PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

खेलाडीको स्मरणमा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद : अहिले किन छैन पहिलेको जस्तो ‘चार्म’?



रिना थापा

खेलाडीको स्मरणमा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद : अहिले किन छैन पहिलेको जस्तो ‘चार्म’?
फोटो सौजन्य : सुदर्शन रञित

पोखरा : अहिले जस्तो चहलपहल हुन्थेन पोखरामा चार दशक अगाडि। बाक्लो बस्ती पनि थिएन त्यतिबेला। पोखराका मुख्य बजार चहलपहल हुनेगरी स्थापित थिएनन्।

पुरानो पोखरा बजारमा केही चहलपहल हुन्थ्यो। त्यसैको छेउमा रहेको महेन्द्रपुल नै मुख्य चोक थियो पोखराको। पर्यटकको उपस्थिति पनि नगन्य हुन्थ्यो।

त्यहीँ सन्नाटामा एकाएक पोखराले हजारभन्दा बढी बाह्य आगन्तुक भित्र्याउन पायो। २०३८ सालमा काठमाडौंमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भयो। दोस्रो प्रतियोगिता गण्डकी (अञ्चल)ले आयोजना गर्ने अवसर पायो। सोही अवसरमा २०४० मा हजारभन्दा बढी खेलाडी पोखरा आए। चैत १२ देखि २० गतेसम्म देशकै ठूलो खेलकुद प्रतियोगिता गण्डकीको सदरमुकाम पोखरामा भयो।

तत्कालीन राजा वीरेन्द्र शाहले उद्घाटन गरेको खेलमा दर्शकको उपस्थिति उत्साहजनक रहेको सम्झछन् सो समयका गण्डकीका खेलाडी। दोस्रो स्थान हासिल गरेको थियो गण्डकीले दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा। ५० स्वर्ण हात पार्दै बागमती प्रथम स्थानमा रहँदा गण्डकीले २१ स्वर्ण मात्र जितेको थियो।

प्रथम स्थान हासिल गर्न नसकेपनि प्रतियोगितालाई स्मरणयोग्य रुपमा सम्पन्न गरेको थियो गण्डकीले। त्यसैले त खेलाडीले चार दशकपछि पोखरा भित्रिएको नवौं राष्ट्रिय खेलकुदको समयमा दोस्रो खेलकुद प्रतियोगितालाई स्मरण गरिरहेका छन्।

खेलकुदको कुम्भ मेला भनेर पनि चिनिन्छ राष्ट्रिय खेलकुद प्रतियोगिता। सोही कुम्भ मेला फेरि एक पटक हुँदैछ पोखरामा। जसको आजदेखि औपचारिक रुपमा उद्घाटन पनि हुँदैछ।

प्रतियोगिता अन्तर्गतका केही खेल भने तीनचार दिन अगाडिबाट नै सुरु भइसकेका छन्। प्रतियोगिता सुरु भएसँगै नवौं खेलकुदको लागि गण्डकीको तयारी उदाङ्गो भएको छ। खेल सुरु हुनु अगाडिसम्म तयार नभएको मैदान, जर्सी नपाएर अलपत्र परेका खेलाडीले देखाउँछ गण्डकीको कमजोर तयारी। त्यसैले त खेलाडीले सम्झदैँ छन् पोखराको त्यो दोस्रो खेलकुद प्रतियोगिता। जसले पोखराको प्रवर्द्धनमा उत्कृष्ट टेवा पुर्‍यायो।

ह्यान्डबल प्रतियोगितामा गण्डकीको लागि स्वर्ण पदक जितेका थिए जुमकाजी गुरुङले त्यतिबेला। प्रतियोगितमा मानिसहरुको चहलपहल उनको स्मरणमा अझैपनि छ। त्यहीँ उत्साहजनक चहलपहल देखेर उनी खेल जीवनमा प्रवेश पनि गरे।

१९ वर्षको अल्लारे ठिटो। पीएन क्याम्पसको चौरमा खेल्दाखेल्दै प्रतियोगिताको लागि छनोट भए। अनि, पहिलोपटकमा नै स्वर्ण पदक हात पारे। सम्झिरहने क्षण हो त्यो जुमकाजीको लागि।

‘पहिलो चोटि ह्यान्डबल खेल्यो पहिलो चोटि नै गोल्डमेडल जित्यो। एउटा मात्रै खेल होला १४ अञ्चलले भाग लिएको थियो। अहिले ह्यान्डबल त्यति जम्न सकेन। गण्डकी प्रथम भाको थियो। गोल्ड मेडल पाउँदाको त्यो समय सम्झना लायक क्षण थियो’, उनले मुस्कुराउँदै भने, ‘खेलेर मात्र पनि सर्भाइब हुन सकिने रहेछ लागेको थियो। अहिले खेलेर मात्र केही नहने रहेछ, खेल्नुभन्दा बढी राजनीतिलाई महत्व दियो भनेर त्यताबाट अवसर पाउने माहोल देखियो।’

खेलमा त्यतिबेलाको चहलपहल उत्साहजनक रहेको बताउँछन् उनी। खेलाडीहरु पनि तनमन लिएर प्रतियोगितामा सहभागी भएको सुनाउँछन् जुमकाजी। त्यहीँ उत्साहले खेलक्षेत्रमा आएका उनी त्यती खुशी भने सुनिँदैनन् अहिले। उनी यतिबेला दुवै प्रतियोगितालाई नजिकैबाट नियाल्दै पनि छन्। त्यस समय खेलाडीका रुपमा भने अहिले नेपाल ब्याटमिन्टन संघको केन्द्रीय उपाध्यक्ष रुपमा। उनको गुनासो प्रतियोगिताको व्यवस्थापनमा छ।

‘पन्चायती बेलाको कुरा भयो। खेलाडीहरु एकदम नै समयमा आउने समयमा कार्यक्रम संचालन गर्ने। सबैकुरा समयमा व्यवस्थित हुन्थ्यो। अहिले चाहिँ त्यो बेलाको माहोल हेर्दा खेरि त्यति खेर जतिको अहिले लागेको छैन। त्यतिखेर म आफैँ खेलाडी थिएँ। म खेल्या थिएँ। त्यहीँ बेलाकै चहलपहलले म खेलकुदमा लागिराखेको हो। तर, अहिले जति समय बढ्यो खेलाडीले पाउने सुविधादेखि लिएर व्यवस्थापन चाहिँ एकदम फितलो भयो,’ उनले गुनासो पोखे।

त्यही जितले त हो उनलाई खेलमा भविष्य देखाएको। उनले त्यो र यो समय तुलना पनि गर्छन्। खेल क्षेत्र उकालो लाग्नुको साटो खस्किँदै गरेको उनलाई लागेको छ।

‘त्यतिखेर बास्केटबल थिएन म ह्यान्डबल बाट नै खेलेको थिएँ। त्यतिखेर हाम्रो प्रतिस्पर्धी बागमती अञ्चल नै थियो। खेल्दाखेरि खेल हो, कसरी हुन्छ जित्न पर्छ मेरो ठाउँलाई चिनाउनुपर्छ भन्ने थियो। अहिले त प्रतिस्पर्धा भन्दापनि खेल्ने खेलाडीदेखि लिएर आयोजक काम चलाउ टाइम पास गरे जस्तो देख्न आयो,’ उनले भने।

उद्घाटनको क्षण आइसक्यो। पोखरामा राष्ट्रिय खेलकुदको माहोल देखिँदैन। यसमा प्रचारप्रसार कम भएको होकि असमञ्जसमा छन् उनी।

‘कार्यक्रम चाहिँ गर्ने तर मनैबाट लाग्ने खाल्को भावना चाहिँ खासै देखिएन। बजारमा पनि त्यति साहै प्रचारप्रसार नभएको हो कि। खेलप्रति मान्छेको घृणा जागेको हो कि। त्यस ताकाको जस्तो त्यति चार्मिङ छैन,’ उनी निराश सुनिए।

त्यस समय रंगशालामा पूर्वाधारको विकास भएको थिएन। अधिकांश खेल बगरमा रहेको पृथ्वी नारायण क्याम्पसमा खेलाइयो। महेन्द्रपुल मुख्य बजार भएको हुनाले त्यतै बस्थे खेलाडी। महेन्द्रपुलबाटै हिँड्दै जान्थे रंगशाल र बगर। समय बित्यो। पूर्वाधार विकास भए। तर, व्यवस्थापनको पाटो झन फितलो बन्यो।

‘व्यवस्थापनको पाटो हेर्दा भौतिक संरचना मोटामोटी केही राम्रो छ। तर, म्यानेजमेन्टको हिसाबमा मलाई त्यतिखेर जतिको पनि लागेको छैन। हुन त भोलुम ठूलो भएर होला तर, अहिले त्यति राम्रो छैन’, उनले भने, ‘खेलकुदलाई माया गर्ने ठाउँमा पनि चहलपहल छैन। सामान्य रुपमा कुनै एउटा संस्थाले मात्र खेलाइरहेको जस्तो देखिन्छ बजारमा।’

चार दशकअगाडि मान्छेको त्यो उत्साहजनक उपस्थितिले अर्का बक्सिङ खेलाडी लोक गुरुङलाई अहिले पनि प्रफुलित पार्छ। भारतीय आर्मीमा थिए लोक। बिदामा नेपाल आउँदा प्रतियोगिता छ भन्ने थाहा पाए। सहभागि भए र स्वर्ण पदक जिते।

‘राजाको पालामा भएको खेल। राजा आउने भनेपछि बाटो साफसफाइ भयो सबै मान्छे सतर्क रहने आउने हेर्ने भयो। भीड धेरै थियो। शाही व्यक्तिहरु पनि आउनुभाथ्यो। उद्घाटनको दिनमा विभिन्न स्कुलबाट आएर सोहरु गरेको थियो। खचाखच भिडभाड। गारो लगाएको अग्लो पर्खालबाट रोमाञ्चक भिडभाड थियो,’ उत्साहका साथ सुनाए लोकले।

सेनामा भर्ती भएपनि उनी बक्सिङ खेल्थे। भारतको प्रतिनिधित्व गरेर विदेश पनि गएका छन् बक्सिङ खेल्न। भारतका राष्ट्रिय उपाधि विजेता पनि हुन् लोक। आफनो प्रर्दशनी नेपालमा देखाउन पाउँदा थप उत्साही थिए उनी।

‘विदेशमा बक्सिङ लड्छ रे भन्ने सुनेका थिए यहाँको इष्टमित्रले। तर, उहाँहरुको अगाडि नै मैले प्रदर्शन गर्न पाएँ। मेरो इष्टमित्र र साथीहरु पनि खुशी थियो हुटिङ गरेको थियो अति नै राम्रो लागेको थियो। एकदम रोमाञ्चक थियो,’ उनले सम्झिए।

त्यसैले पनि उनलाई दोस्रो राष्ट्रिय खेलकुदमै उमंग मिल्यो। अहिले प्रशिक्षकका रुपमा छन् उनी। आफना विद्यार्थीले राम्रो गर्न सकोस् भन्ने उनको कामना छ।

दोस्रो खेलकुद प्रतियोगितामा तत्कालिन सेती अञ्चल अनुशासनमा प्रथम भएको थियो। अञ्चल सचिवका रुपमा आएका थिए खड्क रानाभाट। अहिले उनी खेल अनुशासन उपसमितिको संयोजक छन्। सम्पन्न भएको सो प्रतियोगिताबाट पोखरा थप माथि उठ्न नसकेको बुझाइ उनको छ।

‘त्यतिबेला रंगशाला थिएन। सानो बन्दै थियो। अहिले चाहिँ भव्य रंगशाला बनेको छ। पूर्वाधार बनिरहेको छ। तर, जति बन्नुपर्ने हो अरुअरु प्रदेशले जसरी राष्ट्रिय खेल हुँदा पूर्वाधार विकास गर्‍यो। पोखराले त्यो गर्न सकेको छैन। त्यति बेला राम्रो तरिकाले खेल चलेको थियो,’ उनले भने।

गण्डकीले आयोजना गरेको खेलमा खटाइ भने केन्द्रको छ। जसले गर्दा प्रतियोगितालाई असर पर्ने धारण राख्छन् उनी।

‘अहिले अलिकति काठमाडौंबाट नै राष्ट्रिय खेलकुद परिषद् यहाँकोहरु त्यति परिचालन गरेको छैन। उहाँहरुले यहाँको मान्छेलाई सहयोग गर्ने गरी अगाडि जानुपर्थ्यो। सबै आफैँ हेर्दै हुनुहुन्छ। त्यसले गर्दा अलिकति जिगज्याक हुनसक्छ। अथवा त्यति राम्रो हुँदैन,’ उनले भने।

त्योसँगै खेलकुदको शहर आफैँ पनि तयार भएर नउठेको उनको धारण छ।

‘त्यतिबेला मान्छेलाई धेरै जिज्ञासा हुन्थ्यो। अहिले त धेरै खेलहरु हुन लागे। त्यसैले त्यो बेलाको जस्तो मान्छेलाई कौतहुल चाहिँ अलि छैन। प्रचारप्रसार पनि त्यति हुन नसकेको हो कि भन्ने लागिरहेको छ। त्योबेलाको जस्तो अलिकति नदेखिएको जस्तो लाग्छ। पोखरामा जति खेलकुद हुने शहर अन्त कतै छैन। अहिले पोखरा जुरुक्क उठ्नुपर्ने हो त्यो उठेको छैन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell