
- चन्द्रप्रसाद अधिकारी-
ब्ल्याक सोल्जर फ्लाइ - एक किसिमको झिंगा हो। झिंगाको पनि खेती हुन्छ भनेको सुन्दा र देख्दा हामीलाई अनौठो लाग्न सक्छ। तर, अब अनौठो मान्नु नपर्ने भयो।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरका भेटेनरी संकायका विद्यार्थीहरुको समूहले ब्ल्याक सोल्जर फ्लाइमा अनुसन्धान परीक्षण गरेका छन्। कृषि तथा वनविज्ञान विश्वविद्यालय, राष्ट्रिय आविस्कार केन्द्रको सहयोग र प्राङ्गारिक कृषि उत्पादन केन्द्रको व्यवस्थापनमा २०७७ सालबाट अध्ययन परीक्षण सुरु गरिएको हो।
विद्यार्थीहरुले इन्डोनेसियाबाट ल्याएर ब्ल्याक सोल्जर फ्लाइ पालन तथा अध्ययन सुरु भएको हो। झिंगाको पनि खेती हुन्छ? भनेर धेरैले प्रश्न गर्दा मौरी र रेशम किरा त हामीले पालेका छौं। बाली बिरुवा खाएर नोक्सान गर्ने शत्रु किरालाई खाने ट्राइकोग्रामा पनि पालेको देखेका छौं। साङ्लाको खेती झ्याउकीरीको खेती गरेको हामीले सुनेका छौं। यसै गरी यो खेती धेरै देशहरुमा व्यावसायिक रुपमा पालन गरिँदै आएको पनि विभिन्न माध्यमबाट थाहा भएको छ। तर, यो किन पाल्ने, यसको जीवन चक्र, यसका पालन विधिहरु र यसका फाइदाहरु के के छन् त?
ब्ल्याक सोल्जर फ्लाइको लार्भा मानिस तथा विभिन्न घरपालुवा जनावर र पंक्षीहरुका लागि उत्तम प्रोटिनको स्रोत मानिन्छ। यसले हामीलाई समस्या बनाइरहेको कुहिने सड्ने जैविक फोहर खाएर राम्रो प्रोटिनको स्रोत बनाउनुका साथै यसबाट उत्सर्जित दिसा राम्रो प्राङ्गारिक मल बन्दछ। हाम्रो ठूला शहरहरुमा फोहर व्यवस्थापन झन ठूलो समस्या बनेको छ। यो समस्यालाई अवसरमा फेर्न यो झिंगा खेती कोशेढुङ्गा साबित हुने कुरामा कुनै दुई मत हुनेछैन। खर्बौँको प्रोटिनको रुपमा विभिन्न वस्तुहरु आयात गरिरहेको अवस्थामा यो खेतीले थोरैमात्र भएपनि आयात घटाउन सक्ने छ।
कुखुरा, माछा, हाँस, बङ्गुर, कुकुर, बिरालो आदिका लागि राम्रो प्रोटिनको स्रोत हुने भएकाले लार्भालाई सोझै वा ड्राइ प्रोडक्ट बनाएर स्टोर गरेर आवश्यक मात्रामा ख्वाउन सकिन्छ। अरु देशहरुमा लार्भालाई सफा गरेर आफ्नो मनपर्ने स्वादको मिश्रण, कुकिजहरु बनाइ मानिसहरुले खाने गरेको पनि थाहा पाएका छौं। यसको लार्भा र प्युपाले आफ्नो चक्र पूरा गर्दा निस्कने काइटिन भन्ने वस्तु कृषिमा निकै उपयोगी हुन्छ। यसबाट शृङ्गारका सामाग्रीहरु पनि बनाउने र प्रयोग गर्ने गरेको पाइएको छ। यिनीहरुको दिसा राम्रो प्राङ्गारिक मलको रुपमा प्रयोग गरिदा माटो र बोट बिरुवा पनि सप्रन्छ।
यो ब्ल्याक सोल्जर फ्लाइ थोरै ठाउँमा पालेर धेरै आम्दानी गर्न सकिने भएकाले यो खेतीको सफलताका साथ गर्न सकिन्छ। थोरै समयमा राम्रो आम्दानी लिन सकिने भएकाले यो खेती बढ्दै गएको छ। अर्को महत्वपूर्ण कुरा यो अरु झिंगाहरुले जस्तो रोगहरु सार्दैन। बरु यसले वातावरण स्वच्छ राख्न सहयोग पुर्याउँछ। यसले खेर जाने फोहर, कुहिएका फलफूल, अन्न, खेरजाने मासुजन्य वस्तु खाने भएकाले विभिन्न फोहर व्यवस्थापनमा सहयोग पुर्याइ समस्यालाई अवसरमा बदल्न सकिन्छ। यो झिंगाको मल बिक्री गरेर वा आफ्नै खेत बारीमा प्रयोग गरेर तथा लार्भा बेचेर वा आफ्ना पाल्तु मासुखाने जनावरहरुलाई र पंछीहरुलाई ख्वाएर आयआर्जन गर्न सकिन्छ।
ब्ल्याक सोल्जर फ्लाइ पालन विधि
२० देखि ३० डिग्री सेल्सियस तापक्रम र ६० देखि ७५ प्रतिशत आद्रता ब्ल्याक सोल्जर फ्लाइ खेतीका लागि उपयुक्त मानिन्छ। बयस्क माउ भएको ठाउँमा प्रशस्त उज्यालोको व्यवस्था मिलाउनु पर्दछ। माउ झिंगा उड्ने हुनाले यसलाई झूल (नेट) भित्र पालिन्छ। झूलभित्रै अण्डा पार्नका लागि काठका ७-८ इन्चका ४/५ गोटा लिस्टिलाई खप्ट्याएर राखिन्छ। माउ झिंगाहरुले यसैमा अण्डा पार्छन्। यसरी झिंगाले पारेका अण्डालाई दिन दिनै वा एकदिन बिराएर निकाल्नु पर्दछ। निकालिएका अण्डालाई एउटा पारदर्शी प्लास्टिक वा सिसाको डब्बाको मुखमा जालि बाँधेर जालीमाथि यी अण्डा राख्नु पर्छ र फेरि अर्को जालीले छोप्नुपर्छ।
२/३ दिनमा अण्डा कोरलिन्छ र लार्भा डब्बाको भित्र झर्छ। यसरी झरेका लार्भाले खाउन भनी पहिलानै डब्बाभित्र पिठो, फलफूलको मसिनो बनाएको भाग आदि लार्भाले खानमिल्ने वस्तु राखिएको हुन्छ। एक हप्ताभित्रै लार्भाहरुलाई खानेकुरा भएको ट्रेमा सारिन्छ। यसरी यी लार्भाहरु १५/२० दिनपछि प्री प्युपा र ५/७ दिनमा प्युपा अनि त्यसको ५/७ दिनमा बयस्क झिंगा निस्कन्छ र निस्केको २/३ दिनबाट अण्डा दिन थाल्दछ।
व्यवस्थापकीय पक्ष
यो ब्ल्याक सोल्जर फ्लाइ पालन विधि सजिलो हुँदाहुँदै पनि केही विशेष ध्यान दिनपर्ने कुराहरु यस प्रकारका छन् :
– खाना एकैपटक धेरै दिँदा धेरै ताप निस्केर लार्भाहरु मर्ने अवस्था आउन सक्छ। त्यसैले खानेकुरा २/३ दिनका लागि मात्र दिनु पर्दछ।
– झिंगा अवस्थामा यिनीहरुले पानीमात्र चुस्ने हुँदा कुनै भाडामा पानी राखेर त्यसमा फोम जस्ता वस्तुले छोपेर पानी चुस्न मिल्ने तर झिंगालाई डुब्नेगरी पानी राख्न हुँदैन। तर, पानी झिंगा राखेको झुलभित्रको एउटा कुनामा मिलाएर राख्नु पर्दछ।
– यदि फम वा डब्बाको व्यवस्था भएन भने कुनै पनि विष प्रयोग नगरेको स्प्रेको सहायताले झिंगा थुनेको झुलको वरिपरि हल्का पानी छरेर पनि यिनीहरुको तिर्खा मेटाउन सकिन्छ।
– मुसा, चरा, न्याउरी आदिबाट लार्भालाई जोगाउनु पर्दछ।
– लार्भाको खानेकुरा सुख्खा हुनुहुँदैन।
– माथि उल्लेखित तापक्रमको व्यवस्था भएमा उत्पादन राम्रो हुन्छ।
यस विषयमा थप जानकारिको लागि युट्युबमा पनि खोजेर हेर्न सकिन्छ। बीउ र सामान्य जानकारीका लागि चितवनको भरतपुर-१५, श्रीपुरस्थित प्राङ्गारिक कृषि उत्पादन केन्द्रमामा पनि सम्पर्क गर्न सकिन्छ।
[email protected]