PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

विदेशबाट ल्याएको स्मार्टफोन एमडीएमएसमा दर्ता नगरे चल्दैन नेपालमा, यस्तो छ दर्ता गर्ने प्रक्रिया



पहिलोपोस्ट

विदेशबाट ल्याएको स्मार्टफोन एमडीएमएसमा दर्ता नगरे चल्दैन नेपालमा, यस्तो छ दर्ता गर्ने प्रक्रिया
Photo: dxomark.com

काठमाडौं : सरकारले मोबाइल सेटको गैरकानुनी आयात र बिक्री रोक्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याएसँगै धेरैलाई विदेशबाट ल्याइने फोन पनि नचल्ने हो किन भन्ने भ्रम छ।

नेपाल दूरसञ्चार प्राधिकरणले विद्यमान कानुनी सुविधा अन्तर्गत (नेपाल सरकारको ओजीएल सुविधा अन्तर्गत) विदेशबाट ल्याइएका मोबाइल सेटहरुलाई एमडीएमएस प्रणालीमा दर्ता गरी निर्वाध चलाउन कुनै रोक लगाएको भने छैन।

प्राधिकरणले गत भदौ ३० गते अघि नेपाल भित्रिएका मोबाइल फोन स्वत: दर्ता गरिदिएको छ। त्यसपछि भित्रिएका सबै मोबाइल भने अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ।

चार वर्षको लामो प्रयासपछि नेपालमा मोबाइल सेटहरुमा नियमन प्रणाली एमडीएमएस गत भदौ ३० गतेबाट सञ्चालनमा ल्याएको थियो। नेपालमा चोरी पैठारी तथा अवैधरूपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो।

सरकारले आफूले चलाइरहेको एउटा मोबाइल सेटबाहेक अर्को एउटा सेट विदेशबाट फर्किनेलाई भित्र्याउन दिन्छ। अर्थात् गैरकानुनी, आपराधिक एवं अवैध रुपमा प्रयोग भएका फोनबाहेक व्यक्तिगत रुपमा वैध रुपमा भित्रिने फोनहरुलाई एमडीएमएसले कुनै असर नपर्ने प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणले नेपाली नागरिकसँगै विदेशीहरुले नेपाल ल्याउने मोबाइल सेटहरुलाई दर्ता गरेर चलाउन सक्ने सुविधा दिएको छ। तर, त्यसका लागि प्राधिकरणले उपलब्ध गराएको प्रक्रिया भने पूरा गर्नुपर्छ।

यस्तो छ दर्ता गर्ने प्रक्रिया

विदेशबाट नेपाल भित्रिएका नेपाली नागरिकले आफ्नो इमेल प्रयोग गरेर प्राधिकरणमा मोबाइल सेट सञ्चालनका लागि आवेदन भर्नुपर्ने छ। प्राधिकरणले उपलब्ध गराएको अनलाइन पोर्टलमा गएर दर्ता प्रक्रिया अघि बढाउन सकिन्छ। प्रयोग भएको इमेलमा आवेदनको जानकारी आवेदकलाई दिइने प्राधिकरणले जनाएको छ।

फाराम भर्दा पहिलो स्टेपमा दर्ता गर्न लागिएको मोबाइल फोनको सम्पूर्ण विवरण भर्नुपर्छ। मोबाइलको आइएमइआई नम्बर, ब्राण्ड, मोडल र उक्त सेट प्रयोगमा छ वा छैन भन्ने खुलाउनुपर्छ।

दोस्रो स्टेपमा भने आवेदकले आफूले प्रयोग गर्ने इमेल राखेर वान टाइम पासवर्ड (ओटीपी) मार्फत प्रमाणीकरण गर्नुपर्ने बताइएको छ।

तेस्रो स्टेपमा आवेदकले व्यक्तिगत विवरणको खण्डमा आफ्नो विवरण भर्नुपर्छ। आवेदकले उक्त मोबाइलमा प्रयोग गरिने नेपाली मोबाइल नम्बर राख्नुपर्ने प्राधिकरणले जनाएको छ। पासपोर्टमा उल्लेखित ठेगाना राख्नुपर्ने र नेपाल भित्रिएको अराइभल डिटेल्समा आवेदकले कुन देशबाट नेपाल फर्केको र कहिले फर्केको विवरण उपलब्ध गराउनुपर्ने बताइएको छ।

आवेदक स्वयंले उक्त मोबाइल प्रयोग गर्ने भए मोबाइल युजर डिटेलमा सेल्फ छनोट गर्नु पर्नेछ। यदि प्रयोगकर्ता अरु नै भए निजको विवरण पनि उक्त्त खण्डमा उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ।

चौथो स्टेपमा आवेदकले आफूले भरेको विवरण यकिन गर्दै आवेदनसँग सम्बन्धित कागजात जस्तै पासपोर्ट, अध्यागमन विभागको राष्ट्र प्रवेश गरेको छाप, मोबाइल खरिद गरेको बिजक लगायतका विवरण स्पष्ट बुझिने स्क्यान कपी अपलोड गरी फारम बुझाउनु पर्ने प्राधिकरणले जनाएको छ। आवेदन सफल भएपछि इमेलमार्फत नै प्राधिकरणले आवेदकलाई जानकारी पठाउने गरेको छ।

प्राप्त आवेदनहरु प्राधिकरणले रुजु गर्दै स्वीकृत वा अस्वीकृत भएको जानकारी आवेदकलाई निजको इमेलमार्फत नै जानकारी गराउने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell