PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बेनीमा तेक्वान्दो, ३३० जना खेलाडी सहभागी



रासस

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बेनीमा तेक्वान्दो, ३३० जना खेलाडी सहभागी
(फाइल फोटो) नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेलका लागि प्रशिक्षकले प्रशिक्षण लिँदै। फोटो : डम्मर बुढा मगर/रासस

म्याग्दी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

समितिका प्रशिक्षक कर्ण प्रधानले पुम्सेका छ र गेरोगीका १६ गरी २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिए। स्वर्ण र कास्य २२/२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ। महिलातर्फ ४६ देखि ७२ र पुरुषतर्फ ५४ देखि ८७ केजी तौल समूहका खेलाडी सहभागी छन्।

शुक्रवार साँझ भएको उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषतर्फ नेपाल पुलिस क्लवले जितेको राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले बताए। महिलातर्फ ७.१९९ अंक सहित नेपाल प्रहरीकी निशा दर्नाल विजयी हुँदा उपविजेता भएकी नेपाली सेनाकी स्वतिका तामाङले ७.१४९ अंक जोडेकी थिइन्। तेस्रो स्थान प्राप्त गर्न सफल प्रदेश १ की शुशिला राईले ६.८६६ र गण्डकीकी अर्पणा अधिकारीले ६.४६६ अंक पाइन्।

पुरुषतर्फ प्रहरीका कमल श्रेष्ठ ७.५३३ अंकसहित विजयी हुँदा लुम्बीनीका युवराज रानाले ७.१४९ अंक सहित उपबिजेता बने। त्यस्तै, ६.८६६ अंक सहित गण्डकीका आयुष गुरुङ र ६.६९९ अंक सहित प्रदेश १ का विवेक राई तेस्रो भए।

पुम्से र गिरोगीतर्फका बाँकी खेल आज सञ्चालन हुने राखेपका प्रमुख प्रशिक्षक श्रेष्ठले बताए। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा बिहीवारदेखि महिला भलिबल प्रतियोगिता सञ्चालन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell