काठमाडौं : नवौं राष्ट्रिय खेलकुद आजबाट पोखरामा सुरु हुँदैछ। खेलकुदको आज औपचारिक उद्घाटन हुँदैछ। केही खेलहरु यसअघि नै सुरु भएकोमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेसँग प्रतियोगिता औपचारिक रुपमा सुरु हुनेछ।
राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न विधाका खेलको प्रतिस्पर्धाका लागि रङ रोगन गरेर पोखरा रङ्गशालालाई चिटिक्क बनाइएको छ। रंगशालाको पृष्ठभूमिमा बिहान माछापुच्छ्रे हिमाल खुल्दाको दृश्य मनोरम देखिएको छ।
पोखरा रङ्गशालामा आज बिहानदेखि निकै चहलपहल देखिएको थियो। खेलाडी तथा अफिसियलहरु खेलको तयारीमा रंगशालमा जुटिरहेका देखिन्थे।
प्रतियोगितामा ११ टोली प्रतिस्पर्धामा छन्। तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस, सात प्रदेश र एनआरएनले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्।
अधिकांश खेलहरु कास्कीको पोखरामा र बाँकी खेलहरु गण्डकी प्रदेशको विभिन्न जिल्लाहरुमा हुनेछन्। प्रतियोगितामा खेलाडीले ३६ खेलका विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।