PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक चार दिनपछि आयो सञ्चालनमा



रासस

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक चार दिनपछि आयो सञ्चालनमा
फाइल फोटो : सन्तोष गौतम/रासस

म्याग्दी : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक चार दिनपछि सञ्चालन भएको छ। पर्वतको जलजला गाउँपालिका-७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो।

पहिरो पन्छाएपछि पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने सडकमा यातायातका साधन सञ्चालन भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ।

बेनी-जोमसोम कोरला सडक आयोजनाको ठेकेदार कम्पनी खड्का-कृष्णको सहायक ठेकेदार ओमकारेश्वरका दुईवटा डोजर परिचालन गरेर पहिरो पन्छाइएको थियो। तत्कालका लागि यातायात सञ्चालन भएपनि थप पहिरोको जोखिम भएकाले आवतजावतका क्रममा सतर्कता अपनाउन र रातको समयमा ध्यान दिन मिलनचोक प्रहरी चौकीका प्रमुख मुक्त खड्काले बताए।

स्तरोन्नतिको क्रममा रहेको मालढुङ्गा-बेनी सडकको केराबारी खण्डमा सडकमाथिको पाखो चिरा-चिरा परेको छ। सो ठाउँमा सडक विस्तारका लागि ठेकेदारले डोजर प्रयोग गरेर पहाड फुटाएको र जथाभावी ढुङ्गा निकालेकाले पहिरो गएको स्थानीयवासीले बताएका छन्।

मालढुङ्गा-बेनी सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङ आउने जाने सवारीसाधनले मालढुङ्गा-बागलुङ-बेनी सडक प्रयोग गरेका थिए। मालढुङ्गा-बागलुङ-बेनी सडकअन्तर्गत बेनी नगरपालिका-१ को रुइनेडाँडामा पहिराले सडक भासिएपछि सवारी सञ्चालनमा समस्या हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell