बजेट लाग्ने राष्ट्रिय खेलकुद परिषद्को प्रक्षेपण छ। 

११ टोली बिच प्रतिस्पर्धा

प्रतियोगितामा ११ टोली प्रतिस्पर्धामा छन्। तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस, सात प्रदेश र एनआरएनले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्।

अधिकांश खेलहरु कास्कीको पोखरामा र बाँकी खेलहरु गण्डकी प्रदेशको विभिन्न जिल्लाहरुमा हुनेछन्। प्रतियोगितामा खेलाडीले ३६ खेलका विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछ।

उपराष्ट्रपति नन्दबहादुर पुन नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटनका लागि पोखरामा। फोटो : राधिका कँडेल/रासस


उद्घाटन अघिनै देखिएको अव्यवस्था

प्रतियोगिताको औपचारिक उद्घाटन अघि नै ह्याण्डबल, फेन्सिङ, हक्की लगायतका खेलहरु सुरु भएका थिए। जसमध्येमा फेन्सिङ र हक्कीमा व्यवस्थापकीय कमजोरीका गुनासाहरु आएका थिए।

फेन्सिङका खेल ब्याडमिन्टनको हलमा हुँदा खेल्न कठिन भएका गुनासा आएका थिए भने हक्कीको खेल सुरु हुने दिनसम्म मैदान तयार नहुँदा खेल प्रभावित भएको थियो। त्यस्तै फुटबलमा पनि एनआरएनको टिममा राखिएको खेलाडीलाई लिएर प्रदेश १ ले आपत्ति जनाएको थियो। औपचारिकता र टिम ढिला गरेर पुग्दा खेल ढिला गरि सुरु भएको थियो।

ट्रफी कस्तो छ?

५ केजी चाँदीले बनेको मुख्य ट्रफीमा २ तोला सुनले स्वर्ण शब्द कुँदिएको छ। ट्रफीको मूल्य १० लाख रुपैयाँ बराबर रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा खेलाडीको चहलपहल। फोटो : कृष्ण दवाडी/रासस


ट्रफीका शिल्पकार श्याम तुलाधर रहेका छन् भने ट्रफी निर्माण गर्न पाँच जना कालिगढले दिनको १८ घण्टाका दरले २५ दिनको समय व्यतित गरेका छन्। ट्रफी राष्ट्रिय खेलकुदमा टिम च्याम्पियन बन्न सफल टिमलाई प्रदान गरिने छ।

ट्रफी पूर्ण कलशको स्वरुपमा रहेको छ। नेपाली संस्कृती अनुरुप कुनै पनि शुभकार्य र विजय उत्सवका बखत कलशलाई पूजा गरे पश्चात मात्र कार्य शुभारम्भ गर्ने परम्परालाई आधार मानेर ट्रफीको निर्माण गरिएको हो।

सुरक्षाको अवस्था कस्तो?

गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुदमा सुरक्षा प्रबन्धलाई विशेष महत्वका साथ व्यवस्थापन गरिएको नवौँको सुरक्षाका लागि गठित उपसमितिले जनाएको छ। शुक्रवारदेखि कात्तिक ३ गतेसम्म मुख्य गरि पोखरा केन्द्रित भएर गण्डकी आठ जिल्लामा हुने प्रतियोगितामा आठ हजार हाराहारी खेलाडी, प्रशिक्षक र अफिसियल गरि करिब दश हजार मानिस सहभागी हुने आँकलन गरिएको छ। त्यसैले सुरक्षा व्यस्तलाई चुस्त बनाउन यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको आयोजकले जनाएको छ।

नवौं राष्ट्रिय खेलकुदको पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ। फोटो : कृष्ण दवाडी/रासस


प्रतियोगिताको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई त्रुटिरहित ढङ्गले खेलको सुरक्षार्थ खटिन र सम्भावित दुर्घटना तथा सुरक्षा चुनौतीलाई मध्यनजर गरी समयमै खबर गराउन निर्देशनसमेत गरिएको प्रहरीले जनाएको छ। सबै खेलस्थल, उद्घाटन तथा समापन समारोह, रङ्गशालाको प्रवेशद्वार, खेलाडी बास बसेको होटललगायतका स्थलमा विशेष उपकरणसहितका सुरक्षाकर्मी परिचालन गर्ने गरि संयुक्त सुरक्षा योजनाअनुसार सुरक्षा प्रबन्ध मिलाइएको नवौँ राष्ट्रिय खेलकुद सुरक्षा उपसमितिका संयोजकसमेत रहेका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले बताए।

खेलस्थल र रङ्गशालामा जनपथ र सशस्त्र प्रहरी सँगसँगै परिचालित हुनेछ भने सेनाले अतिविशिष्ट व्यक्तिको सवारीमा सुरक्षा प्रबन्ध गर्नेछ। प्रहरी प्रमुख जोशीका अनुसार प्रतियोगिताको उद्घाटनदेखि समापन समारोहसम्मका सात दिन प्रतियोगिता हुने आठ जिल्लामा दैनिक एक हजार एक सय जनपथ प्रहरी र दुई सय सशस्त्र गरी एक हजार तीन सय प्रहरी परिचालन हुनेछन्।

यसबाहेक आवश्यकता अनुसार थप प्रहरी परिचालन गर्ने गरि सुरक्षा प्रबन्ध मिलाइएको छ। यसैगरी, जिल्ला प्रहरी कार्यालयमा २५ जनाको टोली ‘स्टाण्ट बाई’ तैथानीमा रहने र थप मद्दत परेको खण्डमा तुरुन्त परिचालित हुने व्यवस्था गरिएको छ।

