
पोखरा : नवौं राष्ट्रिय खेलकुदको शुक्रवार पोखरामा उद्घाटन भयो। उद्घाटनअघि नै गण्डकी प्रदेशका विभिन्न स्थानमा खेलहरु सुरु भइसकेका थिए।
नवौं राष्ट्रिय खेलकुदको दोस्रो दिनसम्म आइपुग्दा आर्मीले मेडल तालिकामा अग्रता बनाएको छ। पाँच स्वर्ण, ६ रजत र ७ कास्य जितेको आर्मी १८ पदक जोड्दै शीर्षस्थानमा रहेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तथ्यांक अनुसार आर्मीका राम थापा (फेन्सिङ), नुरबहादुर थापा (फेन्सिङ), इन्दिरा पौडैल (फेन्सिङ), सीता पाठक (फेन्सिङ) र रमा कुमारी सिंह (फेन्सिङ)ले स्वर्ण पदक जितेका छन्।
दोस्रो स्थानमा वाग्मती प्रदेश छ। वाग्मती ४ स्वर्ण, ३ रजत र १ कास्यसहित कुल ८ पदक जोडेर दोस्रो स्थानमा छ। वाग्मतीका आर्यन कार्की (फेन्सिङ), शिक्षा नापित (फेन्सिङ), ओमकार सिंह (फेन्सिङ)ले स्वर्ण जितेका छन्।
तेस्रो स्थानमा एपीएफ छ उसले २ स्वर्ण, ४ रजत र ७ कास्य पदक जितेको छ। एपीएफका मनिन्द्र थापा (फेन्सिङ), राजेन्द्र गुजरेल (फेन्सिङ)ले स्वर्ण जितेका छन्।
चौथो र पाँचौँ स्थानमा रहेका सुदूरपश्चिम र नेपाल पुलिसले समान १ स्वर्ण जित्दा सुदूरपश्चिमले ३ कास्यसहित ४ पदक पाएको छ। पुलिसले भने एक स्वर्ण बनाएको छ।
सुदूरपश्चिमका जलेन्द्र बहादुर शाहीले फेन्सिङमा स्वर्ण जित्दा नेपाल पुलिसले पुरुष क्रिकेटमा स्वर्ण जितेको थियो।
६ टोली स्वर्णको प्रतिक्षामा, ४ टोलीले पदक पाउन बाँकी
छैटौँ र सातौँ स्थानमा रहेका गण्डकी र प्रदेश नम्बर १ ले स्वर्ण र रजत पदक जित्न सकेका छैन। गण्डकीले हालसम्म ४ कास्य र प्रदेश १ ले तीन कास्य पदक जितेको छ।
त्यसपछिका कर्णाली, लुम्बिनी, मधेश र एनआरएनएले कुनैपनि पदक हात पारेका छैनन्।