PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कलाकारलाई पनि चुनावी चटारो: कुन नेताको प्रचारमा को?



लक्ष्मी बलायर

कलाकारलाई पनि चुनावी चटारो: कुन नेताको प्रचारमा को?

काठमाडौं: निर्वाचनको माहोल सुरु भएसँगै कलाकारलाई पनि चुनावी चटारो लागेको छ। कोही कलाकार आफैं चुनावी मैदानमा उत्रिएका छन् भने कोही आफू निकट नेताहरुको प्रचारमा।

कार्यकर्ता तान्न र चुनावी मञ्च धान्न पनि नेताहरुले कलाकारको प्रयोग गर्छन्। सांगीतिक माहोल बनाउनमात्र हैन हिजोआज कलाकार पनि राजनीतिक दलमा प्रवेश गरेरै चुनावी प्रचारमा खटिन्छन्।  

मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा नायिका रेखा थापादेखि कमेडियन हिमेश पन्तसम्म चुनावी मैदानमा छन्। यता करिष्मा मानन्धरदेखि श्वेता खड्का भने नेताको प्रचारमा उत्रिएका छन्।

कुन कलाकार कताबाट उठ्दै?

अभिनेत्री रेखा थापा मोरङ क्षेत्र ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हुन्। यहाँ गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा उम्मेदवार छन्। एमालेका तर्फबाट पूर्वमन्त्री भानुभक्त ढकाल चुनावी मैदानमा छन्। २०७४ मा यो क्षेत्रबाट ढकाल निर्वाचित भएका थिए।

निर्देशक मनोज पण्डित काभ्रे २ बाट चुनावी मैदानमा छन्। यहाँ गठबन्धनबाट कांग्रेसका शिवप्रसाद हुमागाईं उम्मेदवार छन् भने एमालेबाट गोकुल बाँस्कोटा प्रतिस्पर्धी हुन्।

रोज राणा (सरोज थापा) प्युठान प्रदेश (ख) बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

एमालेबाट कोमल वली यसपटक क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचनमा होमिएकी छिन्। गठबन्धनबाट यस क्षेत्रमा कांग्रेसका दिपक गिरी चुनावी मैदानमा छन्।

मीन भान कांग्रेसको समानुपातिक सूचीमा परेका छन्। कमेडियन हिमेश पन्त धादिङ १ बाट चुनावी मैदानमा छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्। यता मधुसुधन पाठक ‘सिते बा’ काठमाडौं ५ बाट चुनावी मैदानमा छन्। गायक सञ्जय श्रेष्ठ काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवार छन्। राप्रपामा आवद्ध उनी पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्रमा उत्रिएका हुन्।

कसको प्रचारमा को?  

चुनावी माहोल बनाउन नेताहरुले चर्चित कलाकारलाई चुनावी अभियानमा लैजाने गर्छन्। आकर्षक गीत गाउनेदेखि माहोल आफ्नो पक्षमा पार्न नेताहरुले यस्तो उपाय अपनाउने कलाकार नै बताउँछन्। यसो त कतिपय पार्टीकै होलटाइमर कलाकार बन्ने पनि छन्।

विभिन्न निकायमा नियुक्ती लिन र राजनीतिमा सक्रिय बन्न कलाकार राजनीतिक दलका नेताहरुसँग नजिक हुने गरेका छन्। यसका लागि कलाकारहरुले निर्वाचन क्षेत्रमै पुगेर मत माग्नेदेखि सामाजिक सञ्जालमार्फत प्रचार गर्नसम्म भ्याएका छन्।

कांग्रेसका महामन्त्री गगन थापाको उम्मेदवारी दर्तामा मोडल ओसिन सिटौला प्रस्तावक बनिन्। ओसिन काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-९ की मतदाता हुन्। अभिनेता अनुपविक्रम शाही महामन्त्री थापाको चुनाव प्रचारमा लागिसकेका छन्। केही समयअघि अनुपलाई गृहमन्त्री बालकृष्ण खाणले काँगेसको भ्रातृ संगठन तरुण दलमा प्रवेश गराएका थिए। शाहीले खुलेरै कांग्रेस उम्मेदवारद्वय गगन थापा र उदय शम्शेर राणाका लागि पनि खुलैरै भोट मागिरहेका छन्।

शाहीले फेसबुकमा लेख्छन्, ‘सहयोगी दूरदर्शी नेताहरू, श्री गगन थापा र श्री उदय शमशेर राणाले हाम्रो देशमा केही सकारात्मक परिवर्तन ल्याउने नेतृत्वको अपेक्षा गर्दछौं। जय नेपाल।’

केपी ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेकी करिष्मा मानन्धर पनि सामाजिक सञ्जालबाट चुनावी प्रचारमा उत्रिएकी छिन्। मानन्धरले काठमाडौं क्षेत्र नम्बर १० बाट चुनावी मैदानमा रहेका एमालेका उम्मेदवार हिमेश केसीको पक्षमा मत मागेका छन्। यस क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसका राजन केसी चुनावी मैदानमा छन।

चुनावी प्रचारमा उत्रेका अर्का सेलिब्रेटी हुन् - निर्देशक तथा अभिनेता निश्चल बस्नेत। बस्नेतले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा अभियन्ता श्री गुरुङलाई समर्थन गरिरहेका छन्। निश्चलले गुरुङको प्रचारमा समेत साथै दिँदै मत मागिरहेका छन्। यस क्षेत्रमा गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल चुनावी मैदानमा छन् भने एमालेबाट ईश्वर पोखरेल।

‘म आफू बस्ने ठाउँबाट देशको जनताको आवाज बोल्ने र पर्यटनले देशको भविष्य बनाउने योजना बोकेका श्री गुरुङ दाजुलाई काठमाडौं क्षेत्र नं ५ बाट उमेदवारको लागि प्रस्ताव गरेको छु। राजनीतिसँग रुष्ठ हुनुहुन्छ भने मौका यही हो, बाटो परिवर्तन गरौं, भोट परिवर्तन गरौं, सोच परिवर्तन गरौं,’ बस्नेतले फेसबुकमा लेखेका छन्।

यसअघि स्थानीय चुनावमा बस्नेतले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन दिएका थिए। अभिनेत्री श्वेता खड्का केही समयअघि कांग्रेस प्रवेश गरेकी थिइन्। प्रतिनिधि सभाको चुनावमा श्वेताले गठबन्धनको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र न २ मा उम्मेदवार रहेका मोहनबहादुर बस्नेतको पक्षमा मत मागेकी छन्।

‘बस्नेतज्यूकै चुनावी क्षेत्रमा निर्माण भइरहेको एकीकृत नमूना माझी बस्तीले समेत उहाँको कार्यकालमा विकास, उन्नति र, प्रगति र समृद्धिको अनुभव गर्न पाउने आशा र विश्वास लिएको छु,’ उनले लेखेकी छिन्।

पार्टीका सांस्कृतिक विभागको आ-आफ्नै तयारी

चुनावी प्रचारमा उम्मेदवारले फरकफरक कलाकारको प्रयोग गरे पनि पार्टीमा रहेको सांस्कृतिक विभागले देशभर आफ्नो पार्टीको उम्मेदवार जिताउने रणनीति बनाउँछ। यसका लागि उनीहरुले देश दौडाह कार्यक्रमदेखि आफ्नो पार्टीको गीत बनाउन सक्रिय हुन्छन्।

माओवादीसम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघका उपाध्यक्ष तथा गायक चेतन सापकोटाले चुनाव लक्षित गीत रेकर्डिङ सुरु भएको बताए।

'आजै माओवादी अध्यक्ष प्रचण्डको पक्षमा माहोल बनाउने गीतको रेकर्ड हुँदैछ। अरु कुरा थाहा छैन, गठबन्धनलाई नजिताई भाछैन, प्रचण्डले सोचेजस्तो गर्न पाछैन बोलको गीत चाँडै आउँछ,' सापकोटाले भने, 'अरु गीतको तयारी पनि चल्दैछ।'

सत्ता गठबन्धनका अरु चार दलसँग पनि गीत रेकर्ड र प्रचारमा समन्वय गर्ने उनले बताए। नवल खड्का, विष्णु खत्री, युवराज लामा, छविराज ओझालगायतको समर्थन सत्ता गठबन्धनलाई रहने सापकोटाले बताए। यता कांग्रेसको सांस्कृतिक विभागका प्रमुख रहेका शिवशंकर रिजाल 'जोगिन्दर' आफैं चुनावी मैदानमा उत्रिन चाहन्थे। यद्यपि उनलाई पार्टीले टिकट दिएन। टिकट नपाएपनि आफू पार्टीको प्रचारमा देश दौडाहमा लाग्ने बताए। 'पार्टीको प्रचारका लागि सांस्कृतिक टोली लिएर देश दौडाहमा जाने तयारीमा लागेको छु,' रिजालले भने, 'तिहारलगत्तै मेची महाकाली अभियानमा लाग्नेछु। कांग्रेसको प्रचारका लागि दुई नयाँ गीत सार्वजनिक भइसकेको छ।'

एमालेको चुनावी प्रचारमा प्राय अग्रस्थानमा देखिने बद्री पंगेनी भने यसपटक आफू सांगीतिक कार्यक्रममा व्यस्त रहेको बताउँछन्। चुनावी कार्यक्रम र गीतबारे उनले थप कुराकानी गर्न चाहेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell