PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

एमाले छाडेका प्रभु साह चुनावपछि माओवादीमै फर्कने! यी ‘फ्याक्टर’ले गर्नसक्छ काम



प्रकाश भण्डारी

एमाले छाडेका प्रभु साह चुनावपछि माओवादीमै फर्कने! यी ‘फ्याक्टर’ले गर्नसक्छ काम

काठमाडौं : नेकपा (एमाले) त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह चुनावपछि फेरि पुरानै पार्टी माओवादी केन्द्रमा फर्कने भएका छन्। चुनावपछि साह नेकपा माओवादी केन्द्रमा फर्कने तयारीमा रहेको माओवादीका एक पदाधिकारीले बताए। ‘चुनावपछि साह माओवादी केन्द्रमा फर्कन्छन्। वामपन्थी आन्दोलन उहाँले छोड्न सक्नुहुन्न। एमाले छोडेपछि उहाँ माओवादीमै हो आउने भनेको,’ ती पदाधिकारीले भने।

नेकपा (माओवादी केन्द्र)का पूर्व नेता साह सर्वोच्च अदालतले गरेको एमाले र मओवादी केन्द्रको एकता बदरपछि एमालेमा सक्रिय भएका थिए। माओवादीले पार्टीमा फर्कन पटक-पटक आग्रह गरे पनि उनले आफू एमालेमा रहने बताएपछि माओवादी केन्द्रले साह सहितका ४ जना सांसदलाई प्रतिनिधि सभाको सदस्यबाट हटाएको थियो। ओलीले गरेको पहिलो पटकको प्रतिनिधि सभाको विघटनपछि माओवादीका मन्त्रीहरुले राजीनामा गरेको भए पनि साह शहरी विकास मन्त्रीबाट हटेनन्।

त्यतिबेला एमालेमा लागेर सांसद पद गुमाएका साह फेरि  माओवादीकै समर्थनमा सांसद हुने तयारीमा छन्। ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमलाई साथ दिएका साह स्थानीय तह निर्वाचनको टिकट वितरणका बेला पनि असन्तुष्ट बनेका थिए। प्रतिनिधि सभाको निर्वाचनका बेलामा भने उनले एमाले नै त्यागे।

पुरानै पार्टी फर्कने भएपछि रौतहट-३ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका साहलाई माओवादी केन्द्रले समर्थन गरेको छ। माओवादी केन्द्रबाट उम्मेदवार बनेका रबीन्द्र पटेललाई साहलाई समर्थन गरेर निस्क्रिय रहन माओवादीले निर्देशन दिएको छ। माओवादी केन्द्र सत्ता गठबन्धनकै दल भएकाले अब साहलाई गठबन्धनकै समर्थन कायम भएको छ। मनोनयनकै दिन साहले एमाले छाडेका थिए।

एमालेले जनता समाजवादी पार्टी, नेपाल (जसपा)सँग चुनावी तालमेल गरेपछि साह असन्तुष्ट बनेका हुन्। एमालेले जसपालाई प्रतिनिधि सभामा १७ सिट दिएर चुनावी तालमेल गरेको छ। आफ्नो क्षेत्रमा चुनावी तालमेल गरेर राजनीतिक रुपमा कमजोर पार्न एमालेका अध्यक्ष ओली लागेको साहले आरोप लगाइरहेका छन्। एमालेले भने साहले टिकटका लागि बार्गेनिङ गरेको र अन्तिममा षड्यन्त्र गरेको आरोप लगाइरहेको छ। उनी स्थानीय तह निर्वाचनकै बेलामा पनि माओवादी केन्द्रसँग संवादमा रहेको भन्दै एमालेले उनीमाथि निगरानी बढाएको थियो। एमालेका स्थायी कमिटी सदस्य समेत रहेका साहले एमालेकै अर्का नेता रुघुवीर महासेठ र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई ओलीले मधेशको राजनीतिको जिम्मा दिएकाले आफू बाहिरिएको सञ्चार माध्यमहरुमा प्रतिक्रिया दिइरहेका छन्। माओवादी नेताहरुका अनुसार साह माओ‌वादीमै फर्कन विभिन्न फ्याक्टरहरुले काम गर्ने छ।

बाबुराम कनेक्सन

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्र परित्याग गर्नुअघि साह भट्टराई पक्षमा थिए। उनी पछिल्लो समय पनि भट्टराईसँग लगातार संवादमा रहेको बताइन्छ। माओवादीका ति पदाधिकारी पनि चुनावपछि साह र भट्टराई दुबैजना माओवादीमा सक्रिय हुने तयारीमा रहेको बताउछन्। ‘बाबुरामजी पनि आउने र साह पनि आउने तयारी छ। उहाँलाई पहिला पनि बाबुरामको मान्छे भन्ने चलन थियो,’ उनले भने।

भट्टराईले माओवादीसँगको सम्बन्धलाई सुधारेर फेरि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक रुपमै समर्थन गरिरहेका छन्। पार्टी नै एकताका लागि गृहकार्यमा रहेका बाबुरामले आफ्ना पार्टीका उम्मेदवारलाई माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडाबाट चुनावमा उठाएका छन्। भट्टराईले आफ्नो चुनाव क्षेत्र गोरखा-२ छाडेर प्रचण्डलाई उम्मेदवार बनाएका छन्। प्रचण्डले पनि नेसपासँगको सहकार्य चुनावी सहकार्यमात्रै नभएर पार्टी एकताको तयारीसमेत भएको बताएका छन्। जसपबाट अलग भएका भट्टराईले समाजवादी केन्द्र बनाउन छलफल अघि बढाएका थिए। तर तत्काल समाजवादी केन्द्र नबन्ने भएपछि उनी प्रचण्डसँगको सहकार्यमा पुगेका हुन्।

चुनावी परिणाम बन्न सक्छ एकताको फ्याक्टर

साहलाई माओवादीमा फेरि इन्ट्री गर्ने अर्को फ्याक्टर हो - चुनावी नतिजा। चुनावी परिणामपछि भट्टराई र साह मात्रै नभएर नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकता हुने नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले बताए। 

‘चुनावपछि वाम ध्रुविकरण नै सुरु हुन्छ। त्यो चुनावी परिणाममा पनि भर पर्छ। राम्रो जनमत पाएमा मोर्चागत हुन्छ। अहिलेको गठबन्धन जस्तै। कमजोर जनमत आयो भने एकता नै हुन्छ,’ उनले भने। एकीकृत समाजवादीसँग एकता गर्न माओवादी केन्द्रले कार्यदल बनाएको थियो। एकीकृत समाजवादीले पनि एकताका लागि कार्यदल बनाउने निर्णय गरेको थियो। समाजवादीमा केही शब्दहरु थपेर एकतापछि पार्टीको नाम राख्ने प्रचण्डले पार्टी एकताबारेमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगको छलफलपछि बताएका थिए।

उपेन्द्र र प्रभुको अदलबदलले कस्तो प्रभाव पार्ला मधेशमा?

मधेश प्रदेशका जिल्लाहरुमा राम्रो पकड रहेको मानिएका उपेन्द्र गठबन्धनबाट बाहिरिएपछि सत्ता गठबन्धनले तराईमा अप्ठेरो पर्ने निष्कर्ष निकालेको थियो। तर जसपाले गर्ने क्षतिलाई लोसपा र साहको एमाले परितत्यागले मधेश प्रदेशमा भरथेग गर्ने बुझाइमा गठबन्धनका नेताहरु छन्। ‘यादव बाहिरिए पनि साह आएपछि बराबरै हुन्छ भन्ने छ माओवादीलाई। यादव पनि मधेशमा बलियो नै नेता हुन्। जति कमजोर भनिए पनि,’ साहले भने।

मधेश सम्हाल्ने नेताको खोजीमा माओवादी

साह एमाले पसेपछि मधेशमा माओवादी कमजोर बनेको थियो। मधेशमा माओवादीका तर्फबाट उपमहासचिव मात्रिका यादवलाई बलियो नेताका रुपमा लिइन्थ्यो। तर स्थानीय तह निर्वाचन अघिदेखि नै प्रचण्डले मधेशमा पछिल्लो समय कुनै पनि नेतालाई जिम्मेवारी दिएरै अघि सारेका छैनन्। माओवादीमा साहको रि-इन्ट्रीलाई लिएर अनेक आँकलन हुन थालेका छन्। यादव-साहबिच यसअघि पनि टसल रहेको थियो। पछिल्लो समय सचिव गणेश साहलाई पनि प्रचण्डले मधेशको नेताको रुपमा अघि बढाइरहेका छन्। माओवादीले पछिल्लो समय मधेशका नेतारुको बिचमा टकराव हुन थालेपछि प्रचण्डले मधेश प्रदेशको  निर्णय आफै गर्ने गरेका थिए। प्रभु साहले माओवादीलाई मधेशमा लागातार जनमत सिर्जना गरिरहेको नेताको रुपमा लिइन्छ। साह बाहिरिएपछि मधेशमा कमजोर बनेको माओवादी फेरि आफ्नो साख फर्काउने दाउमा छ। उनी २०७६ मा माओवादीको मधेश प्रदेशको अध्यक्ष बनेका थिए। २०६४, दोस्रो संविधान सभा र २०७४ को प्रतिनिधि सभामा साह लगातार रौतहट ३ बाट निर्वाचित भएका थिए।

यादव पनि पुरानो कम्युनिस्ट नेता हुन्। २०२८ सालदेखि नै राजनीतिमा सक्रिय रहेका साह माओवादीबाट असन्तुष्ट भएर विभाजित भएका थिए। उनी फेरी माओवादीमै फर्किए पनि माओवादीभित्र उनलाई प्रचण्डले विश्वास नगर्ने बताइन्छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell