PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

होटेलको कोठामा पुगेको करिब १० मिनेटमै युवतीको शरीर जल्यो, आफैँ ट्याक्सीमा बसेर अस्पताल पुगेकी युवतीको मृत्यु रहस्यमय



पहिलोपोस्ट

होटेलको कोठामा पुगेको करिब १० मिनेटमै युवतीको शरीर जल्यो, आफैँ ट्याक्सीमा बसेर अस्पताल पुगेकी युवतीको मृत्यु रहस्यमय
प्रतीकात्मक तस्विर।

काठमाडौं : सोमवार नक्सालस्थित एक होटेलको कोठामा जलेर मृत्यु भएकी युवतीको घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

नक्सालस्थित होटेल क्राउन प्लाजामा सोमवार एक युवतीको जलेर मृत्यु भएको थियो। काठमाडौंको चाबहिलमा बस्दै आएकी २३ वर्षीय युवतीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बहादुर बोहराले बताए। घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

युवतीसँगै होटेलमा पुगेका जितपुर सिमरा उपमहानगरपालिका घर भएका २७ वर्षीय केशव रिजाल र होटेलका कर्मचारी सिन्धुली घर भएका पदम कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटना आत्महत्या वा हत्या हो भन्ने खुल्न सकेको छैन।

‘अहिले पनि अनुसन्धान भइरहेको छ। तर, यही हो भन्ने अवस्थामा छैनौँ,’ एसएसपी भरतबहादुर बोहराले भने।

प्रहरीले होटेलका कर्मचारीसँग सोधपुछ गरेको छ भने सीसीटीभी फुटेज समेत बरामद गरेको छ। युवती र पक्राउ परेका युवक प्रेमी प्रेमिका समेत भएको खुल्न आएको छ।

युवतीको काठमाडौंमा एक म्यानपावर कम्पनी रहेको र युवक त्यही म्यानपावर कम्पनीमा काम गर्ने गरेको पनि खुल्न आएको प्रहरीले जानकारी दिएको छ। घटना भएको दिन उनीहरू दुवै जना सामान्य तरिकाले नै होटेल पुगेको सीसीटीभी क्यामरा फुटेजमा देखिएको छ।

‘क्यामेरामा हेर्दा कुनै हडबडी वा शङ्का गर्नुपर्ने शारीरिक लवज देखिएको छैन,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

होटेलमा पुगेपछि युवकले आफ्नो नागरिकता दिएर कोठा बुक गराएका थिए। होटेलको कोठामा पुगेको करिब १० मिनेटपछि युवतीको शरीरमा आगो लागेर बाहिर निस्किएको देखिन्छ। आगो निभाउन युवकले समेत सहयोग गरेको देखिएको छ। त्यसपछि युवकले नै उनलाई ट्याक्सीमा राखेर अस्पताल पुराएका थिए।

‘जलेको शरीर लिएर युवती आफैँ ट्याक्सीमा बसेर अस्पताल गएको देखियो,’ एक अधिकृतले भने।

तर, अस्पतालमा उपचारको क्रममा सोमवार उनको मृत्यु भयो। कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। तर, अस्पताल लगेर उपचार गरेपछि मात्र प्रहरीले खबर पाएको थियो।

घटना भइसकेपछि पनि होटेलले प्रहरीलाई खबर नगरेकाले पनि होटेल शङ्काको घेरामा परेको देखिन्छ। युवकले अहिलेसम्म आफूले हत्या नगरेको बताउँदै आएका छन्।

युवतीले नै होटेलसम्म प्रजल्नशिल पदार्थ बोतलमा हालेर लगेको देखिएको छ। यदि आफैँले नै आगो लगाएको भए किन लगाइन्? युवकले लगाएको भए किन गरे? भन्ने प्रश्नको जवाफ भने प्रहरीले अहिलेसम्म भेटाएको छैन।

पक्राउ परेका दुई जनाविरुद्ध प्रहरीले जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell