PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

फ्राइडे रिलिज : चार विदेशी फिल्मसँग भिड्दै ‘हिजो आजका कुरा’



पहिलोपोस्ट

फ्राइडे रिलिज : चार विदेशी फिल्मसँग भिड्दै ‘हिजो आजका कुरा’

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक नेपाली र चारवटा विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘हिजोआजका कुरा’, भारतीय फिल्मतर्फ ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कान्तारा’ तथा जापानको ‘वान पिस रेड’ रिलिज भएका हुन्।

सन्तोष पन्तको निर्माण रहेको ‘हिजो आजका कुरा’ आजबाट रिलिज भएको छ। सन्तोषका छोरा साकार पन्तले यसै फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन्। फिल्मले काठमाडौंमा बसोबास गर्ने परिवारका घरेलु सम्बन्धमा आएका समस्याको कथा भन्छ।

फिल्ममा सन्तोषका साथै रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ। लामो समय नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिसिरियल ‘हिजो आजको कुरा’ चर्चित सिरियल हो। सोही नाम सापटी लिएर यो फिल्म बनाइएको हो।

त्यसैगरी, भारतीय फिल्मतर्फ तीनवटा फिल्महरु रिलिज भएका छन्। कमेडी जनराको फिल्म ‘डक्टर जी’ ले मेडिकल व्यवसायको कथा बोल्छ। अनुभूति कश्यप निर्देशित यश फिल्ममा आयुष्मान खुराना डाक्टरको भूमिकामा छन्। फिल्ममा आयुष्मानको जोडीको रुपमा अभिनेत्री राकुल प्रीत सिंह देखिएकी छिन्। फिल्मको कथा समित सक्सेना, विशाल वाघ र सौरभले लेखेका हुन्।

त्यस्तै, सलमान खान अभिनित फिल्म ‘गडफादर’ भारतमा १० दिनअघि नै रिलिज भएको थियो। एक्सन जनराको यस फिल्ममा सलमानका साथै चिरञ्जीवी र नयनताराको मुख्य भूमिका छ। मोहनराज निर्देशित यस फिल्मले भारतमा ‌औसत व्यापार गरिरहेको छ।

यस्तै, दक्षिण भारतीय फिल्म ‘कान्तारा’ को हिन्दी भर्सन पनि आजबाट प्रदर्शन भएको छ। गत ३० सेप्टेम्बरमा कन्नड भाषामा रिलिज भएको यो फिल्म व्यावसायिक तथा समिक्षात्मक हिसाबले सफल छ। भारतीय फिल्म कन्तारा’लाई ‘केजीएफ २’ का निर्माताले निर्माण गरेका हुन्। ऋषभ शेट्टीद्वारा लिखित र निर्देशित ‘कान्तारा’ एक पीरियड-एक्शन थ्रिलर हो जसले कम्बला र बुटा कोलाको परम्परागत संस्कृतिलाई प्रस्तुत गर्छ। फिल्ममा ऋषभका साथै किशोर, अच्युत कुमार, सप्तमी गौडा र प्रमोद शेट्टीको अभिनय छ।

जापानी फिल्म ‘वान पिस रेड’ एनिमेटेड एक्सन फिल्म हो। गोरो तानिगुची निर्देशित यो फिल्म जापानमा ६ अगस्ट २०२२ मा रिलिज भएको थियो। जुन सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने फिल्म हो। सन् जापानमा सबैभन्दा धेरै कमाउने फिल्मको कीर्तिमान राखेको यो फिल्म माङ्गा फिल्म सिरिजको १५औँ श्रृंखला हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell