
काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गठबन्धन पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि उनले प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुलाई पदमुक्त गरेका हुन्।
राउतले भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहलाई पदमुक्त गरेका हुन्।
राउतले सो मन्त्रालयको जिम्मेवारी आफैले लिएका छन्।
राउत नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाट पनि मन्त्रीहरु छन्। राउत सरकारमा माओवादी केन्द्रबाट गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, सोही मन्त्रालयकी राज्यमन्त्री रुवीकुमारी कर्ण तथा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो एवं कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादव छन्। उनीहरुलाई पनि राउतले मधेस प्रदेश सरकारबाट हटाउन सक्ने बुझिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संघीय सरकारमा सहभागी जसपाका राजेन्द्र श्रेष्ठ, मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इश्तियाक राई र प्रदीप यादवलाई बर्खास्त गरेका थिए। देउवाले सो निर्णय गरेपछि राउतले पनि काउन्टरमा कांग्रेसका मन्त्री हटाएका हुन्।