‘राष्ट्रिय खेलकुदको सुरक्षामा कुनै कमी नरहने गरी संयुक्त सुरक्षा योजना तयार पारेर कार्यान्वयन गरेका छौँ,’ गण्डकी प्रदेश प्रहरी प्रमुख जोशीले भने, ‘खेलस्थलको र रङ्गशालाको सुरक्षा, भीभीआइपी सवारी, ट्राफिक व्यवस्थापनलगायतलाई ध्यान दिएर सुरक्षा प्रदान गर्नेछौँ।’

राष्ट्रिय खेलकुदका लागि आम नागरिकको समर्थन रहेकाले कुनै ‘सुरक्षा थ्रेट’ भने नरहेको आंकलन प्रहरीको छ। ‘औपचारिक उद्घाटन अघिनै केही खेल अहिले चलिरहेको छ, हरेक खेल भइरहेको ठाउँमा नेपाल प्रहरीको उपस्थिति छ। अफिसरको कमाण्डमा रहने सुरक्षा टोलीले खेलस्थलमा सुरक्षा दिएको छ,’ सुरक्षा उपसमितिका संयोजकसमेत रहेका प्रहरी प्रमुख जोशीले भने।

नवौँ राष्ट्रिय खेलकुद्को सुरक्षाका लागि गठित उपसमितिमा प्रहरी प्रमुख जोशीसहित सशस्त्र प्रहरीका एसएसपी, जिल्ला प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक, नेपाली सेनाका कर्णेल, महानगरका सुरक्षा महाशाखा प्रमुख, खेलकुदका पदाधिकारी रहेका छन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा बिहीवार महिला तेक्वान्दो खेल उद्घाटनका अवसरमा आयोजित र्‍यालीमा सहभागी त्रिभुवन आर्मी क्लबका खेलाडी। फोटो : सन्तोष गौतम/रासस


राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास

पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौँमा भएको थियो। उक्त प्रतियोगितामा बागमती अञ्चल विजयी भएको थियो। उक्त प्रतियोगितामा दुई सय २३ महिलासहित एक हजार चार सय ४३ खेलाडीले १६ खेलमा दुई सय २६ पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

विसं २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा १९ खेल विधामा तीन सय ७० पदकका लागि पाँच सय ३९ महिलासहित दुई हजार ५७ खेलाडीबिच प्रतिस्पर्धा भएको थियो। विसं २०४२ फागुन २३ देखि चैत १ गतेसम्म वीरगंजमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा सात सय ३८ महिलासहित दुई हजार सात सय ७५ खेलाडी २१ खेल विधामार्फत तीन सय ७० पदका लागि प्रतिस्पर्धा गरेको इतिहास छ।

बाँकेको नेपालगञ्जमा २०५५ चैत ८ देखि १४ गतेसम्म पाँच विकास क्षेत्र, नेपाली सेना र नेपाल प्रहरीको टोलीले १२ खेल विधामार्फत चार सय ६९ पदकका लागि प्रतिस्पर्धा गरेकामा मध्यमाञ्चल विजयी भएको थियो। उक्त चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार छ सय ६२ खेलाडीबिच पदकका लागि भिडन्त भएको थियो।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा बिहीवार महिला तेक्वान्दो खेल उद्घाटनका अवसरमा आयोजित र्‍यालीमा सहभागी कर्णाली प्रदेशका खेलाडी फोटो : सन्तोष गौतम/रासस


काठमाडौँमा २०६५ चैत २४ देखि ३० गतेसम्म भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र तत्कालिन जनमुक्ति सेनाबिच प्रतिस्पर्धा भएकामा मध्यमाञ्चल विजयी भएको थियो। प्रतियोगितामा छ सय ४६ पदक र १३ खेल विधा कायम गरिएको थियो।

यस्तै, सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुरामा २०६८ चैत २४ देखि २८ गतेसम्म भएको छैटौँ राष्ट्रिय प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, एपिएफ, त्रिभुवन विश्वविद्यालय र तत्कालिन जनमुक्ति सेनाका एक हजार तीन सय ९४ महिलासहित तीन हजार छ सय २८ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। उक्त प्रतियोगितामा मध्यमाञ्चल विजयी भयो। प्रतियोगितामा ३६ खेल विधा र एक हजार तीन सय ८६ पदक कायम गरिएको युवा तथा खेलकुद मन्त्रालयको तथ्याङ्ककमा उल्लेख छ।

यसैगरी, पूर्वाञ्चल विकास क्षेत्रको झापा, मोरङ, सुनसरीलगायत जिल्लामा २०७३ पुस ८ देखि १५ गतेसम्म भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३१ खेल विधाका लागि नौ सय दुई पदक कायम गरिएको थियो। प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टिमका एक हजार छ सय ६९ महिलासहित तीन हजार नौ सय ७२ खेलाडीबिच प्रतिस्पर्धा भएको हो।

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा प्रस्तुत गर्ने साँस्कृतिक कार्यक्रमका लागि रंगशालामा अभ्यास गर्दै विद्यार्थी। फोटो : कृष्ण दवाडी/रासस


आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ वैशाख ५ देखि ११ गतेसम्म बाँके, बर्दिया, दाङलगायत जिल्लामा सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा दुई हजार चार सय नौ महिला खेलाडीसहित पाँच हजार तीन सय पाँच खेलाडीले ३५ खेल विधामार्फत एक हजार एक सय ५८ पदकका लागि प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell