काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्ना प्रत्यासी नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन जिते पनि केही काम नगरेको आरोप लगाएका छन्।
काठमाडौं-५ ‘क’ ले शुक्रवार बिहान आयोजना गरेको कार्यक्रममा पौडेलले एमाले सरकारमा रहँदा पोखरेल जनविरोध कार्यमा संलग्न भएको बताएका हुन्।
'कसैले धेरै फुर्ती नगरे हुन्छ। चुनाव जित्ने अनि जनताको पक्षमा काम नगरी जनविरोधी काम गर्नेहरुले यो क्षेत्रमा केही गरेका छैनन्,' पौडेलले भने।
पौडेल र पोखरेल यस क्षेत्रबाट प्रत्यासी हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा दुईपटक संसद भंग गरेको घटनाप्रति लक्षित गर्दै पौडेलले पोखरेल पनि जनविरोधी कार्यमा संलग्न भएको तर्क गरेका हुन्।
आफूले मौका पाएमा अर्को पटक मतै नमाग्नुपर्ने गरि विकास गर्ने पौडेलको दाबी छ।
'हामी प्रतिवद्धता गर्न चाहन्छौं, हामीलाई मौका दिनुस्, हामीले अर्को चुनाव लड्दै गर्दा हामीले भोट मागिरहनु पर्दैन। हामीलाई खोजिखोजी भोट हाल्ने स्थिति हामी निर्माण गर्न चाहन्छौ,' उनले भने।