PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

अभाव र विवादबीच नवौं राष्ट्रिय खेलकुद उद्घाटन, जता हेर्‍यो उतै छ भद्रगोल



रिना थापा

अभाव र विवादबीच नवौं राष्ट्रिय खेलकुद उद्घाटन, जता हेर्‍यो उतै छ भद्रगोल
फोटोः रासस

पोखराः नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा उद्घाटन भयो। ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिता शुक्रबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे। उद्घाटनमा रंगशाला रमेको थियो। झाँकी, नृत्य, गायन तथा सातै प्रदेशको संस्कृतिको झलक प्रस्तुत भयो।  

उद्घाटन भव्यरुपमा भए पनि विवाद र अभावमा अल्झिएको छ प्रतियोगिता। उद्घाटन अगाडि नै प्रतियोगिताका केही खेल सुरु भइसकेका थिए। ती खेलले फितलो तयारी देखाइसकेका छन्।

२३ गतेबाट प्रतियोगिताका केही खेल सुरु भएका छन्। पोखरा रंगशालाको कर्भड हलमा जारी छ हन्डबल। २६ गते सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश भिड्दै थिए मैदानमा। मैदानमा उत्रिँदै गर्दा दुबै टिमको जर्सी एकै पर्‍यो। जर्सी एकै भएपछि सुदूरपश्चिमले ‘बिब’ लगाएर खेल्यो। पाएको जर्सीमा पनि अंक प्रिन्ट थिएन। मार्करले अंक लेखेर मैदानमा उत्रिएका थिए खेलाडी। उस्तै समस्या लुम्बिनी प्रदेशले पाएको जर्सीमा पनि थियो। अंक प्रिन्ट नभएका र साइज नमिल्ने जर्सीको गुनासो थियो उनीहरुको। बिहीबार ६ घण्टा ढिलो सुरु भएको महिला हक्कीको खेलमा पनि बागमती र गण्डकी प्रदेशको जर्सी एउटै थियो। यद्यपि, हिजो मैदानमा दुबै प्रदेश प्रतिस्पर्धी भने थिएनन्। अघिपछि गरेर एकअर्काको खेल भए पनि दुई टोली छिट्टै मैदानमा प्रतिस्पर्धामा उत्रिँदै छन्।

जर्सी नै नपाएका कारण महिला हक्की खेल ६ घण्टा ढिलो सर्‍यो। खेलको पूर्वसन्ध्यामा हक्कीका लागि ग्राउण्ड बनिसकेको थिएन। पूर्वाधार व्यवस्थापनमा ढिलाइ तथा लापरबाहीले खेलाडी घण्टौँ अलपत्र भएर बस्न बाध्य भए। उता, पुरुष हक्कीको खेल पनि ढिलोगरी सुरु भएको थियो। हेम्जामा भएको प्रतियोगिता सकिएपछि खेलाडी लिनलाई समयमा गाडी पनि पुगेन। डेढ घण्टा खेलाडीलाई कुराएपछि मात्र पुगेको गाडीले होटल छोड्दा खेलाडीले खाना नै पाएनन्। खेल सकेर दिउँसो ३ बजे लेकसाइडको होटलमा पुग्दा खाना सकिएको थियो।

‘गेम नै ढिलो भयो। गाडी पनि कुर्नुपर्‍यो। फोन गर्दा एउटाले एउटाको नम्बर दिन्छ अर्कोले अर्कोको। पछि होटल पुग्दा खाना नै सकिएको छ भन्यो। पछि खाजा खाएर बस्यौँ,’ एक खेलाडीले भने, ‘हामीलाई प्रेसर भएको छ। बस कतिबेला हुन्छ खेल हुन्छ कि हुँदैन। तनाव लिएर खेलाडी प्रेसरमा कसरी खेल्ने?’

प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न १४ वटा उपसमिति गठन भएका थिए। स्वास्थ्यदेखि यातायात, स्रोत परिचालन, खेलसाम्रागी तथा पोशाक व्यवस्थापन गरी अन्य १४ उपसमिति बनेका छन्। तर, उपसमितिको अर्थ र काम नै देखिएन।

सबैभन्दा बढी गुनासो खेल साम्रागीमा छ। फेन्सिङका खेलाडीले खेल साम्रागी खेल सकिएपछि पनि पाएका छैनन्। शुक्रबार फेन्सिङ खेल समापन भयो। फेन्सिङ खेलमा विद्युत् आवश्यक पर्छ। रंगशालामा बत्ती गइरहँदा खेलमा निकै समस्या भयो। २५ गते साढे तीन घण्टा विद्युत् आपूर्ति नहुँदा फेन्सिङ खेल रोकिएको थियो। कार्यक्रम सम्पन्न गर्नका लागि गतिलो स्थान पनि पाएनन उनीहरुले। चेन्जिङ रुममा अफिसियल कामकाजका लागि कार्यालय बनाए। यतिमात्र होइन उनीहरुले लगाएको मेडल पनि एकछिनमै खोसियो।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज रंगशाला आएका थिए २६ गते अवलोकनका लागि। मन्त्री आएपछि सानो कार्यक्रम तय भयो। इपी इभेन्टका विजेतालाई मेडल लगाइदिने मन्त्रीका हातबाट। मन्त्री आइसक्दा इभेन्टका लागि मेडल आइपुगेन। दिउँसो मेडल जितेका खेलाडीसँग सापटी मागियो। र, इभेन्टका विजेतालई मन्त्रीको हातबाट मेडल लगाइयो। मेडल लगाएर फोटो खिचिसकेपछि खेलाडीको मेडल फिर्ता गरिएको थियो। मेडल थापेका खेलाडी भने रनभुल्ल। गुनासो नै गुनासो छन् हरेक खेलाडीको।

भद्रगोल पारामा चलेको ९औँ राष्ट्रिय खेलकुद भने भव्यरुपमा सम्पन्न गर्ने विश्वस्त छन् खेलकुदमन्त्री र गण्डकीका मुख्यमन्त्री।

संघ सरकारका खेलमन्त्री गहतराजले खेलकुदको समग्र विकासमा स्थानीय, प्रदेश र सरकारले नीति कार्यक्रम र योजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे। यस्तै राष्ट्रिय खेलकुद मर्यादित बनाउन कार्यविधि ल्याएको पनि जानकारी दिए।

‘यो प्रतियोगितालाई व्यवस्थित मर्यादित तुल्याउन राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन कार्यविधि २०७९, नेपाल सरकारबाट स्वीकृत भएको र सोही कार्यविधिको आधारमा आवश्य समिति र उपसमिति गठन गरी आवश्यक बजेट पनि छुटाइएको छ,’ मन्त्रीले भने।

प्रतियोगिताले राष्ट्रको गौरव बढाउन मद्दत पुर्‍याउने उनको भनाइ थियो। यस्तै समारोहमा बोल्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगितामा छनोट भएका खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने पनि बताए। त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गण्डकीलाई खेलकुदमय बनाउनका लागि सहयोग गर्ने प्रतिबद्धता गरेका छन्। साथै गण्डकीको तर्फबाट खेलकुद व्यवस्थापनमा केही कमजोरी भए क्षमा गरिदिन पनि आग्रह गरेका छन्।

‘होष्ट प्रदेशको रुपमा जिम्मेवारी लिएको सम्बन्धित सबैलाई धन्यवाद दिन चाहान्छु। हाम्रो क्षमताले भ्याएसम्म तपाईँहरुलाई सहजताले राख्ने कोसिस गर्नेछौं कहीँ केही कमजोरी भयो भने पनि त्यसलाई यहाँहरुले क्षमा गरिदिनुहुनेछ,’ मुख्यमन्त्री पोखरेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell