काठमाडौंः एक किशोरको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
सिरहा गोलबजार नगरपालिका-३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका-६ बस्ने १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका-५ बस्ने २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर रहेका छन्।
अपहरण पश्चात फिरौतीको रकम लिन विराटनगर महानगरपालिका-९ माछापुच्छ्रे बैंक पुगेका ती १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो। अंशुको हत्या गरी विराटनगर महानगरपालिका-११ स्थित गेष्ट हाउसको कोठामा लोबेडभित्र तन्नामा पोको पारी शव राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो। अंशुको भदौ २६ गते सिरहाबाट अपहरण भएको थियो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।